‘अभिभावक जागरुक भए सरकारी स्कुल सुध्रिन्छन्’

टोपबहादुर खत्री/शिक्षक
लक्ष्मी प्राथमिक विद्यालय सिम्ता, सुर्खेत
पेशाले टोपबहादुर खत्रीले शिक्षक हुन् । करिव ३५ बर्षदेखि उनी शिक्षण पेशामा आबद्ध छन् । उनले विगत दुई बर्षदेखि सिम्ता गाउँपालिकामा रहेको लक्ष्मी प्राथमिक विद्यालय पशुनाउलाको नेतृत्व गर्दै आएका छन् ।
एसएलसी पास गर्नेवितिकै उनी शिक्षण पेशामा लागेका थिए । प्रस्तुत छ, उनै खत्रीको जीवन भोगाइ र शिक्षण पेशामा रहँदाका अनुभवममा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश :
बाल्यकालमा गोठालो
वि.सं. २०२० माघ १८ गते सिम्ता गाउँपालिकाको वडा नं. ९ खानीखोलामा टोपबहादुरको जन्म भएको हो । सामान्य कृषक परिवारमा हुर्किएका उनले बाल्यकालदेखि नै संघर्ष गरे । बुवाले बाजेको अंश नलिएका कारण घरखर्च चलाउन मुस्किल थियो ।
जसले गर्दा बुवाआमासँगै उनले पनि बढी नै संघर्ष गरे । मेलापात र गोठालो भएर वुवाआमालाई सघाए । ‘बुवाले लेकमा गाईभैंसी पाल्नुहुन्थ्यो, फुसर्द भयो कि गोठालो जानैपथ्र्याे’ उनी भन्छन्, ‘बाल्यकाल त गाई गोठालोमै वित्यो ।’ गाईभैसी पाल्ने ठाउँ घरभन्दा टाढा थियो । सानो छँदा बुवाको साथी बन्न गोठमा जान्थे ।
ठूलो भएपछि तिनै गाईभैसीको गोठालो बने । ऊबेला गाईभैंसीको घ्यू बेचेको पैसाले घरखर्च चलाउनुपथ्र्याे । धेरै गाईभैसी भएका व्यक्तिहरु समाजमा धनी हुन्थे । पढ्ने उमेरमा पनि मेलापात गरे । कक्षा ५ देखि विद्यालयको दुरी घरभन्दा निकै टाढा थियो । त्यसपछि मेलापात छुट् यो ।
कृषि जेटीए बन्न चाहान्थे
टोपबहादुरले गाउँकै लक्ष्मी प्राथमिक विद्यालय पशुनाउलाबाट पढाइ सुरु गरे । त्यहाँ उनले कखरादेखि कक्षा ३ सम्म मात्रै अध्ययन गरे । त्योबेला पशुनाउलामा कक्षा ३ भन्दा माथिको पढाइ हुन्थेन् । जसले गर्दा गाउँका अधिकांशले कक्षा ३ सम्म मात्रै पढे ।
टोपबहादुर जहाँ पुगेर भए पनि पढ्न चाहान्थे । ऊबेला माथिल्लो तह पढाइ हुने विद्यालयहरु थिएनन् । उनी पढ् नका लागि चोल्पा पुगे । आफन्तकोमा बसेर हिमालय माध्यमिक विद्यालयबाट कक्षा ४ देखि ७ सम्मको पढाइ पुरा गरे । त्यसपछि उनी गुमी झरे ।
आनन्द व्यवसायीक विद्यालयबाट कक्षा ८ देखि एसएसीसम्म अध्ययन गरे । गुमीबाटै एसएलसी पास गरे । पहिलो पटकको एसएलसीमा उनी सफल भएनन् । अंग्रेजी विषयमा कमजोर थिए र गणितमा अब्बल थिए । तर एसएलसीमा सामाजिक विषय पनि राम्रो भएन ।
अंग्रेजी र सामाजिकमा पास अंक आएन । ऊबेला पुरक परीक्षा दिने सुविधा पनि थिएन । उनले दोस्रो प्रयासमा एसएलसी पास गरे । माध्यमिक तहमा बाली विज्ञान विषय अध्ययन गरेका उनी कृषि जेटीए बन्न चाहन्थे । तर आर्थिक अभावका कारण एसएलसीभन्दा माथिल्लो तहमा पढ्न पाएनन् ।
