पुस्तक नपुगेपछि वैकल्पिक विधिबाट पठनपाठन

हुम्ला , १५ असार ।
पाठ्य पुस्तक समयमा नपुगेपछि माथिल्लो हुम्लाका विद्यालयहरुमा शिक्षक र विद्यार्थीहरु वैकल्पिक बिधिबाट पाठनपाठन गर्न बाध्य भएका छन् । विद्यालय सञ्चालन भएको डेढ महिना पुग्दासम्म पुस्तक आई नपुगेपछि विद्यालयहरुले पढाइ सुचारु राख्न वैकल्पिक विधि अपनाएका हुन् ।
सिमकोट गाउँपालिकाको मानसरोवर माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले इन्टरनेट चलाउने शिक्षकहरुले पाठ्यक्रमबाट कक्षा अनुुसारका विषयवस्तु डाउनलोड गरेर पढाइ सुचारु रहेको बताए । यसरी डाउनलोड गरिएको पाठको विषयवस्तुलाई शिक्षकले ह्वाइट बोर्डमा लेख्ने र विद्यार्थीहरुले सार्ने कार्य गर्दै आएका छन् ।

यसैगरी गृहकार्य पनि बोर्डमा लेखेर दिने गरिएको छ । उनले हालसम्म पुस्तक विद्यालयमा नपुगेपछि पढाइ सुरु भएयता यसरी नै विद्यालयमा पठन पाठन हुने गरेको बताए । विद्यालयमा हालसम्म एक जना विद्यार्थीको हातमा पनि पुस्तक पुगेको छैन् । यता सिमकोटकै कैलाश मावि डाँडाफयाका प्रधानाध्यापक मेज बुढाले पनि आफ्नो विद्यालयमा यसरी नै पठनपाठन भइरहेको बताए ।
उनले विशेष गरी चार, सात र नौ कक्षाहरुमा यसरी शिक्षकहरुले पठनपाठन गरिरहेको बताए । उनले कक्षा पाँचसम्म भने पुराना पुस्तकबाट नै पढाइ सुचारु राखिएको बताए ।यता बालमन्दिर माविमा पनि शिक्षकहरु वैकल्पिक विधि अपनाएर नै पठन पाठन गर्दै आउका छन् । यी तीनवटै विद्यालयमा हालसम्म पुस्तक पुगेको छैन ।
विद्यालयहरु आफ्नै स्रोतबाट इन्टरनेटको व्यवस्था गर्नुपरेको छ । सिमकोट गाउँपालिकामा २५ वटा मावि र आधारभूत विद्यालयहरु छन् ।यता नाम्खा गाउँपालिकाका १६ वटा विद्यालयमा पनि इन्टरनेट पहुँच भएका विद्यालयहरुले माथिकै विधि अपनाएको बुद्ध आधारभूत विद्यालयमा प्रधानाध्यापक धर्मानन्द लामाले बताए । उनका अनुसार आधारभूत विद्यालयमा भने पुराना सीमित पुस्तकबाट पढाइ सुचारु भरहेको छ ।
स्रोत : गोरखापत्र






