एमबीबीएस पढाउँदै पातारासी

जुम्ला,८ माघ ।

पातारासी गाउँपालिका–४ लुमगाउँका २३ वर्षीय नवीन रेउले सानैदेखि डाक्टर बनेर स्वास्थ्य सेवा प्रदान गर्ने सपना बोकेका थिए । तर आर्थिक समस्याका कारण उनको पढ्ने इच्छा पूरा हुन सकेको थिएन । गाउँपालिकाले विपन्न र जेहेन्दार युवालाई एमबीबीएस पढाउने नीति लिएपछि उनी खुसी छन् । उनी त्यसका लागि छनोटमा परेर अहिले बुटवलको देवदह मेडिकल कलेजमा एमबीबीएस पढ्दै छन् ।

गाउँपालिकाले बर्सेनि ७ लाख रुपैयाँ दिने गरी कार्यविधि बनाएको छ । रेउलेका लागि पालिकाले ५ वर्षमा ३५ लाख रुपैयाँ ब्यहोर्नेछ । जसका लागि न्यूनतम दुई वर्ष पालिकाभित्र निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने सर्त छ । उच्च शिक्षा अध्ययन छात्रवृत्ति कार्यक्रम कार्यविधिअन्तर्गत पहिलो वर्ष एक जनाले पढ्दै छन् । आगामी वर्षदेखि बर्सेनि एक÷एक जनालाई पढाउने गाउँपालिकाको योजना छ ।

उनीहरूको पढाइ नसकिएसम्म खर्च ब्यहोर्ने गाउँपालिकाले जनाएको छ । उनीहरूका लागि ७० लाख रुपैयाँ खर्च हुनेछ । एमबीबीएस पढाउन यसअघि नै कार्यविधि बनिसकेको भए पनि कार्यविधि संशोधन भएर थप रकमको व्यवस्था भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताए ।

उनका अनुसार आफ्नै पालिकामा दक्ष जनशक्ति उत्पादन गर्ने गरी यो व्यवस्था गरिएको हो । ‘डाक्टरी पढ्नका लागि एकै पटक धेरै जनाले नाम निकालेमा छानबिन गरेर विपन्नताका आधारमा छनोट गरिनेछ,’ उनले भने, ‘मेडिकल कलेजमा एक जनाले मात्र नाम निकाले स्वतः उसैलाई खर्च ब्यहोरिनेछ ।’

पहिलो कार्यकालका जनप्रतिनिधिले एक वर्षका लागि दुई लाख रुपैयाँ एक पटक मात्र दिने गरी कार्यविधि बनाएका थिए । तर त्यसले एमबीबीएस पढ्न नसकिने भएपछि कार्यविधि संशोधन गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह ऐडीले बताए । ‘दुर्गममा डाक्टर, इन्जिनियरलगायत दक्ष जनशक्ति आउनै नमान्ने समस्या छ, जसका कारण सेवाप्रवाह प्रभावित भइरहेको छ,’ उनले भने, ‘त्यो अवस्थाको अन्त्य गर्न पनि यो व्यवस्था ल्याइएको हो ।’

नवीनले भदौदेखि एमबीबीएस पढाइ सुरु गरेका छन् । उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३ वर्षीय एचए कोर्स सकाइसकेका थिए । लोकसेवा आयोगको तयारीका लागि काठमाडौंमै रहेको बेला पालिकाले एमबीबीएस पढ्नेहरूका लागि सूचना निकालेपछि उनले तयारी गरेका थिए ।

कान्तिपुर 

एमबीबीएस पढाउँदै पातारासी

छोरीको खातामा बचत शून्य

Leave a comment

Your email address will not be published. Required fields are marked *