एसएलसी पासपछि जागिर
आजभन्दा चार दशक पहिले शिक्षक हुन सजिलो थियो । एसएलसी पास गरेका व्यक्तिलाई शिक्षक बन्न अप्ठेरो थिएन । ऊबेला शिक्षक लाइसेन्स पनि आवश्यक पर्थेन । यहीकारण टोपबहादुरले एसएलसी पास गर्नेवित्तिकै शिक्षकको जागिर पाए ।
२०४३ भदौं १० गतेदेखि चिङ्गाडको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय रहकुलमा पढाउन थाले । सुरुमा अस्थायी शिक्षक उनी करिव दुई बर्षपछि स्थायी भए । करिव पाँच बर्ष सोही विद्यालयमा पढाए । ०४८ साल माघमा चिङ्गाडकै नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा च्यारकुले सरुवा भए । त्यहाँ करिव १७ बर्ष पढाए ।
२०६५ फागुनमा सिम्ताको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय खान्ममा सरुवा भए । त्यहाँ पनि करिव ११ बर्ष अध्ययन गराए । २०७६ देखि उनी गाउँकै लक्ष्मी प्राथमिक विद्यालय पशुनाउलामा कार्यरत छन् । पशुनाउलाको उनी प्राधानाध्यापक समेत हुन् । शिक्षण पेशामा ३५ बर्ष कटाइ सकेका छन् ।
अभिभावक नै जागरुक हुनुपर्छ
सामुदायिक विद्यालयमा राज्यको बर्षेनि करोडौं रकम खर्च हुन्छ । शिक्षकलाई तलवदेखि विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक दिएको छ । शैक्षिक सामग्री र विद्यालयको भवन निर्माणका पनि करोडौं रकम खर्च गरेका छ । तर सामुदायिक विद्याललयको शैक्षिक गुणस्तर निकै कमजोर छ ।
शहरकाभन्दा गाउँका सामुदायिक विद्यालयको अवस्था निकै दयनीय छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार नहुनुमा भने अभिभावक र सरकारलाई दोषी देख्छन् । ‘सामुदायिक विद्यालयमा सरकारले लगानी छ, तर अभिभावकले प्रतिफल खोज्ने आँट गर्दैनन्’ उनी भन्छन्, ‘अभिभावकहरु जागरुक नभएकै कारण सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुले राम्रो गर्न सकेका छैनन् ।’
विद्यालयमा शिक्षक आयो वा आएन ? शिक्षकले कस्तो पढाउँछ ? गृहकार्य दियो कि दिएन ? भनेर निगरानी गरे सामुदायिक विद्यालयको धेरै सुध्रिने उनको आँकलन छ । ‘सामुदायिक विद्यालयमा गरिवका छोराछोरी मात्रै पढुने हो, उनीहरुले गृहकार्य नगरे पनि पुग्छ भन्ने सोचाइ छ’ उनी भन्छन्, ‘जबसम्म अभिभावकहरु छोराछोरीको पढाइप्रति सचेत हुँदैन, तबसम्म सामुदायिक विद्यालयको गुणस्तरमा सुधार आउन सक्दैन ।’
स्कूलमा शिक्षकले जतिसुकै राम्रोसँग पढाए पनि अभिभावकले छोराछोरीलाई घरायसी काममा व्यस्त गराउने, लगानी नभएका कारण फेल भए पनि वास्ता नगर्ने र घरमा छोराछोरीलाई पढ्नका लागि प्रेरित नगरेकै कारण सामुदायिक विद्यालयको गुणस्तर कमजोर भएको उनको भनाइ छ ।







