छतमा ४० लाखको सोलार, तर मोबाइलको टर्च बालेर पूजा गर्नुपर्छ

जुम्ला,१६ माघ ।

जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरमा ४० लाख रुपैयाँको सौर्य उर्जा जडान गरिए पनि मन्दिरभित्र अँध्यारोमै पूजा गर्नुपर्ने बाध्यता छ । पूजारीले मोबाइलको टर्च बालेर मन्दिरमा पूजा चलाइरहनु परेको छ । मन्दिरमा हजारौं धर्मालम्बीहरु उज्यालो भविष्यको कामना गर्दै पूजा आराधाना गर्छन् । त्यही क्षेत्र लामो समयदेखि अन्धकारमा छ ।

‘मन्दिरको छतमा लाखौंको सोलार जोडेको देखिन्छ तर मन्दिरभित्र टर्च बालेर पूजा गर्नु परिरहेको छ । यो जतिको दुःख लाग्ने कुरा के होला ?’ मन्दिरका पूजारी रमेश न्यौपानेले भने । गत जेठ महिनामा कर्णाली प्रदेश सरकारको उद्योग, वन तथा पर्यटन मन्त्रालयले डिभिजन वन कार्यालय हुँदै मन्दिरमा सौर्य उर्जा जडानको लागि रकम पठाएको थियो ।

वन कार्यालयले ठेकेदार मार्फत सौर्य उर्जा जडान गर्यो तर सौर्य उर्जा जोडेको दिनदेखि नै यहाँ बिजुली बलेको छैन । सिस्टममा कहाँ, कहिले कसरी खराबी आइपुग्यो निगरानीसमेत गरेको देखिँदैन ।

चन्दननाथ मन्दिरका पूजारी रमेश न्यौपानेले भने ‘आठ महिनादेखि अँध्यरोमै पूजा चलाइरहेको छु । रातिमा अँध्यारोमा पूजा गर्न निकै कठिन छ । मोबाइलमा चार्ज हुँदा मोबाइलको टर्च बाल्छु । चार्ज गर्न सकिएन भने मन्दिरमा बालिएको दियोको भरमा पूजा चल्छ । यो भन्दा बिडम्वना के हुन सक्छ ?’

मन्दिरमा उज्यालोको व्यवस्था नहुँदा मोबाइलको टर्च बालेर भए पनि जेनतेन पूजा चलाउनुको विकल्प नरहेको पूजारी न्यौपानेको गुनासो छ । मन्दिरले भने मासिक तीन हजार बिजुली महसुल तिर्दै आएको राष्ट्रिय प्रसारणलाइन समेत जडान गरेको छ । जोडले हाबा चल्दा, आकाश गडगडाउँदा बिजुली निभ्छ । महिनामा अधिकांश दिन बिजुली आइरहेको छैन ।

मन्दिरमा राति २ बजेदेखि नै चहलपहल सुरु हुन्छ । ३ बजेदेखि पूजापाठ सुरु गर्नुपर्छ । तर त्यही बेलामा बत्ती नहुने गरेको भन्दै स्थानीयहरूले गुनासो गरेका छन् । ’जतिबेला बत्ती आवश्यक पर्ने हो त्यही बेला बत्ती बल्दैन भने देखावटी रुपमा जडान भएको लाखौं मूल्यको बिजुली के काम ?’ पूजारी न्यौपानेले प्रश्न सोधे ।

चन्दननाथ भैरवनाथ गुठी समितिको कार्यालयका प्रमुख रत्नप्रसाद आचार्यका अनुसार गत जेठ महिनामा मात्र ४० लाख रुपैयाँ बराबरको सौर्य उर्जा जडान भए पनि काम गरेको छैन । न गुठी समितिमा वारेन्टी कार्ड नै दिइएको छ, न त कुनै ग्यारेण्टी । उनले भने,‘जोडेको दिनदेखि यति ठूलो रकमले जोडिएको सौर्य उर्जाले काम नगर्नु भनेको पटक्कै राम्रो होइन । ’

बिजुली नहुँदा मन्दिरमा जोडिएका सबै विद्युतीय उपकरण बन्द छन् । गुठी समितिले राखेका प्राविधिक चक्रबहादुर महतले इन्भटरले पनि काम नगर्दा बिजुली बाल्न नसकिएको बताए । उनका अनुसार इन्भटर बिग्रेको भन्दै मर्मत गरेर समेत ल्याइयो । तर बिजुली बल्न सकेको छैन ।

