सम्पादकीय : कर्णालीको विकास, पर्यटन र नेतृत्व
स्वर्गकी अप्सरा रारा भनेर राजा महेन्द्रले भनेको कुरा अहिले पनि उत्तिकै लागु हुन्छ । देशभित्र र बाहिरका हजारौं पर्यटकले भरिभराउ हुन्छ रारा । लामो विदा, चाडपर्व लगायत पारिवारीक समयमा मानिसहरु एक पटक रारा पुग्न चाहान्छन । चाहान्छन कि जन्मेपछि एकपटक रारा पुग्नैपर्छ । र पनि कर्णालीको भौगोलीक विकटताका कारण कतिपय व्यक्तिहरु हवाई यात्रामार्फत पनि रारालाई आफ्नो गन्तव्य बनाएका हुन्छन । अहिले पहिला जस्तो अवस्था त छैन तैपनि राम्रो कुरा एक जनाले भने थप एक जनाले बुझ्छन भने नराम्रो कुरा एक जनाले भने सयौं जनामा पुग्छ र त्यही भनाई अनुसारको मानिसले आफ्ना धारणा बनाउँछन् । जसका कारण मानिसहरु घुम्न जाने उत्कृट चाहना हुँदाहुँदै पनि त्यहि अप्ठ्यारो बाटो बासस्थानको सुविधा भनेको जस्तो नहुनु लगायतका कुराहरु सम्झेरै आँट गर्न सक्दैनन ।
कर्णालीमा हरेक पाईलामा सम्भावनाहरु छन् त्यो कुरा सम्भावनामा खेल्नेहरुलाई थाहा हुन्छ न कि सर्वसाधारण जनताका खुन र पसिनामा पौडिने नेताहरुलाई । यदि सक्षम र सवल नेतृत्व हुन्थ्यो एउटामात्रै पनि कर्णालीमा भने मानिस घुम्नलाई सिंगापुर जाने थिएनन् कर्णाली जाने थिए । तर अवसरवादी नेताहरु राज्यको सम्पत्तिको दोहन गरेर थाईल्याण्ड, मलेसिया जान्छन ।
यस्ता खोपडी भएका नेताहरुले कसरी गर्छन विकास ? यिनका दिमागमा त सत्ता–कुर्चीमा कसरी पुग्ने, पार्टीका र गुटका कार्यकर्ता कसरी पोस्ने, चोर्ने दुलो कताबाट पार्दा आफु अनुकूल हुन्छ ? भन्ने कुरामात्रै दिमागमा आउनेहरुले गर्छन कर्णालीको विकास ? देशको निति, विधि बनाउने ठाउँमा पुगेकाहरुले देश र जनताका हितमा होईन आफ्ना हितमा नीति बनाउँछन । अनि कसरी बन्छ कर्णाली ? कर्णाली नाम जत्ति खत्तम, गयगुज्रेको भन्ने बुझ्छन अन्य ठाउँका मानिसहरुले त्यो भन्दा हजारौं गुणा काम नलाग्ने त यहाँका नेताहरु छन् ।
जहाँ नेताज्यूका हुन भने यिनिहरुले जनतालाई चुसीचुसी खाएका छन् । नभए गरिब कर्णालीका नेता सबैभन्दा धनि कसरी भए ? जवाफ छ ? अनि तिनको आची पनि बास्ना आउँछ भन्ने ५ बर्ष अगाडी साँझ–विहान खान नपुग्नेहरु अहिले राजधानीमा घर र गाडीका मालिक कसरी भए जसको न कुनै उद्योग धन्दा छ न त व्यापार व्यवसाय सडक छापहरु महलको मालिक कसरी बने ? के हो आम्दानीको श्रोत ? रारामा १० हजार जना पर्यटक आए भन्ने रेकर्ड निक्लिदा कणालीमा उनीहरुले कति खर्च गरे ? कति समय बिताए ७ दिन घुम्न भनेर आएकाहरु ५ दिनमा फर्किएकी समय थपेर घुमेर गए ? खाना कहाँ खाए, बास कहाँ बसे ? पर्यटकले खर्च गर्ने ठाउँ कहाँ हो ? त्यो ठाँउ छ कि छैन ? छैन भने किन ? कसले बनाउने ? बनाएपछीको जिम्मा कसले लिने ? के नीजि क्षेत्रले मात्र चाहेर सम्भव छ त ? छैन भने क–कसले के के ग¥यो भने पर्यटन प्रर्वद्धनमा टेवा पुग्छ ?
यसरी कर्णालीका रारा, से–फोक्सुण्डो, देउतीबज्यै, काँक्रेविहार, बुलबुले, दैलेखमा सदाबहार बलिरहने ज्वाला, चन्दननाथ लगायतका धार्मिक तथा पर्यटकीय स्थलहरुमा धार्मिक तथा पर्यटकीय दुवै किसिमका मानिसहरु आउने सम्भावना बोकेको ठाउँ हो कर्णाली । यसलाई सबैभन्दा पहिला दुई लेनको सडक सञ्जाल बन्नुपर्छ । सरकारले सम्भावना अध्ययन गरेर नीजि क्षेत्रलाई लगानी गर्न आव्हान गर्ने र लगानी सुरक्षाको ग्यारेन्टी गरिदिनुपर्छ । त्यसैगरी चिनको मानसरोवर जाने सबैभन्दा धेरै तिर्थयात्री भारतीय हुन तिनीहरु अहिले पनि काठमाण्डौ हुँदै थुप्रै खर्च गरेर मानसरोवर तिर्थयात्रामा जाने गरेका छन् । सरकारले नेपालगञ्ज हिल्सा सडक सञ्जालमात्रै राम्रो बनाईदियो भने बार्षिक लाखौं भारतियलाई कर्णालीमा पर्यटकको रुपमा भित्राएर आर्थिक लाभ लिन सकिन्छ । चाहियो त केवल भिजीनरी नेता र काम गर्ने उत्साह बोकेको कर्मचारी अनि बन्छ कर्णाली ।




