भूकम्प विगतदेखि वर्तमान

नेपालको भूकम्प इतिहासलाई केलाउँदा आठ सय वर्षमा ५१ भन्दा बढी ठूलै भूकम्पहरु गएको तथ्याङ्क भेटिन्छ । रेकर्ड गरिएकामध्ये पहिलो विनाशकारी भूकम्प वि.सं. १२१८ को असारको सात दशमलव सात रेक्टर स्केलकोलाई मानिन्छ । यही भूकम्पमा परी जनतामात्र होइन, राजा अभय मल्ल समेत मारिएका थिए । स्थानीय बासिन्दाले करिब एक महिनासम्म काठमाडौं उपत्यका छोडेका थिए ।

वि.सं. १३१६ को भूकम्पले अनिकाल निम्त्याएको थियो । वि.सं. १४६५ को भूकम्पले रातो मच्छिन्द्रनाथको मन्दिर लगायत अन्य दर्जनौं मन्दिर ढालेको थियो । जमिनमा ठूलठूला धाँजा फाटेका थिए जसले गर्दा पानीका मुहानसमेत पुराना स्थानमा सुक्ने र नयाँ स्थानमा पलाएका थिए ।

वि.सं. १८२४ असार १ गते एकैदिनमा २१ पटक भूकम्पको धक्का महशुस गरिएको थियो भन्ने इतिहास छ । वि.सं. १८९० भदौमा ठूलो विनाशकारी भूकम्प गएको थियो । काठमाडौँमा रहेका दुईवटा धरहरा मध्ये एउटालाई पूरै ढालेको थियो भने अर्को आधा भत्किएको थियो । नेपालको भूकम्प इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी वि.सं. १९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ । पूर्वको संखुवासभाको चैनपुरलाई केन्द्रबिन्दु बनाएर गएको आठ दशमलव चार रेक्टर स्केलको यस भूकम्पले देशलाई नराम्रो असर पार्यो ।

यस्तै पछि सुदूरपश्चिमको बझाङलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव चार रेक्टर स्केलको भूकम्प जाँदा करीब २५ सय घर ध्वस्त भए । वि.सं. २०४५ भदौमा पूर्वी नेपालको उदयपुरलाई केन्द्रबिन्दु बनाएर गएको ६ दशमलव सात रेक्टर स्केलको भूकम्पमा परी करीब सात सय ५० जना मानिसले ज्यान गुमाएका थिए भने ६ हजार पाँच सय भन्दा बढी घर भत्किएका थिए । यस्तै २०६८ असोज १ गते ताप्लेजुङ र भारतको सिक्किम सीमाक्षेत्रमा केन्द्रबिन्दुमा गएको भूकम्पमा एक सय ११ जनाको मृत्यु हुनुका साथै दुई सय भन्दा बढी घाइते भएका थिए ।

वि.सं. २०७२ को भूकम्पले आठ हजार पाँच सय ५६ जनाको ज्यान लिएको थियो भने करिब २३ हजारको संख्यामा घाइते भएका थिए । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको यो भूकम्पमा परी दुई हजार ६ सय ७३ सरकारी भवनहरूमा पूर्ण क्षति, तीन हजार सात सय ५७ वटा सरकारी भवनमा आंशिक क्षति भएको थियो ।

यसैगरी ६ लाख दुई हजार दुई सय ५७ वटा सर्वसाधारणका घर पूर्ण क्षति र दुई लाख ८५ हजार ९९ घरमा आंशिक क्षति भएको थियो । यो भूकम्पमा परी धरहरा, वसन्तपुर, बुङमतिमा रहेको रातो मच्छिन्द्रनाथको मन्दिर ध्वस्त भएका थिए ।

जाजरकोट–रुकुम भूकम्प २०८०

राति ११ः४७ बजे पहिलो भूकम्पको धक्का महशुस भएको थियो । रातको समयको कारण पनि ठूलो क्षति भयो । त्यसपछि क्रमशः विभिन्न म्याग्निच्युडका पराकम्पहरु गए । खेलप्रेमीहरु नेपाली युवा क्रिकेटरले दिलाएको खुशीमा निदाएको थिए, कोही निदाउँदै थिए । जाजारकोट र रुकुममा राती १२ बजेपछि प्राय सबै घरबाहिर बसेछन् । त्यहाँका ९० प्रतिशत घरहरु कच्ची नै रहेछन् । पूर्ण क्षतिग्रस्त भए । भुकम्पमा धेरै गुमेको खबरले स्तब्ध बनायो । धेरै घाइते भएको खबरले निक्कै दुःखित बनायो । गरिवी त्यस्तै छ । ठूलो भूकम्पले मक्किएका घरहरु जतिखेर पनि ढल्न सक्ने अवस्था देखिन्छ ।

भूकम्प पिडितहरुको छाना, खाना र नाना गुमेको छ । यस्को सुनिश्चितता गर्न बिलम्ब भयो भने पिडितहरु झनै दीनहीन बन्नेछन् । विद्यालय उमेरका बालबालिकाहरुको विद्यालय शिक्षा सुनिश्चित गर्न थप कठिनाइ सिर्जना हुन गएको छ । यी सबै विषयलाई स्थानीय तह, कर्णाली प्रदेश र नेपाल सरकारले आपसी समन्वय गरी राहतको पूर्ण कार्यक्रम ल्याउनु पर्दछ । प्रभावकारी रुपमा वितरण गर्नुपर्दछ । पश्चिम नेपाल भूकम्पको जोखिममा छ भन्ने विषय बहसमै थियो । दुई सय वर्ष भन्दा बढी समयदेखि पश्चिम नेपालमा भूकम्प गएको थिएन । बझाङ भूकम्पले पनि यो संकेत गरेकै थियो । यसतर्फ हामी सचेत बन्न सकेनौ । हाल पनि करीब ९० भन्दा बढी विद्यालय भवनहरु पूर्णरुपमा क्षतिग्रस्त भए । करीब साढे तीन सय भन्दा बढी कक्षाकोठाहरु पनी पूर्ण क्षतिग्रस्त थिए । करीब ५० वटा जति विद्यालयका शौचालयहरु पूर्णरुपमा क्षति भएको प्रारम्भिक अनुमान छ । भर्खरै दशैं सकिएको थियो । तिहारको माहोल तातिसकेको थिएन । कति सात समुन्द्र पारीबाट पनि आएका रहेछन् । कति सहरबाट आएका । बाहिर पढ्ने विद्यार्थीहरु गाँउको मृगतृष्णा बोकेर आएका । अन्ततः प्राकृतिक प्रकोपको शिकार भए ।

वि.सं. २०७८ को माघमा जाजरकोट प्रमुख जिल्ला अधिकारी सहितको एउटा कार्यक्रम भएको रहेछ । उक्त कार्यक्रममा यो जिल्ला भूकम्पको उच्च जोखिममा छ भनेर प्रविन कार्कीले भनेका रहेछन् । उनी त्यतिखेर जाजरकोटमा पूर्वाधार विकास कार्यालयका प्रमुख रहेछन् । उनले त्यहाँका संरचना हेरेरै भने होलान् । भूकम्प मापदण्ड विपरीतका संरचना । एक सय ५३ जनाको मृत्यु भयो । बाँकेले पनि राम्रै तत्परता देखायो । उपचारका लागि भेरी अस्पताललाई भूकम्प विशेष डेडिकेटेड अस्पतालका रुपान्तरण गरेछ । कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको रहेछ । भेरी अस्पताल बाहेक सैनिक अस्पताल र प्रहरी अस्पतालको एक सय पाँच वटा बेड तयारी अवस्थामा राखिएको उल्लेख छ भनेर सूचना दियो ।

जाजरकोट र पश्चिम रुकुममा अलपत्र परेकाहरुलाई जिप्रका, जाजरकोट प्रहरीले सम्पर्क नम्बर दियो । रुकुम पश्चिम नेपाल प्रहरीले पनि सम्पर्क गर्न मोबाइल नम्बर सार्वजनिक गर्यो । अस्पतालका यि सकारात्मक कुराहरु हुन् ।

संरचना र अभ्यास

छोटो समयमा भएको धनजनको ठूलो क्षति भयो । अभाव र गरिबीमा पिल्सिएको सबैभन्दा ठूलो विपद् हो । सामाजिक, आर्थिक र भौतिक क्षति पुनर्निर्माण गर्ने उद्देश्यले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण गठन त होला । तर स्रोतको संकलन, प्रभावकारी परिचालन र उपयोगको अवस्था के हुने हो । जनधनको क्षति न्यूनीकरणका लागि केही आधारभूत काम गर्न भने यो प्राधिकरण तथा समस्त राज्य प्राणाली नै असफल भएका छन् । राष्ट्रिय योजना आयोगको अगुवाइमा विपद्पछिको आवश्यकताको आंकलन समयमै गर्नु पर्छ जस्तो लाग्छ । राजनीतिक रस्साकस्सी पनि चल्ने नै होला ।