गुठी समितिले पटकपटक सौर्य उर्जा सञ्चालनका बारेमा डिभिजन वन कार्यालय जुम्लालाई पत्राचार गरेको छ । तर वन कार्यालयबाट कुनै प्रतिक्रिया आउन सकेको छैन । बिजुली नहुँदा सीसी क्यामरा सञ्चालनमा छैनन् ।

मन्दिरको प्रभावकारी सुरक्षाको लागि भन्दै राखिएको सीसी क्यामरा नै बन्द हुँदा असुरक्षा बढ्दै गएको गुठी समितिले जनाएको छ । प्रमुख आचार्यका अनुसार ८ वटा सीसी क्यामरा, एक ल्यापटप, डेक्सटप र फोटोकपी मेसिन पनि बिजुली अभावकै कारण सञ्चालनमा आएका छैनन् । जसकारण दैनिक कामकाज समेत प्रभावित बनेको छ ।

मन्दिरमा सुरक्षाका लागि चाहिने उपकरण सबै छन् । प्रहरी पनि खटाइएको छ तर विद्युतीय उपकरण चलाउने बिजुली नहुँदा समस्या देखिएको बताइन्छ । बिजुली नहुँदा जोसुकै पनि जुनसुकै समयमा मन्दिर प्रवेश गर्नसक्ने देखिन्छ ।

गुठी समितिले भने मन्दिरमा बिजुली नहुँदा हुने क्षतिको सम्पूर्ण जिम्मेवार वन कार्यालय र ठेकेदार हुनुपर्ने तर्क गरेको छ । बिजुली नभएको मौका छोप्दै २०७३ मंसिर ११ गते राति चन्दननाथ मन्दिरको मुख्य मूर्तिसहित २८ वटा मूर्ति चोरी भएका थिए । अहिलेसम्म पूरातात्विक महत्त्वका दुई मूर्ति भेटिएका छैनन् ।

एक सय टहराको लागि बालिने भनिएको सौर्य उर्जा नबलेपछि मुख्य मन्दिर अन्धकार छ । टुकीमारा या टर्च बालेर पूजाआजा चलाउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् । सोलारको रेखदेखका लागि भन्दै चक्रबहादुर महतलाई गुठी समितिले प्राविधिक कर्मचारीका रुपमा राखेको छ ।

उनको तलब मासिक ८ हजार तोकिएको छ । तर बिजुली नबल्दा प्राविधिक कर्मचारीलाई तबल खुवाउने काम मात्रै भएको स्थानीयको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी तथा मन्दिरका संरक्षण मुकेशकुमार केसरीले भने आफूलाई मन्दिरमा बिजुली बले नबलेको कुनै जानकारी नभएको प्रतिक्रिया दिए । उनले भने,‘४० लाख खर्च गराएर जडान भएको सौर्य उर्जा बाल्न तत्काल निर्देशन दिन्छु । मन्दिरमा बिजुली बालिनुपर्छ । झलमल्ल उज्यालोमा पूजारीले पूजापाठ गर्न पाउनुपर्छ । तत्काल म पहल गरिहाल्छु । ’

गुठी समितिका प्रवक्ता जीतबहादुर महतका अनुसार बिजुली आएको बेला सोलार बन्द गर्ने र बिजुली नआएको बेला सौर्य उर्जाको प्रयोग गर्ने व्यवस्था मिलाइएको थियो । तर इन्भटर बिग्रँदा समस्या आएको उनले बताए । उनका अनुसार डिभिजन वन कार्यालयले तत्काल अर्को इन्भटर किनेर राख्ने जनाएको छ ।

कान्तिपुर 

छतमा ४० लाखको सोलार, तर मोबाइलको टर्च बालेर पूजा गर्नुपर्छ

चुनौतीपूर्ण परिस्थितिमा गठन भएको सरकार सामाजिक न्याय,

छतमा ४० लाखको सोलार, तर मोबाइलको टर्च बालेर पूजा गर्नुपर्छ

आपत्–विपद्मा  सेनाकै सहारा

Leave a comment

Your email address will not be published. Required fields are marked *