तेस्रो टाइगर कप भलिबल : महिलातर्फ सशस्त्र र पुरुषतर्फ गण्डकी च्याम्पियन

पोखरा,१५ माघ ।
पोखरामा शनिबार सम्पन्न तेस्रो टाइगर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फ सशस्त्र प्रहरी र पुरुष तर्फको उपाधि आयोजक गण्डकी प्रदेशले जितेको छ। सशस्त्र प्रहरी बल र अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लब बीचको प्रतिस्पर्धामा सशस्त्रले ३–१ को सेटमा पन्छाउँदै उपाधि आफ्नो नाममा लेखाएको हो।
सशस्त्रले चार सेटमा तीन सेटमा जित निकाल्दै उपाधि जितेको हो। पहिलो सेटमा २५–२० ले जित निकालेको सशस्त्रले दोस्रो सेट २२–२५ मा आर्मीलाई सुम्पियो। तेस्रो सेट २५–८ र चौथो सेट २५–२२ मा जित निकाल्दै सशस्त्र च्याम्पियन बन्दा आर्मी उपविजेतामा चित्त बुझायो।
पुरुष तर्फको खेलमा लिग चरणमा व्यहोरेको हारको बदला लिँदै गण्डकी प्रदेशले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–२ को सेटमा पराजित गर्दै तेस्रो टाइगर कप भलिबलको उपाधि जितेको हो। गण्डकीले यस अघि पहिलो संस्करणको टाइगर कप भलिबल जितेको थियो।
पोखरा रंगशालाको भलिबल कोर्टमा भएको निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा पहिलो सेट गण्डकी प्रदेशले सशस्त्र प्रहरीको एपीएफलाई २५–१६ अंकले सुम्पियो। दोस्रो सेट भने आयोजक गण्डकीले २५–१८ मा र तेस्रो सेट २५–१९ अंकले जित निकाल्यो। चौथो सेटमा २०–१६ स्कोरमा पछि परेको अवस्थालाई उल्टयाउँदै सशस्त्रले २८–२६ ले जित निकाल्दै खेललाई बराबरी बनायो।
खेल बराबरीमा पुगेपछि निकै रोमाञ्चक बनेको थियो। अन्तिम सेट १५–८ को सहज जित निकाल्दै आयोजक गण्डकी प्रदेश पुरुष तर्फको च्याम्पियन बन्यो। प्रतियोगितामा आयोजक गण्डकी प्रदेश च्याम्पियन बन्दै ५ लाख रुपैयाँ प्राप्त गर्यो। उपविजेता सशस्त्रले २ लाख ५० हजार पायो। तेस्रो भएको नेपाल पुलिसले १ लाख २५ हजार पाउँदा चौथो त्रिभुवन आर्मी क्लबले ६५ हजार रुपैयाँ नगदमा चित्त बुझायो।
महिला तर्फ च्याम्पियन बनेको सशस्त्र प्रहरीले ५ लाख नगद प्राप्त गर्यो। उपविजेताले त्रिभुवन आर्मीले २ लाख ५० हजार पाउँदा तेस्रो भएको न्यु डाण्मण्डले १ लाख २५ हजार पायो। चौथो एवं सान्त्वना बनेको गण्डकीले ६५ हजारको नगद पुरस्कार प्राप्त ग¥यो। महिलातर्फ सर्वोत्कृष्ट खेलाडी सशस्त्र प्रहरी बलकी सरस्वती चौधरी घोषित हुँदै नगद २५ हजार नगद प्राप्त गरिन।
उत्कृष्ट लिबेरो त्रिभुवन आर्मी क्लबकी सरस्वती जैसी, उत्कृष्ट स्पाईकर सशस्त्रकी निरुता ठगुन्ना भइन। उत्कृष्ट सर्भर गण्डकी प्रदेशकी अरुणा शाही भइन्। उत्कृष्ट व्लबकर त्रिभुवन आर्मीकी संगम महतो हुँदा उत्कृष्ट सेतर न्यु डायमण्डकी प्रगती नाथ र उत्कृष्ट प्रशिक्षक सशस्त्र प्रहरीका महेश चौधरी घोषित भए।
पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी रवि केसी घोषित हुँदै नगद २५ हजार प्राप्त गरे। उत्कृष्ट सेटर गण्डकी प्रदेशका दिवस आले भए भने उत्कृष्ट लिबेरो सशस्त्रका विनोद चन्द घोषित भए। उत्कृष्ट सर्भर गण्डकीका घनश्याम चौधरी बन्दा उत्कृष्ट स्पाइकर सशस्त्र प्रहरीका टेकराज वस्थी भए। उत्कृष्ट ब्लकर गण्डकी टिममा समावेश भारतीय खेलाडी नितिन भए।
उत्कृष्ट प्रशिक्षक पनि गण्डकीकै रमेश केसी घोषित भए। विधागत महिला तथा पुरुष उत्कृष्ट खेलाडीहरूले जनही १०÷१० हजार नगद प्राप्त गरे। विजेता तथा उपविजेता खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, आयोजक टाइगर ग्रुप पोखराका अध्यक्ष नारायण शर्मा लगायतले नगद, ट्रफी तथा प्रमाण पत्र प्रदानका थिए।






