कर्णाली पुलमा सुरक्षा व्यवस्था नहुँदा मानवीय क्षति बढ्यो


कर्णाली किनारमा अवस्थित कैलालीको चिसापानी बजार होलीको माहौलमा झुमेको थियो । चैत १२ गते दिउँसोको चार बजे कर्णाली पुलमा मान्छेको चहलपहल पनि बाक्लै थियो। स्थानीय मात्रै हैन पुल हेर्न अन्यत्रबाट समेत मानिसहरु आएका थिए ।

कोही पुलमा फोटो खिच्दै थिए, कोही भिडियो बनाउँदै थिए । यहीबेला युवाहरुको समूह पुलमा पुग्यो। उनीहरुले पालैपालो नदीमा हाम फाले। कसैले लुगा खोलेर हाम फाले भने कसैले लुगा लगाएरै हाम फाले ।

एकपछि अर्को गर्दै १७ जनाले पुलमाथिबाट नदीमा हाम फालेको दृश्य पुल हेर्न पुगेका मध्ये कतिपयले भिडियो खिच्न भ्याए । अहिले यस्तै भिडियो सामाजिक सञ्जालमा व्यापक भाइरल बनेका छन् ।

हाम फालेका १७ मध्ये १६ जना पौडिएर नदीको पश्चिम किनारतर्फ लागे। तर, १६ औं नम्बरमा हाम फालेका ३२ वर्षका युवा लोकेन्द्र शाही भने पौडिन सकेनन् । उनी हेर्दाहेर्दै नदीमा बेपत्ता भए ।

नदी किनारमा रहेको डुङ्गा समयमा पुग्न सकेन। उनीसँगै हाम फालेकाहरुले समेत बचाउने प्रयास गरेनन्। उनीहरु प्नि पौडिएर किनार लाग्ने तर्फ नै केन्द्रित भए ।

शाहीको अवस्था अझै अज्ञात छ । उनको पुर्ख्यौली घर दैलेख जिल्लाको आठबिसकोट नगरपालिका तोलिपाटा हो। उनी चिसापानीमा तरकारी पसल सञ्चालन गरेर बस्दै आएका थिए । उनकी श्रीमती र एक तीन वर्षकी छोरी छन् ।

उनी परिवारसँगै होली मनाईरहेका थिए। साथीहरुले होली खेल्न बोलाए। उनी घरपरिवारलाई छोडेर साथीहरुको समूहमा मिसिए । उनको समूहमा करिव २५ जना थिए । तीमध्ये कतिपयले मदिरा सेवन गरेका थिए । शाहीले भने मदिरा सेवन नगरेको स्थानीयको भनाइ छ । उनीहरुका अनुसार शाही मदिरा सेवन गर्दैन थिए ।

यो घटनाले कर्णाली पुलको सुरक्षा व्यवस्थामाथि प्रश्न खडा भएको छ । २०४९ सालमा निर्मित यो पुल एउटै पिल्लरमा उभिएको छ । उसले सुदूरपश्चिमको कैलाली र लुम्बिनीको बर्दिया जिल्लाको भू–भागलाई जोडेको छ । पुल निकै आकर्षक छ । पुल हेर्नकै लागि थुप्रै मान्छेहरु चिसापानी पुग्ने गर्छन् । मान्छेको चहलपहल बढेसँगै चिसापानी पर्यटकीय क्षेत्रका रुपमा विकास भएको छ ।

यो पुल सडक डिभिजन कार्यालय बाँकेको मातहतमा रहेको छ । उसले नै पुलको रेखदेख र संरक्षण गर्ने गरेको छ । पुल निर्माणको सुरुवाती चरणमा सुरक्षाका लागि १२ जना सुरक्षागार्ड राखिएको थियो । तर अहिले बजेट अभाव भन्दै सुरक्षागार्डको संख्या दुईजनामा सिमित पारिएको छ ।

सडक डिभिजन कार्यालय बाँकेका प्रमुख निरज शाक्यले सुरक्षागार्डका लागि आवश्यक बजेट नै नभएको बताए। उनले बजेट अभावका कारण सुरक्षागार्डको संख्या घटाईएको जानकारी दिए ।

