पेट्रोलियम पदार्थको अभाव : ६० हजार लिटर पेट्रोल सुर्खेत आईपुग्यो

पुनम वि.सी.
सुर्खेत, १ असार ।
केहि दिनयता सुर्खेतमा पेट्रोलियम पदार्थको अभावका कारण नागरिकमा त्रासको वातावरण सृजना भएको छ । एकातिर पेट्रोलियम पदार्थको बढ्दो मुल्य, अर्कातिर बजारमा यसको अभावले नागरिकमा त्रासको भावना सृजना गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर–१० निवासी अटो चालक प्रेम थापाले भने, ‘पेट्रोल नपाएपछि हाम्रो रोजगारीमा नै समस्या भएको छ । आज दिनभरी लाईन लागेर १० लिटर पेट्रोल हालेको छु । के भर कुन दिनबाट पेट्रोल नै पाउन छाड्ने हो ।’

केहि दिन पहिलेदेखि सुर्खेतमा पेट्रोलको अभाव हुन थालेपछि यसको सोझो असर यातायात व्यवसायीहरुमा परेको छ । सुर्खेतमा सञ्चालनमा रहेका अटो रिक्सा लगायतका सवारी साधन पेट्रोल अभावका कारण सडकमा थोरै मात्रामा चल्न थालेका छन् ।

अटो चालक थापाले भने झै सोमबारदेखि सुर्खेतका पेट्रोल पम्पहरुमा पेट्रोल भर्नेहरुको लाईन लाग्न थालेको थियो । पेट्रोल अभाव हुनसक्ने आशंकामा नागरिकहरु पेट्रोल पम्पमार्फत आवश्यकता भन्दा पनि धेरै पेट्रोल भर्न थालेका छन् ।

‘अहिले वीरेन्द्रनगरका केहि पम्पहरुमा तेल भर्नेहरुको लाईन छ । पेट्रोल अभावका समयमा पेट्रोल पम्पले तेल वितरण थालेपछि अटो रिक्साहरुको लाईन धेरै देखिएको हो’, अर्का अटो व्यवसायी निलकुमार तामाङले भने, ‘के भएको हो खै, दिनभरी लाइन लागेर पेट्रोल भर्नुपर्छ ।’

फोटो क्याप्सनः वीरेन्द्रनगर स्थित भुवनेश्वरी आयल स्टोरमा पेट्रोलका लागि लाईनवद्व सवारीसाधन । तस्विरः विपी आचार्य/सुर्खेत

‘अटोको व्यवसाय हो, पेट्रोल पम्पमा छिनछिनमा गई लाइन लाग्न सकिएको छैन । त्यसैले १० लिटर अटोमा र २० लिटर जर्किनमा पनि भरेर राखेको छु । के गर्नु अटो कुदाउनै प¥र्यो’ उनले भने । केहि दिन यता कर्णाली प्रदेश भर पेट्रोलियम पदार्थको अभाव देखिएको थियो । खासगरी सुर्खेतका सबै पेट्रोल पम्पहरुले आवश्यकताको आधारमा पेट्रोलियम पदार्थ वितरण गर्न सकिरहेका छैनन् । पेट्रोल अभाव भएसँग उपभोक्ताहरु मारमा छन् ।

सुर्खेत लगायत कर्णाली प्रदेशमै पेट्रोलियम पदार्थको अभाव छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव हुँदा उपभोक्ता मारमा परेका छन् । हातहातमा क्यान, बोतल लिएर पेट्रोल पम्पमा जानेको भिड बढेको छ । सोमबार झै मंगलबार पनि वीरेन्द्रनगरका पेट्रोल पम्पहरुमा तेल झर्न थालेपछि तेल हाल्न सवारी साधनको लामै भिड लागेको हो ।

कर्णालीका पम्पहरुमा मंगलबारदेखि पेट्रोलको हाहाकार कम हुदै गएको नेपाल आयल निगमको कर्णाली प्रादेशिक कार्यालय प्रमुख राजकुमार केसी बताउँछन् । उनले भने ‘सोमबार मात्र सुर्खेतका चार हजार लिटर पेट्रोल झरेको छ । मंगलबार साँझसम्म भने थप पेट्रोल सुर्खेत झर्छ ।’

सुर्खेतका लागि भनेरै ६० हजार लिटर पेट्रोल आईसकेको छ । केसीले भने, ‘यहाँ ६० हजार लिटर पेट्रोल आईपुगेको छ । यो पेट्रालले मात्र तीन दिनसम्म पुग्छ ।’ अन्य सामान्य दिनमा झै आवश्यकता भन्दा पनि बढी मात्रामा पेट्रोल भर्नेहरुको संख्या रहेकाले हालका दिनमा सुर्खेतमा पेट्रोल खपत बढेको देखिएको उनले बताए ।

