अल्पमतमा परेपछि काँग्रेस सल्यानका सभापति बैठकबाटै भागे

दुर्गा विसी
सल्यान, ३० चैत्र ।
नेपाली कांग्रेस सल्यानको विवाद चर्म उत्कर्षमा पुगेको छ । आन्तरिक विवाद सहतमै छताछुल्ल भएको छ । आइतबार र सोमबार बसेको कांग्रेस सल्यानको जिल्ला समिति बैठकमा सभापति अल्पमतमा परेपछि विवादले उग्ररुप लिएको छ । पार्टी कार्यालयमा वसेको जिल्ला कमिटी बैठकलाई प्रहरीले सुरक्षा दिएको थियो ।
स्थानीय तहको निर्वाचनका लागि गठन गरिने संसदीय समिति अल्पमतका कारण सभापति केश बहादुर विष्टले उक्त समिति गठन गर्न सकेका छैनन् । बैठकमा सभापति विष्ट बाहेकका सबै पदाधिकारी सहित ३३ जना सदस्यहरु एकातिर भएपछि सभापति विष्ट अल्पमतमा परेका हुन् ।उनका पक्षमा ११ जना मात्रै देखिए ।
विष्टले बैठकलाइ संचालन नगरेरै भागेको सचिव प्रकाश भण्डारीले बताए । सभापति बैठकबाट बाहिरिएपछि सोमबार अन्य पदाधिकारीहरुले पत्रकार सम्मेलन गरेका हुन् ।
यसरी सभापति विष्टको विपक्षमा उभिनेहरुमा उपसभापतिद्वय चक्र देवकोटा र सन्तोष केसी, सचिवद्वय प्रकाश भण्डारी र एकराज बुढाथोकी, सहसचिवद्वय जनकराज गौतम र पदम बुढाथोकी रहेका छन् ।
स्थानीय तहको उम्मेदवारहरुको टुंगो लगाउन कांग्रेसमा जिल्ला स्तरिय संसदीय समितिको आवश्यकता पर्दछ । ८ जना पदाधिकारी र ५ जना जिल्ला सदस्यहरु गरि कुल १३ जनाको संसदीय समिति हुन्छ । कांग्रेस सल्यानमा अहिले कोषाध्यक्ष बाहेक ७ जना पदाधिकारी छन् । अब एक जना कोषाध्यक्ष मनोनित गर्नु पर्ने हुन्छ भने ५ जना सदस्यहरुबाट छनोट गरेर १३ जनाको संसदीय समिति बनाउनु पर्छ ।
बैठकमा सदस्यहरुको नाम सभापतिले प्रस्तुत गर्ने र बहुमतले पास गर्नुपर्ने विधानमा रहेको छ । तर सभापति केश बहादुर विष्ट अल्पमतमा रहेपछि सदस्यहरुको नाम पेश गर्न नसकेरै भागेको पदाधिकारीहरुको भनाइ छ ।
पदाधिकारीहरुले हाल पालिकामा रहेका जनप्रतिनिधिहरुलाइ नदोहोर्याउनुपर्नेमा छन् । तर सभापतिले तिनै जनप्रतिनिधिलाइ दोहोर्याउने संकेत गरेपछि संसदीय समिति गठनमा हानथाप भएको देखिन्छ ।
बहुमत सदस्यहरुले आफु इतरको संसदीय समिति गठन गर्नेमा छन् भने सभापतिले आफु इतरको संसदीय समिति गठन गर्न खोजेपनि बहुमत नहुँदा बैठकमा सहभागी हुन सकेका छैनन् ।







