कांग्रेस संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापा भिड्ने

काठमाडौँ ,५ पाैष ।
नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । दलको नेताका लागि मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । बुधबार विहान ८ बजेदेखि १० बजेसम्म मतदानको कार्यक्रम छ ।
सभापति देउवा आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार छन् । १४ औँ महाधिवेशनमा देउवासँग सभापतिको प्रत्यासी रहेका नेता शेखर कोइराला नेतृत्वको समूहले पनि महामन्त्री थापालाई सर्वसम्मत उम्मेदवार बनाएको छ ।
नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहले आफैँ उम्मेदवार बन्ने वा कसलाई सघाउने भन्ने यकिन गरेका छैनन् । अनामनगरस्थित एक होटलमा बसेको कोइराला समूहको बैठकमा नेता कोइरालालाई महामन्त्री थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउन प्रस्ताव गरेका छन् ।
बैठकपछि उपसभापति धनराज गुरुङले महामन्त्री थापालाई संसदीय दलको नेताको उम्मेदवार बनाउन सर्वसम्मत निर्णय गरेको बताए । त्यही बैठकमा पुगेका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि बदलिएको परिस्थिति र समयलाई मध्यनजर गर्दै थापालाई संसदीय दलको नेता बनाउन आव्हान गरे ।
‘बदलिएको समय र सोचबमोजिम कांग्रेसलाई रूपान्तरणको बाटोमा लैजाने खुड्किलोका रूपमा महसुस गर्नुभएको छ भन्ने लागेको छ,’ महामन्त्री शर्माले भने, ‘आशा राखौँ, उम्मेदवारी दर्ताको क्षणसम्म पुग्दा सभापति शेरबहादुर देउवाले पनि शेखर कोइरालाले झैँ वैकल्पिक कुनै नेतृत्वको नाम प्रस्तावित गर्नुहुनेछ । स्वस्थ लोकतान्त्रिक अभ्यासपछि हामी एकढिक्का उभिएर अघि बढ्नेछौँ ।’
महामन्त्री थापाले चुनाव अगावै संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए । तर, चुनावपछि भने कोइराला आफैँलाई उम्मेदवार बन्न समूहभित्रै दबाब सिर्जना भएको थियो । लामो छलफलपछि कोइरालाले नै थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेका छन् ।
अब संसदीय दलको नेतामा सभापति देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा हुने भएको छ । पाँचौ पटक सभापति रहेका देउवा छैटौँ पटक प्रधानमन्त्री बन्न पार्टीको संसदीय दलको नेताको चुनाव लड्दैछन् । महामन्त्री थापा भने पहिलो पटक संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दैछन् । ४६ वर्षे थापा देउवाभन्दा ३० वर्ष कान्छा छन् ।
महाधिवेशनमा पुस्तान्तरण र रुपान्तरणको पक्षमा जनमत लिएर लोकप्रिय मतसहित महामन्त्री बनेका थापाले छ महिनाअघि देखि नै मुलुकको कार्यकारी प्रधानमन्त्री भएर गर्नुपर्ने कामबारे छलफल, परामर्श र पूर्वतयारी गरेका छन् । देउवा र थापाबीचको प्रतिस्पर्धाले पार्टी र राष्ट्रिय राजनीतिमा परिवर्तन चाहने र परिवर्तन नचाहनेहरूको ध्रबीकरण हुने देखिएको छ ।
संसदीय दलको नेता चयनमा कांग्रेसबाट निर्वाचित भएका सांसदहरू मतदाता हुन्छन् । यसपटक ८९ जना सांसद छन् । संसदीय दलको विधानबमोजिम निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही सरकारको प्रधानमन्त्री बन्ने अभ्यास छ ।
कान्तिपुर




