जुम्लामा यस वर्ष स्याउको उत्पादन घट्ने अनुमान

जुम्ला ।
जुम्लामा गत वर्षभन्दा यस वर्ष ४० प्रतिशतले स्याउ उत्पादन घटेको अनुमान गरिएको छ । जुम्लाका आठवटै स्थानीय तहमा जुम्ली, इटाली, गाला, गोल्डेन, फुर्जी र जोनाप्रिन्सलगायत स्थानीय जातका स्याउ खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ जुम्लाले जनाएको छ । साउनमा काँचो स्याउ बजारमा बिक्री हुन थालेपछि यहाँका स्थानीय तहले बिक्रीका लागि सिफारिस अनिवार्य गरेका थिए ।

जुम्लाका किसान यतिबेला बगैँचामा उत्पादन भएको स्याउ टिप्न व्यस्त हुने गरेका छन् । स्याउमा परिपक्वता र गुलियोपन भरिएसँगै व्यापारी खरिद गर्न किसानको बगैँचासम्म पुग्ने गरेको तातोपानी गाउँपालिका–४ का स्याउ किसान सत्यदेवी पाण्डेले जानकारी दिए ।
‘पाकेको स्याउ किन्न किसानको बगैँचामा पुगेर खरिद गरेका छौँ’, स्थानीय स्याउ व्यापारी तुल तिरुवाले भने, ‘स्याउको गुणस्तरीयता हेरेर मूल्य निर्धारण गरिएको छ ।’ उनका अनुसार अहिले किसानको बगैँचाबाट प्रतिकेजी रू ५० मा स्याउ खरिद गर्ने गरिएको छ । करिब ७० क्विन्टल स्याउ खरिद गरी सुर्खेत बिक्री गर्न लगिएको तिरुवाको भनाइ थियो ।

स्थानीय र गोल्डेन जातका स्याउ लगाएका र घरमै प्रतिकेजी रू ५० मा बिक्री सुरु गरेका किसान गोरीकला रोकायाले बताईन् ।
जिल्लाका किसानदेखि उद्यमी तथा समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । गोल्डेन जातको स्याउ असोजदेखि राम्रोसँग पाक्ने हुँदा अहिले दुवै जातका स्याउ मिलाएर व्यापारीले लिने गरेको यहाँका किसान बताउँछन् ।

जिल्लामा कति प्रतिशत स्याउ उत्पादन भयो, कति प्रतिशत बाहिर निर्यात भयोलगायत विवरण सङ्कलन गर्ने जिम्मा नाग्म प्रहरी चौकीलाई दिइएको कार्यालयका निमित्त कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिए । उनका अनुसार भदौको अन्तिम सातामा जिल्लामा कूल उत्पादन भएको र निर्यात गरिएको तथ्याङ्क सार्वजनिक गरिने छ ।

परियोजना कार्यान्वयन एकाइका अनुसार जिल्लामा करिब १६ हजार घरधुरी स्याउ खेतीमै निर्भर रहेका छन् । चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती हुने गरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

जुम्लामा यस वर्ष स्याउको उत्पादन घट्ने अनुमान

माईक्रोको भाडा बढ्यो

जुम्लामा यस वर्ष स्याउको उत्पादन घट्ने अनुमान

सुर्खेत बाणिज्य संघमा मनोनित दुई जनाले सपथ

Leave a comment

Your email address will not be published. Required fields are marked *