भूकम्पपीडितलाई व्यक्ति वा संस्थाले सिधै राहत वितरण गर्न नपाउने


जाजरकोटमा गएको भूकम्पबाट पीडितलाई व्यक्ति वा संस्थाहरुले सिधै राहत रकम वा कुनै पनि सामाग्री वितरण गर्न नपाउने भएका छन् ।

सरकारले एकद्वार प्रणालीबाट मात्रै राहत वितरण गर्ने निर्णय गर्दै राहत वितरणलाई व्यवस्थित गर्न यस्तो निर्णय गरेको हो । गृह मन्त्रालयले शनिवार नै राहत वितरणमा एकद्वार प्रणाली अपनाइने भनेको थियो ।

आइतवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले व्यक्ति वा संस्थाहरुले सिधै राहत रकम वा कुनै पनि सामाग्री वितरण गर्न नपाउने निर्णय गरेको हो ।

सरकारले पीडितलाई कुनै पनि राहत सामाग्री उपलब्ध गराउनका लागि सुर्खेतलाई मुख्य केन्द्र र नेपालगन्जलाई सहायक केन्द्र बनाएर राहत संकलन गर्ने निर्णय गरेको छ । त्यहाँ संकलित सामाग्रीहरू सरकारी संयन्त्रमार्फत् प्रदेश र स्थानीय सरकारले पीडितहरुलाई वितरण गर्नेछन् ।

सञ्चारमन्त्री रेखा शर्माले सरकारले राहत वितरणलाई व्यवस्थित गर्न एकद्वार प्रणाली अपनाउने निर्णय गरेको जानकारी दिइन् । उनकाअनुसार कसैले पनि व्यक्तिगत वा संस्थागतरुपमा सिधै पीडितहरुलाई भेटेर राहत वितरण गर्दा त्यसको कुनै रेकर्ड नहुने, कसैले दोहोरिएर राहत पाउने र कसैले एकपटक पनि नपाउने अवस्था हुने समस्या हुने भएकाले राहत वितरणलाई एकद्वार बनाउने निर्णय भएको हो ।

सरकारले भूकम्पले क्षतिग्रस्त जिल्लाहरुमा पीडितहरुको तथ्यांक संकलन गर्ने र आवश्यकताअनुसार राहत वितरण तथा पुनःनिर्माणका काम तत्काल अघि बढाउने निर्णय गरेको छ ।

जाडोयाम भएकाले ज्येष्ठ नागरिक, महिला र बालबालिकालाई तत्काल न्यानो कपडा र बासको प्रबन्ध गर्ने निर्णय गरेको छ ।

भूकम्पपीडितलाई व्यक्ति वा संस्थाले सिधै राहत वितरण गर्न नपाउने

भूकम्प अपडेटः दोस्रो दिन पनि उद्धारकार्य जारी

भूकम्पपीडितलाई व्यक्ति वा संस्थाले सिधै राहत वितरण गर्न नपाउने

इसराइलमा मृत्यु भएकामध्ये तीन जनाको शव पठायो