भारतसँग आयरल्यान्ड ४ रनले पराजित

काठमाडौं, १५ असार ।
भारतले दोस्रो तथा अन्तिम टी–२० क्रिकेटमा आयरल्यान्डलाई चार रनले हराएको छ। योसँगै हार्दिक पान्ड्याको कप्तानीमा रहेको भारतले दुई खेलको सिरिजमा क्लिनस्विप गरेको छ । जितका लागि २ सय २६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २१ रन मात्र बनायो ।
उसका लागि कप्तान एन्ड्री बलबर्नीले सर्वाधिक ६० रनको अर्धशतकीय पारी खेले। यस्तै पउल स्टर्लिङ ४० र ह्यारी टेक्टर ३९ रनमा आउट भए । जर्ज डोकरेल ३४ तथा मार्क आदिर २३ रनमा अविजित रहे पनि टोलीलाई जिताउन सकेनन् । भारतका भुवनेश्वर कुमार, हर्षल पटेल, रवि विश्रोई र उमरान मकिलले समान एक–एक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय २५ रन बनाएको थियो । भारतका लागि दीपक हुडाले सतकीय इनिङ्स खेले। टी–२० मा सुरेश रैना, रोहित शर्मा र लोकेश राहुलपछि शतक प्रहार गर्ने हुडा भारतका चौथो खेलाडी हुन्। उनले ५७ बलमा ६ छक्का र ९ चौकासहित १०४ रन बनाए ।
यस्तै सञ्जु स्यामसन ७७ रन बनाउँदा सूर्यकुमार यादवले १५ रन जोड्दा हार्दिक पाण्ड्या १३ रनमा अभिजित रहे। दीनेश कार्तिक, हर्षल पटेल र अक्षर पटेलले खाता खोल्न सकेनन् । आयरल्यान्डका लागि मार्क आदिरले ३ तथा जोश लिटिल र क्रेग याङ्गले समान २–२ विकेट लिए । यसअघि पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो ।
स्रोत : सेतोपाटी






