समयमै महशुल तिर्दैनन् ठूला व्यवसायी र सरकारी कार्यालय

सुर्खेत, ३० चैत ।
सुर्खेतमा विद्युतको महशुल उठाउनै हम्मेहम्मे परेको छ । अधिकांश ग्राहकले समयमै महशुल तिर्दैनन् । ग्राहकले समयमा विद्युतको महशुल नबुझाउँदा बक्यौता रकम मात्रै झण्डै १४ करोड पुगेको छ ।
समयमै महशुल तिर्न आग्रह गरे पनि अधिकांश ग्राहकले महशुल तिर्न अटेर गरेको नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ । समयमै महशुल नतिर्नेमा ठूला व्यवसायीदेखि सरकारी कार्यालयहरु पनि छन् ।
साना ग्राहकले समयमै महशुल बुझाए पनि ठूला व्यवसायी र सरकारी निकायले अटेरी गर्ने गरेका हुन् । ग्राहकले समयमै विद्युतको महशुल भुक्तानी नगर्दा बक्यौता झण्डै १४ करोड अर्थात १३ करोड ९८ लाख २३ हजार रुपैयाँ पुगेको सुर्खेत वितरण केन्द्रका प्रमुख युवराज बस्नेतले जनाए ।
महशुल नबुझाउनेमा औद्योगिक, व्यापारीक, खानेपानी संस्थान, सडक बत्ती र केही सरकारी कार्यालय छन् । उनीहरुलाई महशुल बुझाउन पटक–पटक आग्रह गर्दा पनि अटेरी गरिरहेको वितरण केन्द्रले जनाएको छ ।
वितरण केन्द्रले लगातार दुई महिनासम्म महशुल नबुझाएमा ग्राहकको लाइन काट्न सक्द । तर पनि प्राधिकणले पहिले महशुल तिर्न जानकारी गराउने गरेको छ ।
‘६० दिनभित्र महशुल नबुझाउने ग्राहकको लाइन काट्न सकिन्छ, पहिलो पटक ग्राहकलाई जानकारी गराउँछौँ’ वितरण प्रमुख बस्नेतले भने, ‘तोकिएको समयमित्र महशुल नबुझाएमा उपयुक्त समयमा लाइन काटिन्छ ।’
सडक विद्युतको महशुल मात्रै दुई करोड ८० लाख
सुर्खेतका सडकमा बालिने विद्युतको महशुल मात्रै झण्डै तीन करोड पुगेको छ । उज्यालो सडक र रात्रीकालीन समयमा नागरिकको सुरक्षाका लागि बालिने सडकको विद्युत महशुल मात्रै दुई करोड ८० लाख १६ हजार रुपैयाँ पुगेको छ ।
सडकमा विद्युतको चालु आर्थिक बर्षदेखि विद्युत महशुल उठेको छैन । सडकमा बालिने विद्युतको महशुल स्थानीय तहले तिर्नुपर्ने हुन्छ । तर सुर्खेतका कुनै पनि स्थानीय तहले सडक बत्तिको महशुल नतिरेको सुर्खेत वितरण प्रमुख बस्नेतले बताए । वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकाबाट सडक बत्तिको महशुल उठाउन बाँकी छ ।
स्थानीय तहलाई तत्काल महशुल तिर्न केन्द्रले पत्राचारसमेत गरेको छ । तर स्थानीय तहले सडक बत्तिको लागि बजेट नै बिनियोजन नगरेको जनाएका छन् । आगामी कार्यपालिका बैठकबाट बजेट छुट्याएर महशुल तिर्ने स्थानीय तहले जनाएका छन् ।
लाइट काट्नुपर्ने समय गुज्रिए पनि स्थानीय तहको आग्रहका कारण सडक बत्तिको लाइन नकाटिएको वितरण केन्द्रले जनाएको छ । सडक उज्यालोका लागि कतै मिटर नै जडान गरेर त कतै निश्चित रकम तिर्ने शर्तमा सडक बत्ति जडान गरिएका छन् । सडक बत्तिले सडकमा हिँड्ने नागरिकलाई सुरक्षित बनाए पनि स्थानीय सरकारलाई भने आर्थिक भार बढाएको छ ।
लाइन काटेर ५० लाख बक्यौता असुली
लामो समयसम्म महशुल नतिरेपछि दुई सय १७ जना ग्राहकको लाइन काटिएको छ । चालु आर्थिक बर्षको साउनदेखि हालसम्म ति ग्राहकको लाइन काटिएको हो ।
महशुल बुझाउन बारम्बार आग्रह गरेको थियो । तर अटेरी गरेपछि लाइट काटेर जरिवानासहित बक्यौता असुल गरेको नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले जनाएको छ ।
लाइन काटिएका ग्राहकबाट कुल ५० लाख १८ हजार सातसय रुपैयाँ महशुल असुल गरिएको वितरण प्रमुख बस्नेतले जानकारी दिए । पछिल्लो समय वितरण केन्द्रले महशुल नबुझाउने ग्राहकको लाइन काट्ने अभियान नै सञ्चालन गरेको छ ।
अभियान सञ्चालन गरेर ५० लाख बढी बक्यौता असुल गरेको हो । अहिले पनि महशुल नबुझाउने ग्राहकको लाइन काट्नेक्रम जारी राखेको छ । विद्युत बक्यौता बढ्दै गएपछि लाइन काटेर जरिवानासहितको महशुल असुल्ने अभियान चलाइएको हो । सुर्खेत वितरण केन्द्र केन्द्र अहिले ५६ हजार चारसय ३६ ग्राहक छन् ।






