तीन स्थानीय तहमा घट्दै बालविवाह


जुम्ला जिल्लामा बालविवाह न्यूनीकरणका लागि सिँजा क्षेत्रका स्थानीय सरकार सक्रिय रूपमा जुटेका छन् । समाजमा व्यापक रूपमा बालविवाह हुने गरेको र त्यसले बहुविवाह, घरेलु हिंसा र मातृशिशु मृत्युदर बढाएकाले स्थानीय सरकार सक्रिय भएका हुन् ।

यस क्षेत्रमा भएका बालविवाहको विषयमा पहिलो पटक अध्ययन गरिएको छ । सिँजा क्षेत्रका तीन वटा स्थानीय सरकार सिँजा, हिमा र कनकासुन्दरी पालिकाको समन्वय तथा प्लान नेपाल र आत्मसम्मानका लागि सहकार्य (क्याड) नेपालको सहयोगमा तीन वर्षको बालविवाह व्यापकता सर्वेक्षण तथा अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ ।

गाउँपालिकाको अगुवाइमा सन् २०२०, २०२१ र २०२२ सम्मको तथ्यांक अनुसार त्यस क्षेत्रमा बालविवाह घट्दै गएको देखिएको छ । विगतमा सिँजामा बालविवाह विकराल समस्याका रूपमा देखिएको थियो ।
बालविवाहको अवस्था

स्थानीय सरकारको अगुवाइमा सार्वजनिक गरिएको उक्त तथ्यांकमा जुम्लाको हिमा गाउँपालिकामा सन् २०२० मा जम्मा सात सय ६९ जनाको विवाह दर्ता भएकोमा पाँच सय ८३ जनाले बालविवाह गरेका थिए ।

जसमा वडा नम्बर–१ मा एक सय २६ जना, वडा नम्बर–२ मा ९५ जना, वडा नम्बर–३ मा एक सय तीन जना, वडा नम्बर–४ मा ३२ जना, वडा नम्बर–५ मा ९५ जना, वडा नम्बर–६ मा ६३ जना र वडा नम्बर–७ मा ६९ जनाले बालविवाह गरे ।

सर्वेक्षणको तथ्यांक अनुसार सबैभन्दा बढी ९५ प्रतिशत बालविवाह भएको थियो । बालविवाह विषयमा सार्वजनिक गरेको प्रतिवेदनमा हिमा गाउँपालिकामा सन् २०२१ मा जम्मा विवाह एक सय ९४ जनामध्ये बालविवाह एक सय ३६ जनाले बालविवाह गरे । जसमा वडा नम्बर–१ मा ३७ जना, वडा नम्बर–२ मा १० जना, वडा नम्बर–३ मा ३६ जना, वडा नम्बर–४ मा २१ जना, वडा नम्बर–५ मा १६ जना वडा नम्बर–६ मा ११ जना र वडा नम्बर–७ मा १५ जना छन् ।

सन् २०२२ मा एक सय ४४ जनाको विवाह भएकामा ३६ जनाले बालविवाह गरेका छन् । जसमा वडा नम्बर–१ मा शून्य बालविवाह, वडा नम्बर–२ मा ६ वटा, वडा नम्बर–३ मा ३ वटा, वटा नम्बर–४ मा तीन वटा, वडा नम्बर–५ मा एक वटा, वडा नम्बर–६ मा १३ वटा र वडा नम्बर–७ मा १० जनाले बालविवाह गरेका छन् ।

यस क्षेत्रको सिँजा गाउँपालिकामा सन् २०२१ मा एक सय ६० जनाले बालविवाह गरेको तथ्यांक छ । गाउँपालिकाको वडा नम्बर–१ मा २३ जना, वडा नम्बर–२ मा १२ जना, वडा नम्बर–३ मा १६ जना, वडा नम्बर–४ मा २० जना वडा नम्बर–५ मा २२ जना र वडा नम्बर–६ मा २४ जनाले बालविवाह गरेका छन् ।