प्राधिकरणले धेरै समयसम्म कर्मचारीहरूको अभाव र असहयोग झेल्नुपर्छ । कति हजार निजी आवासीय घरको पुनर्निर्माण अनि कति सरकारी र सामुदायिक संस्था आवश्यक पर्ने हुन् । विदेशतिरको अनुभवलाई लिने हो भने पुनर्निर्माण प्राधिकरणले घरको मोडल बनाउँदा स्थानीय तथा सांस्कृतिक आवश्यकता, परिवारको आकार, परिवारको जीविका चलाउन आवश्यक पर्ने विषयहरूलाई पनि ध्यान दिने गर्दा रहेछन् । सार्वजनिक विद्यालय र स्वास्थ्यचौकीका आधुनिक भवनहरू बनाउनु पर्ने हुन्छ । कतिपय महत्वपूर्ण पुरातात्विक संरचनाहरू र दरबारसमेतमा क्षति भएको देखिन्छ । कतिपय भूमिहीनले पनि घडेरी किनेर आफ्नै घर बनाउने अवसर प्रदान गरेमा उनीहरुको पनि स्थायी समस्याको समाधान हुन सक्छ । विपद्को हिसाबले असुरक्षित केही बस्तीलाई सुरक्षित स्थानमा सार्नु पनि आवश्यक छ कि? डकर्मीको तालिम लिएका छन् । करिब ६ हजार इन्जिनियरले भूकम्प प्रतिरोधी निर्माणबारे धेरथोर ज्ञान दिनु पनि आवश्यक रहन्छ । २०७२ को भूकम्पले ठुलै चेतावनी दिएको थियो । तर बाध्यताले हामी तयारीमा लाग्न सकेनौँ । केकति कारणले धेरै क्षति भयो, उद्धारमा केकति कमजोरी भयो र ती कमजोरीहरूलाई सच्याउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा हामीले केके गर्नुपर्छ भनेर कुनै ठोस अध्ययन हुनै सकेन । अब यस्तो भूकम्प कहिल्यै आउँदैन झैं गरेर बसिरहने काम भयो । यस्तो अवस्थामा राज्य देशभरि नै भूकम्प प्रतिरोधी निर्माणमा आक्रामक रूपले लाग्नुपर्ने हुन्छ ।

उद्धार, राहत र पुनस्र्थापना

उद्धारको कार्य अझैँ पूर्ण रुपमा हुन सकेको छैन । पशुहरुको उद्धार हुन सकेको छैन । पछि महामारीको समस्या हुन सक्ने सम्भावना टरेको छैन । मृत पशुलाई पुर्ने काम आवश्यक छ । खुला दिशा पिशावले थप सिर्जना गर्न सक्छ । राहत त एकद्वार प्रणालीबाट वितरणको ढोलकी बजाएर सदरमुकाममा थन्किएको खबर छ । साथै यसमा राजनीतिकरण भएका आवाजहरु पनि आएका छन् । यसो नहोस् । वैकल्पिक उपायहरु अपनाएर वितरण शिघ्र होस् । सबैले साझा दुखलाई साझा तरिकाले समाधानको मार्गमा जावस् । तत्कालै पुनस्र्थापनाका कार्यहरु पनि अघि बढुन् ।

एउटी नौ वर्षकी परिवारका सबै सदस्य गुमाएकी प्रेमकली जस्ताको जीवनको जिम्मा सरकारले लिओस् । घरविहिनको घरको जिम्मा लिओस् । सबै सरकारी तथा गैरसरकारी संघ, संस्था र नागरिक समाजको भूमिका बलियो बनोस् ।

अस्तायौ एलिना, रोयो अमरज्योति

स्तब्धता र विक्षिप्तताको चित्कारमा सामाजिक सञ्जाल ढाकिएको अवस्थामा एउटा फेसबुक स्टाटस आयो । ‘तिमी फर्केर आउनु है एलिना, हामी कलेज कुरेर बसिरहेका हुनेछौँ ।’ यो स्टाटस अरु कोहिको थिएन । एलिना पढ्ने सुर्खेतको अमर ज्योति माविका हेडसर खगेन्द्र थापाको । मैले पत्याउनै सकिन । मलाई मेसेन्जरमा ह्वारह्वार्ती मेसिज आए, साँचै हो सर, एलिनाको बारेमा ? मैले अपुष्ट समाचार मात्र हो भनेँ । तर साँचै रहेछ । एलिना अमरज्योति मावि, नेवारेकी तीन वर्षे जियोमेटिक इन्जिनियरिङकी विद्यार्थी थिइन् । मैले पहिलो र दोस्रो सेमेस्टरमा तिमीलाई अँग्रेजी पढाएको थिएँ । पढ्नमा राम्रो थिइन् । उनलाई लोकसेवाको प्रेरणा मैले पनि दिएको हुँ । उनले आयोग पढ्दा बेलाबेला टिप्स माग्थिन् ।

