जनकपुरले जित्यो एनपीएल उपाधि


सुदूरपश्चिम रोयल्सलाई हराउँदै जनकपुर बोल्टसले नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिमलाई पाँच विकेटले पराजित गरेको हो । प्राम्भिक ब्याटर लाहिरु मिलन्थाले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुरले एनपीएलको पहिलो उपाधि सजिलै जितेको छ ।

सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरले १९.२ ओरभमा पाँच विकेट गुमाएर जित हासिल गरेको हो । जनकपुरका लागि मिलन्थाले ८७ रन बनाए । उनले ४९ बलमा नौ चौका र चार छक्का प्रहार गरे ।

त्यस्तै, आसिफ शेखले ३३ र हर्ष थाकरले २९ रन बनाए । सुदूरपश्चिमका लागि स्कट कुगेलिन, दीपेन्द्रसिंह ऐरी, सैफ जैब र इशान पाण्डेले एक–एक विकेट लिए । अन्य बलर महंंगा सावित भए ।

यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले नौ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । पहिलो विकेटका लागि सैफ जैब र विनोद भण्डारीले ११७ रनको साझेदारी गरेका थिए । त्यसपछि भने लगातार विकेट झर्दै गए ।

सुदूरपश्चिमका लागि प्रारम्भिक ब्याटर सैफ जैबले ४३ बलमा आठ चौका र दुई छक्काको मद्दतले ६९ रन बनाए । त्यस्तै, विनोद भण्डारीले ४१, ब्रान्डन म्याकमुलन र हरमित सिंहले १४–१४ रन तथा स्कट कुगेलिनले १३ रन बनाए । अन्य खेलाडी ठूलो शट प्रहार गर्ने प्रयासमा एकपछि अर्को गर्दै आउट भए ।

जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले तीन–तीन तथा जेम्स नशिम र ललित राजवंशीले एक–एक विकेट लिए ।