सम्पादकीय: नियमित उडानको सुनिश्चित गर

कालिकोट जिल्लालाई हवाई मार्गसँग जोड्ने उद्देश्यले जिल्लाको नरहरिनाथ गाउँपालिका–१, स्थित कोटबाडामा सुनथराली विमानस्थल निर्माणको योजना बन्यो । २०४२ सालबाट निर्माण थालिएको विमानस्थल ३९ वर्षपछि जहाज बस्न लायक बन्यो । विमानस्थल निर्माण थालिएको झण्डै चार दशक मात्रै बितेको छैन यस अवधिमा विमानस्थल निर्माणका क्रममा ३५ जना मजदुरको चिहान पनि बनेको छ यो विमानस्थल । विमानस्थल निर्माणका क्रममा रणमैदान भएको क्षण यहाँका नागरिकले अझै बिर्सन सकेका छैनन् । तत्कालीन राज्य पक्ष र विद्रोही पक्ष नेकपा माओवादीबीचको सशस्त्र द्वन्द्व चरम उत्कर्षमा थियो । १० वर्षे युद्धको दौरानमा ११ फागुन २०५८ को दिन यहाँका स्थानीयको मानसपटलमा कहिल्यै नमेटिने घाउ बनेर बसेको छ । तत्कालीन अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्रीसहित एक सय २२ जनाले ज्यान गुमाएको घटनापछि विद्रोहीलाई खोज्दै तत्कालीन शाही नेपाली सेना ११ फागुनमा कालीकोटको कोटबाडा पुग्यो । जहाँ सुनथराली विमानस्थल निर्माणमा संलग्न धादिङ गजुरीका १७ मजदुर कार्यरत थिए । शाही नेपाली सेनाले विमानस्थल निर्माणमा संलग्न १७ मजदुरसहित ३५ जनामाथि अन्धाधुन्ध गोली चलाएर एकै चिहान बनाई दिएको त्यो कहाली लाग्दो घटनाले स्थानीयलाई अझै झस्काइरहन्छ । रगतसँग साटिएको विमानस्थलनमा यहाँका नागरिकले जहाज हेर्न वर्षौदेखि प्रतिरक्षारत छन् । निर्माणमै विलम्व भएको विमानस्थल जहाज बस्न योग्य त बन्यो तर नियमित उडानको टुङ्गो भने अझै लाग्न सकेको छैन ।

विगत ३९ वर्षदेखि निर्माण थालिएको विमानस्थलमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, कर्णालीका पूर्वमुख्यमन्त्रीहरु जीवनबहादुर शाही, महेन्द्रबहादुर शाही र राजकुमार शर्मादेखि कयौं मन्त्रीहरू कोटबाडा विमानस्थलमा पुगेर राजनीतिक भाषण गरेका छन् । गत वर्ष प्रधानमन्त्रीसँगै गएका संघ र कर्णाली प्रदेश सरकारका मन्त्रीको हुलले विमानस्थल उद्घाटन गर्दै अबदेखि कालिकोटका जनताले नियमित हवाई जहाज चढ्न पाउने उद्घोष गरेर फर्किए । उनीहरुले उति बेला यतिसम्मको भ्रम छरेका थिए कि उद्घाटन भएको भोलि पल्टबाट नै नियमित उडान सुरु भइहाल्छ । तर, दुई पटकसम्म परीक्षण उडान सफल भएको विमानस्थलमा नियमित उडानको टुङ्गो भने अहिलेसम्म लाग्न सकेको छैन । विभिन्न राजनीतिक दलका शिर्ष नेताहरू आएर विमानस्थल सञ्चालन गर्ने बाचा गरेको भए पनि यहाँका नागरिक अझै पनि विश्वस्त हुन सकेका छैनन् । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री रहेका जीवनबहादुर शाही संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हुदाँ २९ माघ २०७३ मा पहिलो पटक यो विमानस्थलमा परीक्षण उडान सफल भएको थियो । त्यसयता १४ फागुन २०८० मा पूर्व उपप्रधान तथा रक्षा मन्त्री पुर्णबहादुर खड्का, पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, कर्णालीका पूर्व मुख्यमन्त्री राजकुमार शर्मा, पूर्व मुख्यमन्त्रीद्वय महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीसहितको टोलीले नेपाल एयरलाइन्स र तारा एयरका दुईवटा जहाज अवतरण गरेर विमानस्थलको उद्घाटन गरेका थिए । औपचारिक उद्घाटन भएको आठ महिना बित्दापनि विमानस्थल सञ्चालन नआउँदा अहिले स्थानीय निरास बनेको छन् ।

उद्घाटनका क्रममा नागरिक उड्डयन प्राधिकरणले सातामा एकपटक सुर्खेत र नेपालगन्जबाट सुनथराली विमानस्थलमा उडान भर्ने प्रतिबद्धता जनाएको थियो । तर, प्राधिकरणले अहिलेसम्म सुनथराली विमानस्थलमा उडान भर्न अनुमति नदिएको छैन । नागरिकलाई सुरक्षित हवाई सेवा दिने लक्ष्यका साथ अर्बौ लगानीमा निर्माण गरिएको विमानस्थलमा नियमित उडान नहुँनु आफैमा दुखद् पक्ष हो । कर्णालीमा यो विमानस्थल मात्र नभई अन्य केहीमा पनि नियमित उडान नहुँदा अर्बौ खर्चिएका विमानस्थलहरु अहिले गौचरण जस्ता बनेका छन् । यसतर्फ राज्यले कत्ति पनि ध्यान पु¥याउन सकेको छैन । सरकारी स्वामित्व प्राप्त नेपाल वायुसेवा निगमले पनि कर्णालीका कतिपय विमानस्थलहरुमा नियमित उडान भर्न असयोग गरिरहेको छ । यदि नागरिकको सुविधाका लागि बनाइएको हो भने संघ तथा प्रदेश सरकारले निजि हवाई सेवा प्रदायक कम्पनीलाई सुहलियत दिएर भएपनि विमानस्थलमा नियमित उडानको व्यवस्था मिलाउनु पर्दछ । अन्यथा जहाज नै नआउने विमानस्थलमा जहाज आउने आश्वासन दिएर जनताको आँखामा छारो हाल्ने काम बन्द गरियोस् ।

सम्पादकीय: नियमित उडानको सुनिश्चित गर

YUGAAWHAN NATIONAL DAILY (2081-06-06)

सम्पादकीय: नियमित उडानको सुनिश्चित गर

‘एकै दिनमा विवाद मिल्दा न्यायको महसुस भयो’