त्रिविका परीक्षामा लापरबाहीः छानबिन गर्न बन्यो उच्चस्तरीय समिति

काठमाडौं,२७ असार ।
त्रिभुवन विश्वविद्यालयका एकपछि अर्को परीक्षामा लापरबाही देखिएको छ । प्रश्नपत्र गत वर्षकै हुबहु यसवर्ष पनि निकाल्ने र निजी कलेजका प्रि–बोर्डका प्रश्नपत्रसँग मिल्ने प्रश्नपत्र बनाएपछि विद्यार्थीहरूले विरोध गरेका थिए ।
गत असार २२ मा सञ्चालित बिबिए छैटौं सेमेस्टरको एमजिटी २०३ः अर्गनाइजेशन बिहेव्यर र असार २५ मा सञ्चालित एसओसी २०२ः नेपलिज सोसाइटी एण्ड पोलिटिक्स विषयका प्रश्नपत्र बनाउँदा गम्भीर लापरबाही गरिएको पाइएको थियो ।

यी प्रश्नपत्र बनाउँदा मर्यादाविपरीत कार्य गरेको पाइएकोले व्यवस्थापन विभाग परीक्षा समितिले प्रश्नपत्र निर्माण कार्यमा संलग्न रहेकाहरूलाई कारबाहीको दायरामा ल्याएको विभागका डिन प्रा.डा. डिल्लीराज शर्माले बताए ।
साथै त्रिविका परीक्षा सञ्चालन र व्यवस्थापनबारे देखिएका समस्या र कमजोरीलाई अध्ययन गरी छानबिन गरिने भएको छ । त्यसका लागि एक उच्चस्तरीय समिति गठन गरिएको डिन शर्माले बताए ।त्रिविका परीक्षामा लापरबाही भएको भन्दै नेविसंघले पदाधिकारीहरूकै राजीनामा माग गरेको थियो ।

स्रोत : सेतोपाटी





