रुकुम पश्चिममा विद्युत सर्ट भएर आगलागी

मंसिर,३ रुकुम पश्चिम ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ८ पूर्ण गाउँस्थित एक घरमा विद्युत लाइन सर्ट हुँदा आगलागी भएको छ । आगलागीबाट नगदसहित २५ लाख रुपैयाँ बराबरको क्षति भएको पीडितहरूले दाबी गरेका छन् ।
शुक्रबार दिउँसो पहलसिङ खड्काको घरमा विद्युत लाइन सर्ट भई नगद २ लाख रुपैयाँसहित सामानहरू नष्ट हुँदा २५ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ । आगलागीपछि नजिकै मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मी, स्थानीय र स्थानीय जनप्रतिनिधिहरूले आगो निभाएका थिए ।
उद्धारमा खटिएकाहरूको प्रारम्भिक अनुसन्धानका आधारमा २५ लाख रुपैयाँ बराबर क्षति भएको जनाएको वडाध्यक्ष नन्दराम खड्को बताए । उनका अनुसार खड्काको ढुंगाको छानाले निर्माण गरेको दुईतले घरमा पूर्ण रुपमा क्षति भएको छ ।
घरभित्र रहेका लत्ता कपडा, खाद्यान्न, दराज, टिभी, गहना, २ लाख रुपैयाँ नगद लगायत घरभित्रका सम्पूर्ण सामान जलेर नष्ट भएको वडा अध्यक्ष खड्काले जानकारी दिए । दिउँसोको समयमा घरपरिवार घर बाहिर भएका बेला विद्युत सर्ट भएर घरमा आगलागी भएको थियो । घटनाबारे थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
कान्तिपुर




