कर्णालीमा ३ किसानलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार


कर्णाली प्रदेशमा तीन जना किसानलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको छ ।
भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालयले कार्यक्रम आयोजना गरी सुर्खेतका तीन जना किसानलाई उक्त पुरस्कार दिएको हो ।
पुरस्कार पाएकाहरूमा वीरेन्द्रनगर नगरपालिकाका २ जना र गुर्भाकोट नगरपालिका १ जना किसान छन् ।
भैँसी पालन र तरकारी खेती गरिरहेका गुर्भाकोट नगरपालिकाका गोविन्द ओलीलाई प्रथम पुरस्कार दिइयो । ओलीले गुर्भाकोट नगरपालिका– १३ मा दाजुभाइ कृषि तथा पशुपन्छी फार्म सञ्चालन गरिरहेका छन् । ओलीलाई प्रमाणपत्र सँगै नगद ४० हजार दिएर सम्मान गरिएको हो ।
यस्तै, दुर्गा पशु कृषि तथा च्याउ फर्म सञ्चालन गरेर च्याउ खेतीमा संलग्न वीरेन्द्रनगर नगरपालिका–११ का इमानसिंह बस्नेतले दोस्रो पुरस्कार पाएका छन् ।
उनलाई प्रदेश सरकारले ३० हजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरेको हो ।
यस्तै वीरेन्द्रनगर नगरपालिका–३ मा श्याम कृषि फार्म सञ्चालन गरिरहेका श्याम पुरीले तेस्रो पुरस्कार पाए ।
उनलाई कृषि विकास निर्देशनालयले २० हजार रुपैयाँसहित प्रमाणपत्र दिएको हो ।
पुरस्कार ग्रहण गर्दै किसान ओलीले सरकारले कृषकलाई सम्मान गरेको भन्दै खुसी व्यक्त गरे । पुरस्कारले बिदेसिने युवालाई स्वदेशमै कृषि कर्म गर्न प्रोत्साहन पुग्ने उनले बताए ।
यस्तै कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले सुर्खेत जिल्ला पछिल्लो समय कृषि क्षेत्रमा आत्मनिर्भर हुँदै जाँदा कृषि खेतीमा युवाको आकर्षण बढ्दै गएको दाबी गरे ।
पुरस्कार वितरण कार्यक्रममा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले यो कार्यक्रम आगामी दिनमा कर्णालीका सबै किसानसमक्ष पुग्नेगरी आयोजना गर्नुपर्ने बताए ।
आम नागरिकको आधारभूत आवश्यकता पूर्ति गर्ने पहिलो माध्यम नै कृषि भएको उल्लेख गर्दै मन्त्री शाहले कृषिमा संलग्न किसानदेखि, अगुवा, प्राविधिक, कृषि विज्ञ, डाक्टर र कृषि मन्त्रालयले थप जाँगरिलो भएर काम गर्नुपर्ने बताए ।
यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सम्मानित तीनैजना किसानलाई बधाई दिँदै नागरिकलाई कृषि क्षेत्रबाट स्वरोजगार बनाउन प्रदेश सरकारले पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।