उनले भने, ‘अन्य दिनमा भन्दा अहिले पेट्रोलको अभाव हुनसक्ने सम्भावना लिएर आवश्यकता भन्दा बढी मात्रामा पेट्रोल भर्नेहरुको संख्या धेरै छ । सुर्खेतमा मंगलबार साझ पेट्रोल आईपुगेको छ । अभावको डरले भरेर राख्न पर्दैन ।’

भन्सारका कारण पेट्रोल आपूर्तिमा ढिलाई
नेपाल आयल निगमको कर्णाली प्रादेशिक कार्यालयका प्रमुख केसीले भारतीय भन्सारका कारण कर्णालीमा पेट्रोल आउन केहि लागेका कारण यहाँ अभावको वातावरण सृजना भएको बताउँछन् । भातीय भन्सारमा विद्युतिय प्रणाली परिवर्तन भएका कारण पेट्रोल बोकेका ट्ंयाङकरहरुलाई नेपाल प्रवेश गर्न ढिलाई भएको हो ।

‘भारतीय भन्सारमा विद्युतिय सिष्टम परिवर्तन भएको थियो । भन्सारमा विद्युतिय सिष्टम परिवर्तन भएका कारण पेट्रोलियम पदार्थ बोकेका टं्याङकरहरु नेपाल प्रवेश गर्न समय लागेको हो’, उनले भने, ‘इन्धन बोकेको नेपाल आउने ट्याङकरहरु प्रक्रियागत कार्यका लागि केहि दिन नाकामै रोकिँए, यता नेपालमा भएको तेल अभाव खपत बढ्यो अनि अभाव झै देखिन थाल्यो ।’

भारतीय नाकामा पाँच लाख लिटर पेट्रोल रोकिएको छ । त्यसैगरी १२ लाख लिटर डिजल समेत रोकिएको छ । उनले भने, ‘नाकामा सुर्खेत आउने पाँच लाख लिटर पेट्रोल र १२ लाख लिटर डिजेल रोकिएको छ ।’

भारतीय भन्सारमा विद्युतीय प्रणाली परिवर्तन गरेकाले कोर्डमा समस्यामा आउँदा नेपाल आउने इन्धन बोकेका गाडी नाकामै रोकिँएका थिए । मंगलबारसम्ममा सुर्खेत आएको तेलले यहाँ अझै तीन दिनसम्म बाड्न पनि मिल्छ ।

सो समयमा अझै धेरै मात्रामा पेट्रोलियम पदार्थ कर्णाली भित्रिसक्ने भएकाले नागरिकलाई नआत्तिन उनले अनुरोध गरे । यसका साथै सुर्खेतमा प्रशस्त मात्रामा डिजल लगातयतका पेट्रोलियम पदार्थ उपलब्ध रहेको उनले जानकारी दिए ।

नेपाल आयल निगमका अनुसार सुर्खेतका लागि पेट्रोलको उपभोक्ता मुल्य प्रति लिटर एक सय ७८ रुपैयाँ छ । त्यसैगरी डिजलप्रति लिटर एक सय ६५ रुपैयाँ र मट्टितेल प्रति लिटर एक सय ६५ रुपैयाँ रहेको छ ।

एविएशन फ्युल ड्युटीफ्रीप्रति लिटर एक हजार पाँच सय ४५ र एविएशन फ्युल जेट एक सय ६६ अमेरिकी डलर रहेको नेपाल आयल निगमले जनाएको छ ।सुर्खेतमा एलपी ग्यासको उपभोक्ता मुल्य प्रति सिलिण्डर एक हजार आठ सय रुपैयाँ रहेको छ ।

पेट्रोलियम पदार्थको उपभोक्ता मुल्य
क्र.सं. विवरण ईकाई उपभोक्ता मुल्य
१ पेट्रोल प्रति लिटर रु. १७६।००
२ मट्टीतेल प्रति लिटर रु. १६५।००
३ डिजल प्रति लिटर रु. १६५।००
४ एविएशन फ्युल ड्युटीफ्री लिटर रु. १,५४५।००
५ एलपी ग्यास प्रति सिलिण्डर रु. १,८००।००

पेट्रोलियम पदार्थको अभाव : ६० हजार लिटर पेट्रोल सुर्खेत आईपुग्यो

करणको पाँच विकेट र दुवै ओपनरले अर्धशतक

Leave a comment

Your email address will not be published. Required fields are marked *