रुख ढलेर बस र स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु

काठमाडौं,८ साउन ।
भक्तपुर नगरपालिका–१ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा ६१ च नम्बरको स्कुटरलाई च्याप्दा तीनजनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिए । साथै, १५ जना घाइते भएका छन् ।

घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा अस्पताल र भक्तपर अन्तर्राष्ट्रिय अस्पताल उपचार भइरहेको प्रजिअ शर्माले जानकारी दिए । मृृत्यु भएका तीनमध्ये एक जनाको सनाखत भएको शर्माले जानकारी दिएका छ । मृतक २५ वर्षीय विशेष खर्वुजाको सनाखत भएको हो । अन्य दुई जनाको सनाखत हुन बाँकी छन् ।

घटनाबारे गृहमन्त्री बालकृष्ण खाणले प्रजिअ शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुलाई घाइतेहरुको यथाशीघ्र उपचारको व्यवस्था गर्न निर्देशन दिए । गृहमन्त्री खाणले ढलेका रुख र च्यापिएका सवारी हटाएर सडक सुचारु गर्न पनि निर्देशन दिएका छन् । अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ । सल्लाको ठूलो रुख ढलेकाले हटाउन केही समय लाग्ने प्रजिअ शर्माले बताए ।






