बालबालिकालाई फाइजर खोप लगाईदै

सुर्खेत, ७ असार
सुर्खेतमा ११ वर्ष कम उमेर समुहका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ । यही असार ९ गतेदेखि १५ गतेसम्म सुर्खेतका पाँच वर्षदेखि ११ वर्ष मुनिका बालबालिकालाई कोभिड–१९ विरुद्वको फाइजर खोप लगाइने भएको हो ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार जिल्लाका ५ वर्षदेखि ११ बर्ष मुनिका ४९ हजार ६१९ जना बालबालिकालाई फाइजर खोप लगाइनेछ । कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमले भने, ‘यसका लागि जिल्लाका सवै स्वास्थ्यकर्मीहरुलाई तालिम पनि दिइसकिएको छ ।
अहिले असार ९ गतेदेखि १५ गतेसम्म विद्यालयमै बालबालिकालाई खोप लगाइनेछ भने छुटेकालाई अन्तिम दिन स्वास्थ्य केन्द्रमा खोप लगाइनेछ ।’

पहिलो खोप लगाएको २१ दिनदेखि २८ दिनपछि दोस्रो मात्राको खोप लगाइने उनले जानकारी दिए । कार्यालयको तथ्यांक अनुसार जिल्लाको कूल जनसंख्या तीन लाख ६१ हजार ८३५ मध्ये ५ वर्षदेखि ११ वर्ष मुनिका बालबालिकाको संख्या ४९ हजार ६ सय १९ रहेको छ । यही संख्यालाई फाइजर खोप लगाइनेछ ।
पालिकामा के छ अवस्था ?
सुर्खेतको चिंगाड गाउँपालिकामा तीन हजार १६ जना, गुर्भाकोट नगरपालिकामा ६ हजार ६ सय ७५ जना, लेकवेशी नगरपालिकामा चार हजार तीन सय ३८ जना, पंचपुरी नगरपालिकामा पाँच हजार चार सय ४७ जना र सिम्ता गाउँपालिकामा चार हजार २४ जना बालबालिकालाई खोप लगाइने कार्यालयले जनाएको छ ।
बराहताल गाउँपाकिलामा चार हजार २४ जना, भेरीगंगा नगरपालिकामा ६ हजार ६९ जना, वीरेन्द्रनगर नगरपालिकामा ११ हजार पाँच सय ५२ जना, चौकुने गाउँपालिकामा चार हजार चार सय ७६ जना बालबालिकालाई फाइजर खोप लगाइनेछ ।
तोकिएको उमेर समूहका बालबालिकाहरुलाई अनिवार्यरुपमा खोप लगाइ रोगविरुद्ध ढुक्क हुन आग्रह गरिएको छ । यता खोप समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले तोकिएको उमेर समूहका बालबालिकालाई खोप लगाउन सम्पूर्ण क्षेत्रले प्रेरित गर्न आग्रह गरेका छन् ।






