सरकारी जागिरसँगै ड्रागन खेती

कल्पना ढेङ्गा मगर
सुर्खेत ।
वीरेन्द्रनगर–८ का चन्द्र सिजाली सरकारी जागिरे हुन् । हाल उनी सडक डिभिजन कार्यालय, सुर्खेतमा कार्यरत छन् । यहाँ सरुवा भएको तीन वर्ष भयो । जगिरेसमय पछि बचेको समयमा उनी ड्रागन खेतीमा रम्न थालेका छन् ।

वीरेन्द्रनगर–१०, बुदबुदी क्षेत्रमा उनले तिला कृषि तथा पशुपंक्षी फर्मको सञ्चालन गर्दै ड्रागन फ्रुटको खेती गरेका छन् । २०६८ सालमा निजामति सेवामा प्रवेश गरेका उनी आठ वर्ष सम्म सुर्खेत जिल्ला भन्दा बाहिर रहेर काम गरे । हाल आफ्नै घर भएको स्थानमा सरुवा भएपछि उनले साँझ विहानको समयलाई सदुपयोग गर्दै खेती सुरु गरेका हुन् । उनले भने, ‘खाली हुदाँ केहि नयाँ खेती गरौं कि भन्ने लाग्यो । अनि कृषि गर्न थाले ।’

नौं सय वटा ड्रागन फ्रुटका विरुवा लगाएर खेती शुरु गरेका उनको तिला कृषि तथा पशुपंक्षी र्फममा दुई हजार विरुवा रोपिएको छ । उनले यो खेती युटुव हेरेर नै शुरु गरेका हुन् । ‘मनले सोचिरहेको थिए जागिरसँगै केहि कृषि खेती पनि गर्नुपर्यो, नयाँ खेती के गर्ने त भनेर युटुव हेरे र ड्रागन खेती नयाँ जस्तो लाग्यो । यहि खेती गर्छु भनि लागे’, उनले भने ।

निजामति सेवामा जागिर गर्दैगर्दा साँझ विहानको समयलाई सदुपयोग गर्न ड्रागन खेती गर्ने उनले सोच बनाए । सामाजिक सञ्जाललगायत खासगरी युटुव हेर्दै गर्दा ड्रागन खेती उनलाई नयाँ खेती जस्तै लाग्यो । र, ड्रागन खेती गर्न उनले सुरुवात गरे । यो खेती बारे उनलाई केहि थाहा थिएन, खेती गर्नलाई युटुव कै सहायता लिई योजना गर्न थाले । यसअघि धान लगाउदै गरिएको जग्गामा उनले ड्रागन फ्रुट खेती सञ्चालन गरेका हुन् । ड्रागन खेती शुरु गर्दा देखि हालसम्म उनले ३० लाख रुपैयाँ लगानी गरिसकेका छन् । विरुवा संख्या बढाउने क्रममा आर्थिक वर्ष २०७८÷०७९ मा उनको फर्मले कृषि विकास निर्देशनालय, सुर्खेतबाट दुई लाख ५० हजार रुपैयाँ अनुदान सहयोग समेत पायो ।

‘सुरुका वर्षहरुमा ड्रागन खेती गर्दा त्यति आम्दानी त भएन, व्यवसायिक रुपमा उत्पादन गर्न तीन वर्ष जति लाग्छ’, उनले भने । अहिले उनले पोल मार्फत विरुवाहरु हुर्काइरहेका छन् ।

‘एउटा पोलमा चारवटा विरुवा हुन्छन् । चारवटा विरुवाबाट १५ देखि २५ केजिसम्म फल फल्ने गर्छ । ड्रागन खेती गरेको दोस्रो पटक उनले तिन क्विन्टल उत्पादन गरेका थिए ।

‘विरुवा जति फैलियो त्यति नै बढि फल फल्छ । यो वर्ष ड्रागन खेतीको तेस्रो वर्ष हो, यो लटमा ९–१० क्विन्टल फल उत्पादन हुने अनुमान गरेको छु’, उनले भने ।

‘पहिले ड्रागन फलको मुल्य राम्रै थियो, सात सय रुपैयाँ सम्म बेच्ने गरेका थियौं । तर अहिले भने घटेको छ, पाँच सय रुपैयाँसम्म यसको अहिलेको मुल्य रहेको छ । ड्रागन खेती गर्नेको जनसंख्या बढेको र धेरै भएर पनि अहिले भने यसको मुल्य भने घटेको छ’, उनले भने ।


उत्पादन समेत शुरु

सरकारी जागिरसँगै कृषि खेती गर्न थालेका उनले सुरुमा ड्रागन फ्रुटका प्रति विरुवा तीन सय ५० रुपैयाँ लागतमा नौं सय वटा विरुवा लगाएका थिए । सुरुमा विरुवालाई महंगो प¥यो । अहिले उनले फर्ममै विरुवा उत्पादन गर्ने गरेका छन् ।

‘आफै विरुवा उत्पादन गर्न सकिन्छ । पहिले लगाएका हाङ्गालाई काटेर एक ठाँउ देखि अर्को ठाँउ सार्दा पनि जाग्ने गर्छ । एक पटक लगाएको ड्रागनलाई परिपक्क हुन तीन वर्ष लाग्छ तर एक पटक लगाएको ड्रागनको आयु भने २० देखि २५ वर्ष सम्मको हुन्छ’, उनले भने ।
उनलाई ड्रागन फ्रुट बेच्न बजार खोज्नु पर्दैन । फर्ममै यसका ग्राहकहरु आउने गर्छन्, ग्राहकमा ड्रागन फ्रुटको माग धेरै भएकाले आवश्यक अनुसार ड्रागन फ्रुट पु¥याउन नसकेको उनले जनाए ।

उनले कार्यालयमा कम्प्युटरमै काम गर्नुपर्ने कारणले हलचल गर्न नपर्ने तथा शारिरिक कसरत नभएको महशुस गर्दै खेती सुरु गरेको बताउँँछन् । ड्रागन खेती गर्दा शारिरिक कसरतले शरिर समेत स्वस्थ हुने भएकाल उनले खेती शुरु गरेको बताए । यो खेती गर्दा प्रकृतिसंग खेल्न, वस्न र रमाउँँन पाउँदा छुट्टै आनन्द मिल्ने उनको भनाई छ ।

‘ड्रागन खेतीमा त्यति समय दिनु पर्दैन, आफ्नो अफिसको समय अफिसमै काम गर्छु । बाँकी साँझ बेलुकाको समय यहि प्रकृतिसँग रमाउँने गर्छु’, उनले भने ।
आम्दानीसँगै स्वस्थ शरीर हुँदा कृषि व्यवसायमा सन्तुष्ट रहेको उनले बताए ।

परिक्षणको लागि गरेको खेतीले बजार मूल्य पाईरहेँ फर्ममा विरुवा संख्या अझ बढाउने उनको सोच छ । उनले हाल आठ कठ्ठा जग्गामा ड्रागन खेती गर्दै आएका छन् ।

सरकारी जागिरसँगै ड्रागन खेती

जुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *