दुर्व्यसन र हिंसाका घटनाविरुद्ध सचेतना बढाउँदै प्रहरी


प्रहरीले विद्यालय र टोल–टोलमा दुव्र्यसन र हिंसाविरुद्ध सचेतनाका कार्यक्रम बढाउँदै गएको छ । त्यस्ता घटना हुन नदिनका प्रहरीले सचेतनाका कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने गरेको हो ।
समाजमा कुनै प्रकारका घटना हुन नदिनका लागि जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीले जिल्लाभर सचेजनाका कार्यक्रम सञ्चालन गरिरहेको प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए ।
कुनै पनि आपराधिक घटना हुन नदिन र सभ्य समाज निर्माणका लागि प्रहरीले यस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । विद्यालय र टोलटोलमा प्रहरीले सञ्चालन गर्ने यस्ता सचेतनाका कार्यक्रममा घरेलु हिंसा, लागुऔषध, जवरजस्तीकरणी, मानव बेचबिखन र लैंगिक हिंसा रहेका छन् । ६ महिनायता प्रहरीले २०७ वटा यस्ता कार्यक्रम जिल्लामा सञ्चालन गरेको जानकारी दिँदै उनले यो कार्यक्रम सञ्चालन गरिएपछि घटना कम हुन थालेको बताए ।
यी कार्यक्रम जिल्लाका सात वटै गाउँपालिकामा सञ्चालन गरिएको छ । जिल्लाभर सञ्चालन गरिएका जनचेतनामुलक कार्यक्रमबाट सात हजार ५८४ जना सर्वसाधारण र विद्यार्थी लाभान्वित भएको र त्यसमा चार हजार ४७३ महिला र तीन हजार १११ जना जानकारी लिन पाएका छन् ।
सर्केगार्ड गाउँपालिका– ३ का दाने फडेराले टोल टोलमा प्रहरी आएर जनचेतना जोगाउने कार्यक्रम सञ्चालन गर्दा घटनामा कमी आउनुका साथै आपराधिक घटनाबारे सर्वसाधारणले जानकारीसमेत पाउने गरेको बताए ।
सर्वसाधारणमा घटना घटाउनेविरुद्ध प्रहरीसमक्ष उजुरी गर्नुपर्ने जानकारी समेत भएको भन्दै उनले यसले प्रहरी र स्थानीयबीच सम्बन्ध पनि स्थापित हुन थालेको बताए ।






