कर्णालीमा बढ्यो कृषि बालीले ढाकेको क्षेत्र, ३.३९ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान


कर्णाली प्रदेशमा पछिल्लो समय कृषि बालीले ढाकेको क्षेत्रफलमा वृृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंक कर्णाली प्रदेशले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा कर्णालीमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १.९४ प्रतिशतले वृद्धि भएको देखाएको छ । प्रमुख बालीमध्ये आर्थिक वर्ष २०८०/०८१ मा धान बालीले ढाकेको क्षेत्रफल ८.४८ प्रतिशत र मकै बालीले ढाकेको क्षेत्रफल २.१२ प्रतिशतले बढेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

त्यस्तै, कर्णालीका प्रमुख बाली मध्येका गहुँ, कोदो, जौ र फापर खेतीले ढाकेको क्षेत्रफलमा भने कमी आएको पाइएको छ । जसमा गहुँले ढाकेको क्षेत्रफल ०.९७ प्रतिशत, कोदोले ढाकेको क्षेत्रफल २८.१६ प्रतिशत, जौले ढाकेको क्षेत्रफल ३३.३० प्रतिशत र फापर बालीले ढाकेको क्षेत्रफलमा २३.०१ प्रतिशतले कमी आएको राष्ट्र बैंकले जनाएको छ । तरकारी र बागवानी बालीले ढाकेको क्षेत्रफलमा भने वृद्धि भएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार तरकारी बालीले ढाकेको क्षेत्रफल ३६.४० र बागवानी बालीले ढाकेको क्षेत्र ५.९८ प्रतिशतले बृद्धि भएको छ । यस आर्थिक वर्षमा प्रदेशभर समग्र कृषि बालीको उत्पादन ६.७९ प्रतिशतले वृद्धि भएको छ । खाद्य तथा अन्य बालीभित्र पर्ने प्रमुख कृषि बालीमा धान १२.०४, गहँुको उत्पादन ०.४३ प्रतिशतले बृद्धि हुँदा मकै, कोदो, जौ र फापरको उत्पादनमा भने ह्रास आएको छ । जसमा मकैमा ७.६१, कोदो १९.८७, जौ १८.९८ र फापरमा ८.४६ प्रतिशतले ह्रास आएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्ष २०८०÷०८१ मा कर्णाली प्रदेशभर दूध उत्पादन ७.८२ प्रतिशतले बढेको छ भने, माछा, मासु र अण्डा उत्पादनमा वृद्धि भएको छ । जसमा माछा ३.३४ प्रतिशत, मासु ६.५८ प्रतिशत, र अण्डा ०.९० प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

यस आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाबाट कर्णाली प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जाले कुल कर्जाको ९.१२ प्रतिशत हिस्सा ओगटेको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जा गत वर्षको तुलनामा १.७१ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रादेशिक कार्यालयका प्रमुख बाबुराम कोइरालाले जानकारी दिए । यसमा सहुलियतपूर्ण कर्जा प्रवाह नभएकाले घटेको देखिएपनि समग्रमा कृषि क्षेत्रमा प्रवाह भएको कर्जा सकरात्मक रहेको उनले बताए ।

समिक्षा अवधिमा प्रदेशमा भएका आर्थिक गतिविधिहरुको अध्ययन तथा विश्लेषण गरी नीति तर्जुमाका लागि सूचना एवम् तथ्याङ्कको दायरा विस्तार गर्ने उद्देश्यले वर्षेनी प्रदेशको आर्थिक अवस्थाका बारेमा अध्ययन गर्ने गरिएको कोइराला बताउँछन् । साथै, प्रदेश अर्थतन्त्रका प्रमुख क्षेत्रहरु कृषि, उद्योग, सेवा तथा पूर्वाधारको समीक्षा अवधिको विश्लेषण गरी अर्थतन्त्रका प्रमुख क्षेत्रहरुमा देखिएका सम्भावना तथा चुनौतीहरु उजागर गर्नु, संघ, प्रदेश तथा स्थानीय तहले सञ्चालन गरेका मुख्य कार्यक्रम तथा परियोजनाहरुको प्रगतिको समिक्षा समावेश गर्नु तथा समीक्षा अवधिमा भएका आर्थिक गतिविधिहरुको आधारमा आगामी प्रक्षेपण गर्नु अध्ययनको मुख्य उद्देश्य रहेको प्रमुख कोइरालाले बताए ।

३.३९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान
राष्ट्रिय तथ्यांक कार्यालयले प्रारम्भिक तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ मा कुल ग्रार्हस्थ उत्पादन उत्पादकको मूल्यमा ३.८७ प्रतिशतले वृद्धि हुने अनमान हुने राष्ट्र बैंकले गरेको छ । यसको आधारभूत मूल्यमा ३.५४ प्रतिशतले वृद्धि भएको अनुमान राष्ट्र बैंकको छ । यस्तै, आर्थिक वर्ष २०७९/०८० मा कुल ग्रार्हस्थ उत्पादन उत्पादकको मूल्यमा १.९५ प्रतिशत र आधारभूत मूल्यमा २.३१ प्रतिशतले वृद्धि भएको संशोधित अनुमान राष्ट्र बैंकले गरेको छ ।