दुईजना सुरक्षागार्डले ५ सय मिटर लामो पुलको सुरक्षा गर्नुपर्छ। उनीहरु मध्ये एकजना ड्युटीमा नहुँदा एक्लैले जिम्मेवारी सम्हाल्नु पर्छ ।

पुलको झण्डै सय मिटर टाढा इलाका प्रहरी कार्यालय छ। प्रहरीले समेत पुलमा हुने गतिविधिको निगरानी गर्न सक्छ। तैपनि पुलबाट हाम फाल्ने कार्य भने बेलाबेलामा भैराख्छ । कसैले आत्महत्या गर्न त कसैले रमाईलोका लागि पुलबाट हामफाल्ने गरेको पाईन्छ। कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले पछिल्लो घटना रमाईलो गर्ने उद्देश्यले गरेको जस्तो देखिएको बताए ।

‘तर यस्तो कार्यलाई रमाईलो भन्न त सकिदैन’ उनले भने, ‘सामाजिक सञ्जालमा देखिएको दृश्य हेर्दा यस्तो भन्न सकिन्छ ।’

उनले प्रहरीले रोक्न खोज्दा पनि युवाहरुले नटेरेकाले दुर्घटना भएको बताए । उनका अनुसार युवाहरुको समूह पुल तर्फ जाँदै गर्दा प्रहरीले रोक्न खोजेको थियो । युवाहरु मादकपदार्थ सेवन गरेकाले प्रहरीले रोक्न खोजेको थियो । युवाहरुले पैदल समेत हिड्न नदिने भन्दै प्रहरीसँग विवाद गरेका थिए ।

‘उनीहरुले हिड्न समेत नदिने भनेपछि प्रहरीले थप रोक्ने प्रयास गरेन’ उनले भने, ‘प्रहरीलाई नटेरेको देखिन्छ ।’

स्थानीय युवाहरुले बेलाबखतमा पुलबाट हाम फालेर पौडिने गरेको लम्कीचुहा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष समेत रहेका स्थानीय लव शाहीले बताए । उनले कतिपयले आत्महत्या गर्ने उद्देश्यले समेत हाम फाल्ने गरेको बताए । उनकाअनुसार अहिलेसम्म ४÷५ जनाले पुलबाट हाम फालेर आत्महत्या गरिसकेका छन् । कतिलाई स्थानीयले बचाएका पनि छन् । ‘युवाहरु हाम फालेर नुहाउने गर्छनन्’ उनले भने, ‘तर यस्ता कार्य रोकिनु पर्छ ।’

पुलको पश्चिमतर्फ कैलाली र पूर्वतर्फ बर्दिया जिल्लाको भू–भाग पर्छ। दुई जिल्लाको भुभागसँग जोडिएकाले पुलको सुरक्षाको कुरा पनिदुवै जिल्लाको मातहतमा रहन्छ। बर्दियातर्फ राष्टिय निकुञ्ज छ। जहाँ मान्छेको चहलपहल हुँदैन । कैलालीतर्फ बाटै मान्छेको ओहोरदोहोर बढि हुने गर्छ । जसका कारण पुलको सुरक्षालगायतका विषयमा समेत कैलालीलाई जोड्ने गरिन्छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी मिश्रले दुवै जिल्लाको संयुक्त बैठक राखेर सुरक्षाका उपायबारे छलफल गरिने बताए । उनले पुलबाट हाम फाल्न नमिल्ने गरी सुरक्षाको प्रबन्ध गरिने जानकारी दिए । –नागरिक

कर्णाली पुलमा सुरक्षा व्यवस्था नहुँदा मानवीय क्षति बढ्यो

कुकुरकै भरमा भेडापालन

कर्णाली पुलमा सुरक्षा व्यवस्था नहुँदा मानवीय क्षति बढ्यो

ओझेलमा नाछेन युरिगाङ तिर्थस्थल