बाढीले बगाएका कुला बिउ राख्ने बेलासम्म पनि बनेनन्

सुर्खेत । कर्णाली प्रदेश सरकारले चैतको १२ गते धानको बिउ राख्ने दिन सम्झेर जुम्लामा मात्रै भनी सार्वजनिक बिदा दियो। चैत १२ गते बारुवा पर्व पर्छ। यसले मार्सी धान खेतीको निरन्तरता दिने काम गर्छ। मार्सी धानको विकास भएदेखि हरेक वर्ष मनाइने बारुवा पर्वको बिदा दिए पनि धान रोप्ने खेतमा सिँचाइ गर्ने कुलाहरु मर्मत नहुँदा अधिकांश जिउला बाँझै रहने देखिएका छन्।

परम्पराअनुसार सिँचाइ कुलाहरु हरेक वर्ष चैत १२ को ठिक एक महिना अगाडि मर्मतसंहार गर्ने गरिन्थ्यो। त्यसको अगुवाइ सामाजिक नेतृत्वले गर्थ्यो। तर यो वर्ष असोजमा परेको अविरल वर्षापछिको बाढीपहिरो क्षतविक्षत भएका कुलो मर्मत गर्ने काम परम्परागत सामाजिक संगठनहरुबाट हुन असम्भव छ। बाढीपहिरोले जिल्लाका अधिकांश सिँचाइ कुलाहरुमा क्षति पुगेको छ। बाढीपहिरोले भत्काएका कुलाहरु मर्मत नहुँदा खेतीयोग्य जमिन बाँझै छन्।

जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाका नौ दर्जनबढी सिँचाइ कुलाहरुमा क्षति पुर्‍याएको छ। जसमध्ये तातोपानीका ३३, तिलाका ४०, हिमाका ११ र सिंजाका १९ गरी गरी १ सय ३ वटा साना ठूला सिँचाइ कुलाहरु भत्किएका थिए। तर हालसम्म क्षतिग्रस्त कुलाहरु मर्मत भएका छैनन्। कर्णाली प्रदेश सरकारले चैतको १२ गते धान दिवसको सार्वजनिक बिदा दिँदा अधिकांश गाउँलेहरुलाई व्यङ्ग्य गरेजस्तो लागेको हिमा गाउँपालिका -१ का वडाध्यक्ष रतन बहादुर शाहीले बताए।

’यस्तो ऐतिहासिक महत्व बोकेको दिनमा सरकारले विदा दिँदा खुसी हुनुपर्ने दिनमा गाउँलेहरु झन् निराश छन्,’ उनले भने, ’बाढीले बगाएका कुलाहरु मर्मत भएका छैनन्। गाउँपालिका, वडाबाट छुट्याइने सानातिना बजेटले कुला बन्नेवाला छैनन्। जब कुला नै बनेनन् भने धान कसोगरी उत्पादन होलान्?’ जिल्लाको सिजा क्षेत्रमा बाढीले अत्यधिक मात्रामा क्षति गरेको छ। सिजाको कनाका सुन्दरीमा मानवीय क्षति बढी भएपनि हिमा गाउँपालिकामा जमिनको क्षति बढी भएको देवारगाउँका अमरबहादुर शाहीले बताए। उनले भने, ’देवारगाउँ २० हेक्टर ज्युलो बाँझै छ। बाढीपहिरोले भत्काएको कुला मर्मत भएको छैन्।’

उनका अनुसार समयमा कुलो मर्मत नहुँदा जिउलोमा धान रोप्ने अवस्था छैन। दुई हजार तीन सय मिटर कुलो बढीले क्षति गरेको छ। उनले भने, ’१२ मिटरजति कुलोको नामनिसाना छैन। कणर्ाली प्रदेश सरकारले आजको दिन सार्वजनिक बिदा दिनुभन्दा समयमा सिँचाइ कुला बनाइदिएको भए हाम्रो धान खेती मर्ने थिएन।’ देवारगाउँको ज्युलोमा बड्की, कोइरेली, ओदी, आचार्यलिही, धितालिही, मोफ्ला र देवारगाउँ गरी सात गाउँका झन्डै तीन सय कृषक धान रोप्ने गर्दछन्। यस वर्ष सिँचाइ कुलो मर्मत नहुँदा धानको बिउ राख्ने अवस्था छैन। अर्को वर्ष धानको बिउ खोज्ने कहाँ जाने निकै सकस पूणर् अवस्था आउने स्थिति देखिएको स्थानीयको गुनासो छ।