आर्थिकवर्ष २०८०/०८१ मा कर्णाली प्रदेशको आर्थिक वृद्धिदर (उत्पादकको मूल्यमा) ३.३९ प्रतिशत रहेको अनुमान छ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा यस्तो वृद्धिदर १.९६ प्रतिशत रहेको राष्ट्र बैंकको संशोधित अनुमान छ । समर्ग राष्ट्रिय कुल ग्रार्हस्थ उत्पादनमा कर्णालीको योगदान ४.२८ प्रतिशत रहेको राष्ट्र बैंकको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतको तथ्यांकमा उल्लेख छ ।

औद्योगिक कर्जामा वृद्धि, २३ प्रतिशतले बढे पर्यटक
आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीको औद्योगिक कर्जामा वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । यस आर्थिक वर्षमा औद्योगिक कर्जा गत वर्षको तुलनामा ३.३३ प्रतिशतले वृद्धि भएको छ । कर्णाली प्रदेशमा प्रवाह भएको समग्र कर्जाको ६.९५ प्रतिशत हिस्सा उद्योग क्षेत्रले ओगटेको छ ।

कर्णाली प्रदेशभर नमुना छनौंटमा समावेश भएका उद्योगहरुको औसत क्षमता उपयोग ४८.५१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, प्लाष्टिकजन्य उत्पादन सम्बन्धी उद्योगको उपयोग क्षमता सबैभन्दा बढी शत प्रतिशत रहेको छ भने अन्न तथा पशुदाना उत्पादन गर्ने उद्योग अन्तर्गत पिठो उत्पादन गर्ने उद्योगको उपयोग क्षमता सबैभन्दा कम १५ प्रतिशत रहेको छ ।

त्यस्तै, आर्थिक वर्ष २०८०/०८१ मा कर्णाली प्रदेशमा भित्रिने पर्यटकको संख्यामा २३.४० प्रतिशतले वृद्धि भएको छ । जसमा भारतबाट २३.४९ प्रतिशत, चीनबाट १५.७७ प्रतिशत र तेस्रो मुलुकबाट भित्रिने पर्यटकको संख्या २४.८४ प्रतिशतले वृद्धि भएको छ । यस वर्ष प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरुद्वारा प्रवाहित कुल कर्जामध्ये सबैभन्दा धेरै ८३.९३ प्रतिशत कर्जा सेवा क्षेत्रमा प्रवाह भएको छ ।

समीक्षा वर्षमा यस प्रदेशमा वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या चार सय ७५ तथा शाखारहित बैंकिङ संख्या ३० पुगेको छ । समीक्षा वर्षमा यस प्रदेशमा कर्जा तथा निक्षेप अनुपात ७८.५० प्रतिशत रहेको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ । यस समीक्षा वर्षमा यस प्रदेशमा विद्युत प्रसारण लाईन दुई हजार चार सय १६.४७ किलोमिटर पुगेको छ । कर्णालीमा हालसम्म १७.४१ मेगावाट विद्युत् उत्पादन भएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ राष्ट्रिय अर्थतन्त्रमा प्रदेशको हिस्सा
राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन (उत्पादकको मूल्यमा) दुई खर्ब ४३ अर्ब ९९ करोड पुग्ने प्रारम्भिक अनुमान छ । गत आर्थिक वर्ष २०७९/८० को संशोधित अनुमान दुई खर्ब २९ अर्ब १४ करोड रहेको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशको आर्थिक वृद्धिदर (उत्पादकको मूल्यमा) ३.३९ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष २०७९/८० मा यस्तो वृद्धिदर १.९६ प्रतिशत रहने संशोधित अनुमान थियो । कर्णाली प्रदेशमा क्षेत्रगत रुपमा हेर्दा आर्थिक २०८०/८१ का लागि कुल मूल्य अभिवृद्धिदर सबैभन्दा बढी आवास तथा भोजन सेवा क्षेत्रको २२.५२ प्रतिशतले वृद्धि हुने अनुमान छ । यसमा सबैभन्दा कम निर्माण क्षेत्रको १.०२ प्रतिशतले ऋणात्मक हुने प्रारम्भिक अनुमान राष्ट्र बैंकले गरेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २९.५१ प्रतिशत, ९.७० प्रतिशत र ६०.७९ प्रतिशत रहेको छ । कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान कृषि, वन तथा मत्स्य क्षेत्रको (२९.५१ प्रतिशत) तथा सबैभन्दा कम योगदान प्रशासनिक तथा सहयोग सेवा क्षेत्रको (०.१७ प्रतिशत) रहेको छ ।

थोक तथा खुद्रा व्यापार, गाडी तथा मोटर साइकल मर्मत सेवाको हिस्सा ५.४९ प्रतिशत, वित्तीय तथा बीमा क्रियाकलापको हिस्सा १.७९ प्रतिशत, सूचना तथा सञ्चारको हिस्सा १.२९ प्रतिशत हिस्सा ओगटेको छ । यस्तै, यातायात तथा भण्डारणको हिस्सा २.६९ प्रतिशत, आवास तथा भोजन सेवाको हिस्सा ३.१८ प्रतिशत तथा उत्पादनमुलक उद्योगको हिस्सा ०.९९ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको योगदान ४.२८ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष २०७९/८० मा पनि यस्तो योगदान ४.२८ प्रतिशत नै रहने संशोधित अनुमान रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा देशको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा कर्णाली प्रदेशको हिस्सा क्रमशः ५.२४ प्रतिशत, ३.१९ प्रतिशत र ४.१३ प्रतिशत रहने अनुमान छ ।

कर्णालीमा बढ्यो कृषि बालीले ढाकेको क्षेत्र, ३.३९ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान

YUGAAWHAN NATIONAL DAILY (2081-09-18)

This will close in 0 seconds