नलगाड नगरपालिकामा प्रशासनिक अन्योल
जाजरकोटको नलगाड नगरपालिका–नगरप्रमुख डम्बरबहादुर रावतको स्वार्थमा केन्द्रीयताको आरोप लगाउँदै नलगाड नगरपालिकाका ७ वडाध्यक्ष सहित कार्यपालिकाका सदस्यहरूले दुई दिन भित्र समस्या समाधान गर्न चेतावनी दिएका छन् ।
१३ मध्ये ७ वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरूले सयुक्त रुपमा कार्यवाहक नगरप्रमुख कैशिबहादुर विष्टलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । वडा नं. ४ का वडाध्यक्ष बद्री पन्तले दुई दिनभित्र समस्या समाधान नभए धर्ना र विशेष सभा गर्ने चेतावनी दिए ।
उनका अनुसार नगरप्रमुख रावतको रवैयाका कारण अस्थायी आवासको दोस्रो किस्ता वितरणमा ढिलाई भएको छ । शिक्षक, कर्मचारीको तलब रोकिएको, सामाजिक सुरक्षा भत्ता अवरुद्ध भएको, र करारका कर्मचारीको म्याद थपसमेत प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीले नगरपालिकामा काम गर्न थालेको लगभग तीन महिना हुन लाग्दा पनि नगरप्रमुखले उनलाई आर्थिक अधिकार प्रदान गर्न आनाकानी गरिरहेको आरोप छ ।
यसका कारण भूकम्प पीडितका लागि अस्थायी टहरा निर्माणको दोस्रो किस्ताको रकम बैङ्कमा रोकिएको छ भने विकास निर्माणका कामहरू समेत ठप्प भएका छन् । यसबीच नगरप्रमुख रावत भने काठमाडौँमा बसेको आधा महिना भैसक्दा पनि फर्कने सङ्केत देखिएको छैन ।
नलगाडका जनताले भोगिरहेको समस्यालाई नजरअन्दाज गर्दै नगरप्रमुखले काठमाडौंमा समय बिताइरहेको स्थानीयहरूको गुनासो छ ।





