लोकसेवाले समय सुहाउँदो जनशक्ति छनोट गर्नु अत्यावश्यक ः राष्ट्रपति

काठमाडौं, १ असार
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकले क्रमशः आर्थिक रुपान्तरण र उन्नतिको फड्को मारिरहेको भन्दै लोकसेवा आयोगले त्यस्तै परिस्थिति सुहाउँदो जनशक्ति छनोट गर्न आवश्यक रहेको बताएकी छन् ।
आयोगको ७२ औँ वार्षिकोत्सव समारोहमा राष्ट्रपति भण्डारीले आयोगले निजामती सेवामा मुलुकको परिस्थिति अनुरुपको जनशक्ति छनोट गर्नु अत्यावश्यक हुने बताइन् । राष्ट्रपति भण्डारीले आयोगले निष्पक्ष, पारदर्शी र विश्वासनीयता कायम गरी सेवा प्रदान गर्न सफल भएको भन्दै प्रशंसा गरिन् ।
‘आयोगले संघीय सरकारी सेवा र संगठित संस्थाका कर्मचारी व्यवस्थापनमा भूमिका खेलेको छ । सार्वजनिक सेवाको क्षेत्रमा प्रतिभाशाली र दक्ष जनशक्ति प्रवाहित गर्ने काम गरेको छ.,’ उनले भनिन्, ‘चुलिँदो जनअपेक्षालाई सम्बोधन गर्न आयोगको सेवालाई अनलाइनमार्फत् उपलब्ध गराउने प्राविधिक संरचनाको स्तरोन्नति गर्दै अनलाइन सेवालाई नागरिक एपसँग जोड्ने कार्य भइरहेको सुन्दा खुसी लागेको छ ।
म यो अवसरमा आयोगले नागरिकलाई प्रदान गर्ने सेवा थप सहज र सरल हुने अपेक्षा राख्दछु ।’ सोत ः कान्तिपुर