यो तथ्यांक अनुसार सन् २०२१ मा ७३ प्रतिशत बालविवाह भएको पाइन्छ । यसै गरी सन् २०२२ मा सिँजा गाउँपालिकामा एक सय ४१ जनाको विवाह भएकोमा ६७ जना अर्थात् ४८ प्रतिशत जनाको बालविवाह भएको छ । सिँजा गाउँपालिका उपाध्यक्ष सितली रोकायाले बालविवाह रोक्ने प्रयासमा निरन्तर काम भइरहेको बताइन् ।

साझेदार निकाय प्लान नेपाल र क्याडको सहयोगमा २०२० देखि सर्वेक्षण जनप्रतिनिधि परिचालनसहित विभिन्न क्रियाकलापहरू गरिँदै आएको छ । कनकासुन्दरी गाउँपालिकामा सन् २०२० मा सात सय ७३ जनाको विवाह भएकोमा चार सय ४६ जना अर्थात् ५८ प्रतिशत, सन् २०२१ मा एक सय ५६ जनामा ९४ जना र सन् २०२२ मा एक सय २४ जनाको बालविवाह भएको छ ।

बालविवाहमुक्त भएका वडा
यसरी समग्रमा सिँजा क्षेत्रमा बालविवाह घटेको तथ्याङ्कले देखाएको छ । हिमा गाउँपालिकाको वडा नम्बर १ मा सन् २०२० मा अत्यधिक देखिएको बालविवाह २०२२ मा शून्यमा झरेको छ । वडाध्यक्ष रतनबहादुर शाहीका अनुसार वडा नम्बर १ मा अहिले बालविवाह शून्य भएको छ ।

स्थानीय सरकारले त्यस वडालाई बालविवाहमुक्त वडा घोषणा गरेको छ । वडाध्यक्ष शाहीका अनुसार वडामा २० वर्ष उमेर पुगेर विवाह गर्ने चेलीलाई कोसेलीसहित सम्मान गर्ने नीति बनेको छ । सिँजा गाउँपालिका–२ ले पनि बालविवाहमुक्त गर्ने योजना बनाएको छ ।

सिँजा –२ मा यो वर्ष बालविवाह खासै भएको छैन । वडाध्यक्ष तीर्थ वडका अनुसार वडापालिकाको सिफारिस गरेर मात्रै विवाह गर्न पाइने नियम बनाइएको छ । टोलटोलमा सचेतना कार्यक्रम गर्नेदेखि विभिन्न क्रियाकलाप गर्दै आएको बताउँछन् ।

साझेदार संस्था क्याड नेपाल जुम्लाका सामाजिक परिचालन अधिकृत देवेन्द्र आचार्यले परियोजनाले विद्यालयबाहिर रहेका बालबालिका विद्यालय पु¥याउने, यौन तथा प्रजननको सचेतना दिने, आयआर्जनमा टेवा पु¥याउने, धार्मिक गुरु तथा पुरोहितसँग छलफल गर्ने गरेको बताए । आचार्यका अनुसार प्लान नेपालले सिँजा क्षेत्रमा सन् २०२० देखि बालविवाह नियन्त्रणका क्षेत्रमा काम गर्दै आएको र २०२४ सम्म जारी रहनेछ ।

उनले जुम्लाको हिमा, सिँजा र कनकासुन्दरी गाउँपालिकामा बालविवाह, भागी विवाह, छिटो विवाह र जबरजस्ती विवाह रोक्नका लागि विभिन्न क्रियाकलाप गर्दै आएको जनाए ।

तीन स्थानीय तहमा घट्दै बालविवाह

कार्यकर्ताले बनाए तीन हजार बढी अस्थायी आवास

तीन स्थानीय तहमा घट्दै बालविवाह

क्यान्सर पिडितलाई आर्थीक सहयोग