पाक्न थाले जुम्ली मार्सी धान

गाेल्डेन बुढा

,जुम्ला  असाेज १८ गते

जुम्लामा मात्र उत्पादन हुने जुम्ली मार्सी धान यतिबेला यहाँका खेतमा पाक्न थालेको छ। विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौरमा कालीमार्सी धान खेतमा पाकेको छ।यतिबेला ज्युलााेहरु (खेतहरू)लहलह धान झुलिएका देखिन्छन्।

जुम्ला काली मार्सी धान उत्पादन हुने क्षेत्रको रुपमा जुम्ला देशभर प्रसिद्ध छ । चन्दननाथ र आसपासका किसानहरू भने पाक्दै गरेको धान काट्न उत्साही छन्। चन्दननाथका किसानले जिल्ला कृषि अनुसन्धान केन्द्रको सिफारिसमा लेकाली जातको धान रोपेका थिए।

अहिले पहेंलपुर धानले चाडबाड र पर्यटकलाई पनि स्वागत गरिरहे झैं देखिन्छ।खेतमा झुलेका धानले आउदै गरेको दसै र तिहारकाे संकेत गर्दछ।पछिल्लो समय जुम्ला पुग्ने आन्तरिक पर्यटकहरू मार्सी धानको चामल झोलामा राख्न बिर्सँदैनन् ।

कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने मार्सी धानको भात पोषिलो हुने गर्छ । साथै यसको चामल खैरो रङको देखिन्छ । कसैले यसलाई रातो चामल पनि भन्छन् ।यसको चामलको भात खाँदा धेरै बेरसम्म भोक लाग्दैन, स्वादिलो, आडिलो र स्वस्थकर हुने गरेको अगुवाहरु बताउँछन्।

निकै पोषिलो र अत्याधिक कार्बोहाइड्रेट भएको काली मार्सी स्वास्थ्यवर्धक पनि मानिन्छ।उच्च रक्तचाप, मधुमेह लगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने भएकाले सहरी क्षेत्रमा यसको माग बढेको यहाँका अगुवाहरू बताउँछन् । चन्दननाथ नगरपालिका -१ का आचार्यवडा स्थानीय तथा सस्कृतविद् रमानन्द आचार्य चन्दननाथ बाबाले प्रतिपादन गरेको काली मार्सी धानको उत्पादनले जुम्लीको गौरवगाथा बोकेको बताउँछन्। उनले भने,पछिल्लो समय मार्सी धानको अध्ययन तथा अनुसन्धान गर्न आउनेहरूको पनि संख्या बढ्दो क्रममा छ।

मार्सी धानको खेती चन्दननाथ बाबाले नै सुरु गरेको जुम्लाका जानकारहरू दाबी गर्छन् । सयौं वर्षअघि काठमाडौंका राणा तथा शाह खलकका शासकहरूले पनि जुम्लाबाटै मार्सी धान मगाउने इतिहासमा (किंवदन्ती) छ।जुम्लेश्वर वंशावलीमा लेखिए अनुसार चन्दननाथ बाबाले जुम्लामा धानखेतीको सुरुवात गरेको स्पष्ट हुन्छ,लेखिएको छ,अघि भोपता राजाका पालामा जुम्लामा तलाउ थिए ।

जुमैया जिउला थिएनन् । तर हिलोह फोड्ना जंगल फाड्ना चन्दननाथ देवताले धानको बीज ल्याई गाउँमा बस्ता गुरु चन्दननाथ सिद्धिले धानको बीज दियाको हो।करिब ७ सय वर्षअघि जुम्लीका इष्ट देवता चन्दननाथले भारतको काश्मीरबाट मार्सी धान भित्र्याएको किंवदन्ती ( इतिहास ) छ।

२०२७ सालमा जुम्लामा स्थापना भएको कृषि अनुसन्धान केन्द्रले १३ वर्षसम्म स्वदेशी तथा विदेशी जातका धानको बिउको अनुसन्धान गरेको थियो । तर काली मार्सी धान नै जुम्लामा सबैभन्दा बढी उपयुक्त हुने निष्कर्ष निकालेको थियो।राणाकालमा त महिनौं अवधि लगाएर हुलाकबाट नियमित रुपमा काठमाडौंसम्म मार्सी चामल पुर्‍याइन्थ्यो ।

त्यसरी पठाइने चामल राणा शासकहरुको भान्सासम्मै पुग्थ्यो । कहिलेकाहीँ राणाहरुको दरबारमा चामल नपुग्दा वा बाटोमै रोकियो भने तुरुन्त राज्यको तर्फबाट खोजी सुरु हुने गरेको पनि बुढापाकाहरु बताउँछन्। यता जिल्ला कृषि विकास कार्यालय जुम्लाले जुम्लाको पहिचानको रुपमा काली मार्सी धानको संरक्षण गर्दै उन्नत जातमा लेकाली जस्ता जातहरूको धान खेती विस्तारमा जोड दिने नीति लिएको छ।जुम्लाको २ हजार ९ सय ५० हेक्टरमा धान खेती भएकोमा ६ हजार ३ सय ७७ मेट्रिकटन उत्पादन हुन्छ । त्यसमध्ये धेरैजसो मार्सी धान नै फल्ने गरेको छ ।

यहाँ फलेको जुम्ली मार्सी धानबाट उत्पादन हुने चामल देशका विभिन्न सहरमा राम्रो मूल्यमा बिक्री हुने गरेको छ । काली मार्सी धानको संरक्षण स्थानीय सरकारले मात्र गर्न नसक्ने भएकाले प्रदेश सरकार र संघीय सरकारले पनि किसानलाई विभिन्न राहत कार्यक्रम ल्याउनुपर्ने स्थानीय जनप्रतिनिधिहरूको भनाइ छ ।

यद्यपि, विभिन्न रोग तथा जलवायु परिर्वतनको असरका कारण पनि धान उत्पादन घट्दै गएको किसानहरूको अनुभव छ । स्वाद, रोग र किराको प्रतिरोध गर्नसक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सी धानको महत्त्व अन्तर्राष्ट्रिय समुदायमा समेत पुगेको छ।

पाक्न थाले जुम्ली मार्सी धान

लोपोन्मुख राउटे समुदायलाई आवश्यक राहत वितरण

पाक्न थाले जुम्ली मार्सी धान

उच्च अदालत सुर्खेत जुम्ला इजलासमा भर्चुअलबाट बकपत्र