विद्यालय प्रशासन ,शिक्षक र विद्यार्थीको नजरमा एलिना एक संघर्षशिल, अब्बल र अनुशासित पनि थिइन् । सिटीइभिटीको तीन वर्षे कोर्षको अब करिब एउटा सेमेष्टर मात्र बाँकी थियो । उनको स्थायी घर दैलेखको दुल्लु नगरपालिका थियो । उनको इन्जिनियर बन्ने सपना झण्डै पूरा हुने अवस्थामा थियो । चौथो सेमेस्टरसम्म नियमित कक्षामा उपस्थित भएर अध्ययन गरिरहेकी उनी गत वर्ष भदौमा मात्र लोकसेवा आयोगबाट नापी कार्यालय जाजरकोटमा सर्वेक्षक (अमिन) मा सिफारिस भएकी थिइन् । उनले मलाई त एक नातेदार र अभिभावकको रुपमा पनि हेर्थिन् । बेलाबेला सल्लाह लिन्थिन् । लोकसेवा पास गरेपछी एक दिन सुर्खेतको तातापानीमा भोजको आयोजना गरेकी रहिछन् । अमरज्योतिको सिटिइभिटीको प्रोग्राम कोअर्डिनेटर अमर विष्ट, अन्य सरहरु र मलाई निमन्त्रणा पनि गरेकी थिइन् । तर हाम्रो त्यही दिन विद्यालयको अर्को कार्यक्रम भएर जान पाएनौँ । विद्यालयको भेटमा नै बधाइ दियौँ । पढाइसँगै सरकारी जागिरलाई एकसाथ अगाडि बढाउँदै लगेकी भण्डारी मध्यरातमा आफ्ना भाइसँगै सदाका लागि नापी कार्यालय जाजरकोटको क्वार्टरमा सुतेकै अवस्थामा भवन भत्किँदा अस्ताएको खबर आयो । दशैं मान्न घर पुगेकी उनी घरबाट फर्केर चार दिनअघि मात्र जाजरकोट सदरमुकाम खलंगा पुगेकी रहिछन् ।

उनले दशैं–तिहार बिदामा बसेका भाइ प्रज्वल शाहीलाई आफूसँगै लगेकी थिइन् । आफू भण्डारीकी छोरी भएपनि उनका सहोदर बुवाको मृत्यु भएपछि एलिनाकी आमाले दोस्रो विवाह गरेकी रहिछिन् । एलिना र प्रज्वलका आमा एकै भए पनि बुवा भने फरक रहेछन् । पढाइमा अब्बल र मिलनसार एलिनाको निधनले विद्यालयलाई ठूलो क्षति पुगेको छ । अमर ज्योति माविका प्रधानाध्यापक खगेन्द्र थापा, सबै शिक्षक र विद्यार्थीहरु रोइरहेका छौँ । अमरज्योति रोइरहेको छ । अमरज्योति सिङगो परिवार र म एक तिम्रो शिक्षकको तर्फबाट तिम्रो दिवांगत आत्माको चिरशान्तीको कामना गर्दछौँ एलिना ! तिमी सधैँ हाम्रो स्मरणमा रहने छौ । तिम्रा सबै असल कर्महरु अरु भाइबहिनीहरुले आदर्शका रुपमा ग्रहण गर्नेछन् । साथै शोकाकुल परिवारजन र नातेदारमा समवेदना व्यक्त गर्दछौँ । हाम्री एक असल, इमान्दार, अब्बल र स्नेही विद्यार्थीको कारुणिक अवसानप्रति भावपूर्ण श्रद्दाञ्जली ! भावपूर्ण श्रद्धाञ्जली !!

(लेखक अमरज्योति मावि, नेवारे सुर्खेतका माध्यमिक तहका अँग्रेजी विषयका शिक्षक हुन् ।)

भूकम्प विगतदेखि वर्तमान

‘भूकम्प पीडितलाई प्राथमिक मनोवैज्ञानिक उपचार सहयोग गरौं’

भूकम्प विगतदेखि वर्तमान

हिमाली पुस्तकालयमा श्यामकृष्णसँग