सिजा भेगका धेरैजसो नागरिक कात्तिक महिनामा धानबाली भित्र्याएपछि व्यापार, व्यवसाय गर्न मंसिर महिनामा हाट जाने गर्दछन्। पुनः मार्सी लगाउन उनीहरू घर फर्किने प्रचलन छ। तर, यसपटक भने हिमा गाउँपालिका-१ देवारगाउँका धेरैजसो कृषक घर फर्केका छैनन्।
धान रोप्नलाई खेतमा सिँचाइ गर्ने कुलो मर्मत भएन। यसपटक रोपाइँ नहुने भन्दै उनीहरू घर फर्किएनन्। देवारगाउँका ११ जना स्वरोजगारका लागि भारतमा छन्। उनीहरू धान खेतीका लागि घर आउने तयारीमा थिए। तर, धान खेती गर्ने कुलो नै मर्मत नभएको र रोपाइँ नहुने भन्दै उनीहरू घर नआएको स्थानीय रतन रावतले बताए।

उनले भने, ’कुलो मर्मत नहुँदा रोपाइँ नहुने भएकाले धानको बिउ राख्ने दिनमा कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिनुको औचित्य छैन। सार्वजनिक बिदा दिनुभन्दा कुला मर्मत गर्नेतिर सोच्न आग्रह छ।’ बाढीले चन्दननाथ -१ देखि ५ वडाका किसानले प्रयोग गर्दै आएको माझकुलो र ठिन्केकुलो बगाएको थियो।

पातारासीको कोटभिरदेखि झन्डै पाँच किलोमिटर दूरी रहेको सिँचाइ कुलो बाढीपहिरोले बगाइदिएको हो। तर, त्यसपछि कुलो मर्मत नहुँदा दुई हजार पाँच सय हेक्टर जमिन बाँझो हुने अवस्था आएको चन्दननाथ -२ का किसान दिपबहादुर मल्लले बताए। ’कुलो ढुंगा र माटोले पुरिएको छ। सामान्य तरिकाले माटो पन्छाउँदा पानी ल्याउन सकिने अवस्था छैन, डोजर प्रयोग गरे मात्र कुलो बन्ने देखिन्छ,’ उनले भने, ’हिउँदको सामान्य चिस्यानकै भरमा जौ छरिएको छ।’

कुलो नबन्दा खेत बाँझो भएर खेती गर्न नसकिने अवस्था हुन सक्ने भन्दै किसान चिन्तित छन्। जेठ महिनासम्म कुलोमा पानी बगाएर रोपाइँ चलाउनुपर्ने बाध्यता छ। सिँचाइ अभावकै कारण आचार्यबाडा, ठिन्के, देउतीमाडी, पाल्तीसरा र लयापानी जिउलोमा धान रोपाइँ गर्न कठिन देखिएको छ। चन्दननाथ-१ का हरिशरण आचार्यका अनुसार कुलो माथि सडक र सडकभन्दा पनि माथि खानेपानीको पाइप जडान गरिएकोले ठिन्के कुलो र माझकुलो सधैँ जोखिममा छन्।’गत असोजमा पहिरोले जुम्लामा सयौँ कुला बगाएको थियो,’ उनले भने, ’अब सिँचाइका लागि पक्की कुलो नै चाहिएको छ।’

पहिरो प्रभावित क्षेत्रका किसानले कुलो मर्मतको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पटकपटक डेलिगेसनमा गइसकेका छन्। त्यसपछि स्थानीय प्रशासनले भौतिक, पूर्वाधार कार्यालय, सिँचाइ कार्यालय र चन्दननाथ नगरपालिकाका प्रतिनिधि राखेर छलफल पनि गरेको थियो।
तैपनि किसानको माग पूरा हुन सकेको छैन। पुस १४ गतेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठक बसेर ६० लाख रुपैयाँ आवश्यक पर्ने निणर्य गरेको थियो।

बाढी आएको सात महिना बितिसक्दा पनि भत्किएका सिँचाइ कुलो मर्मत नभएको र सिँचाइ नहुँदा बेर्ना राख्नै अलमल भएको बताएको तातोपानी २ का दत्त बुढाले बताए। उनले भने, ’झण्डै १० मुरी खेतभरी बालुवा भरिएको छ। बाँकी रहेका थोरै खेतमा धान रोप्न बिउ राखौं भनेको बेर्ना बनाउन सिँचाइ छैन। क्षति भएको सात महिना बित्दा पनि भत्किएका कुला मर्मत हुन सकेका छैनन्।’

बाढीले बगाएका कुला बिउ राख्ने बेलासम्म पनि बनेनन्

YUGAAWHAN NATIONAL DAILY (2079-12-15)

Leave a comment

Your email address will not be published. Required fields are marked *