एउटै जिल्लाबाट प्रत्यक्षमा चुनाव जितेर सांसद बने श्रीमान–श्रीमती

काठमाडौं,१३ मंसिर ।
नेकपा (एमाले) बाट एक दम्पती नै प्रत्यक्षमा चुनाव जितेर प्रतिनिधि सभामा सांसद चुनिएका छन्। एमाले सचिव रघुवीर महासेठ र एमालेकी केन्द्रीय सदस्य जुली महतोको दम्पती एकै जिल्लाबाट प्रत्यक्षमा चुनाव जितेर सांसद चुनिएको हो।
जुलीले धनुषा ३ मा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई ९६६९ मतान्तरले पराजित गरेकी हुन्। जुलीले ३३ हजार ३ सय ५५ मत पाइन् भने अनिल झाले २३ हजार ६ सय ८६ मत ल्याए।
समानुपातिकतर्फबाट दुई पटक सांसद भइसकेकी जुली पहिलो पटक प्रत्यक्षमा निर्वाचित भएकी हुन्। उनका श्रीमान् रघुवीर महासेठले मंगलबार धनुषा क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवारलाई हराउँदै जित हात पारेका हुन्। रघुवीरले कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई हराएका हुन्।
रघुवीरले ३२ हजार दुई सय ३६ मत ल्याएका छन् भने कांग्रेस सहमहामन्त्रीसमेत रहेका महेन्द्रले ३२ हजार एक सय १२ मत पाएका छन् । २०७४ को चुनावमा पनि यो क्षेत्रबाट रघुवीरले महेन्द्रलाई हराएका थिए। रघुवीर र जुली दुबै जना यसअघि मन्त्री भइसकेका छन्।
जुलीका दाजु वीरेन्द्र महतो पनि यसपालिको चुनावमा विजयी भएका छन्। जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका उनले सिराहा–४ बाट जित हात पारेका छन्। यसपालिको चुनावमा नेकपा (माओवादी केन्द्र) बाट उपमहासचिव वर्षमान पुन र उनकी पत्नी पूर्वसभामुख ओनसरी घर्ती पनि प्रत्यक्षमा चुनाव लडेका थिए। वर्षमानले रोल्पाबाट चुनाव जित्दा ओनसरी काठमाडौं–२ मा पराजित भएकी छन्।
सेतोपाटी






