वडा सदस्यहरुको दुखेसो, ‘पाँच बर्षसम्म भूमिका नै पाएनौं’

सुर्खेत, २७ चैत ।
सुर्खेतको गुर्भाकोट नगरपालिकामा वडासदस्य हुन् रुपा विक । युवा व्यक्ति, मिलनसार र केही गर्न सक्ने आँट देखेर नै मतदाताले भोट दिए । केही आशा र भरोसा राखे । सबैभन्दा बढी मत पाएपछि उनलाई पनि केही गर्नुपर्छ भन्ने हुटहुटी चल्यो ।
वडाका नागरिकको सुखदुखमा साथ दिने र अप्ठेरोमा सघाउने गरिन् । बार्षिक नीति तथा कार्यक्रम बनाउँदा आफ्नो गाउँ, आफै बनाउने उद्देश्यले योजना अगाडि ल्याइन् । दुर्भाग्य, उनले ल्याएका योजनाहरु कहिल्यै नगरपालिकाबाट पास भएनन् ।
न विकासका योजनाहरु पाइन्, न जनप्रतिनिधिको भूमिका । जनप्रतिनिधि भएको पाँच बर्ष वित्नै लाग्दा उनको दैनिकी सामान्य नागरिक जस्तै रह्यो । ‘गाउँमा सानोतिनो काम गरौला भनेर धेरैपटक विकासका योजनाहरु मागँे, तर नगरपालिकाले मेरो आवाज नै सुनेन’ उनले दुखेसो पोखिन्, ‘भूमिका नपाएरै कार्यकाल सकिन थालिसक्यो, अबदेखि कहिल्यै पनि चुनाव लड्दिनँ ।’
जनप्रतिनिधि भएर गाउँको विकास गर्ने र नागरिकको सुखदुखमा साथ दिने इच्छा नभएको भने होइन । तर भूमिका नै नहुने सानो पदमा जान उनी अब तयार छैनन् । ‘मबाट पनि जनताले धेरै अपेक्षा गरेका थिए, तर सानो पद भएका कारण केही गर्न सकिनँ’ उनले भनिन्, ‘आउने चुनावमा ठूलो पद पाइदैन होला, सानो पदमा फेरि चुनाव लड्दिनँ ।’
पहिले चुनाव लड्नुपरयो भनेका नेताले गाउँको विकासको लागि सहयोग नगरेको उनको गुनासो छ । सुर्खेतकै सिम्ता गाउँपालिका–६ कि वडासदस्य आइती लुहारले पनि आफू जनप्रतिनिधिको महसुश नै गर्न पाइनन् । ‘अरु हार्दा जनताले मलाइ जिताए’ उनले भनिन्, ‘तर भूमिका नपाउँदा आफैलाई जनप्रतिनिधि जस्तो लागेन ।’
विजयी भएपछि गाउँको विकास निर्माणमा प्रतिबद्ध हुने अठोट कसिन् । वडामा के कसरी विकास गर्न सकिन्छ भनेर अगुवासँग सुझाव मागिन् । तर कार्यापालिकाले उनले माग गरेका योजनाहरु दिएन । ‘ठूला पदमा बस्नेले विकास जति हामीले मात्रै गरेको हो भन्छन्’ उनले भनिन्, ‘आफैले उठाएका योजना परे पनि त्यसको जस अर्कैले लिए ।’
वडाकै विकासे आयोजनामासमेत आफूलाई बाइपास गर्ने गरेको उनको दुखेसो छ । ‘फरक पार्टी भएकै कारण हरेक ठाउँमा मलाइ बाइपास गरियो’ उनी भन्छन्, ‘विकास निर्माणमा ठूला पदमा बस्नेले टेरेनन् ।’ जनताले मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ । रुपा र आइतीमात्रै होइन । वडा सदस्य बनेका अधिकांश जनप्रतिधिको यस्तै दुखेसो छ । वडामा निर्वाचित दलित सदस्य, महिला सदस्य र वडा सदस्यहरुले भूमिका नै पाएनन् ।
राजनीतिक चेतनाको कमी, कमजोर पहुँच र अनुभव नहुँदा उनीहरुले मागेको योजनाहरु कार्यपालिकाबाट पारित भएनन् । वडाका जनप्रतिनिधिले वडा कार्यालयमा कार्यकक्ष नै पाएनन् । विकास निर्माणमा पनि प्रमुख र वडाध्यक्षले जस लिए ।
विकास आयोजनामा उनीहरुलाई सहभागीसमेत गराइएन् । फरक दलका वडाध्यक्ष र प्रमुख भएका पालिकाका वडासदस्यले योजना माग गर्दा पनि पाउन सकेनन् । भूमिका नपाएरै कार्यकाल सकिन लाग्दा उनीहरु पहिलेको जस्तो उत्साह छैन । यहीकारण सानो पदमा बसेका जनप्रतिनिधिहरु पुनः दोहोरिने मनसायमा छैनन् ।
पार्टीले नै खोज्नथाले विकल्प
स्थानीय तहको मिति नजिकिदै जाँदा वडाध्यक्ष, उपप्रमुख र प्रमुखमा आकाँक्षीहरुको लर्काे छ । टिकट लिन आाकाँक्षीहरु नै नेताहरु घरदैलो धाउँदै छन् । जिल्लादेखि केन्द्रीय तहका नेताहरुसँग लविङमा छन् । तर वडामा दलित, महिला सदस्य पदमा बसेकाहरुलाई भने आउँदो चुनावमा पार्टीबाटै उपेक्षा गरिएको छ ।
जनप्रतिनिधि हुँदा प्रभावकारी भूमिका निभाउन नसकेको भन्दै पार्टीले उनीहरुको विकल्प खोज्न थालेको छ । ‘यसपाली पनि चुनावमा उठौला भनेको थिएँ, तर पार्टीले नै अर्कालाई अवसर दिनुपर्छ भनेका छ’ बराहताल गाउँपालिका वडा नं. ६ की दलित महिला सदस्य अमृता विकले भनिन्, ‘विकास निर्माणका अधुरो योजनाहरु पुरा गर्ने योजना सफल हुने भएन ।’
अनुभव भइसकेका कारण पार्टीमा उनले फेरि मौका दिन अनुरोध गरेकी थिइन् । तर नेताहरुले यसपाली अर्कैलाई मौका दिने भनेको छ । अघिल्लो निर्वाचनमा पनि उनले विद्रोह गरेर चुनाव जितेकी हुन् । काँग्रेसले टिकट वितरणमा अन्यय गरेको भन्दै खगेन्द्रदेव गिरीको नेतृत्वमा स्वतन्त्र उम्मेद्वार दिएका थिए ।
पार्टीबाट विद्रोह गरेका गिरीको सिंगो प्यानले नै विजयी भएको थियो । नेताहरुले नै भनेपछि यसपाली वडा सदस्यमा अरुलाई मौका दिन उनी तयार छिन् । माथिल्लो पदका लागि भने पहल गरेकी छैनन् । अमृता मात्रै होइन, इमान्दार र नेतासँग बलियो पहुँच नभएका जनप्रतिनिधिहरु आउने निर्वाचनमा उपेक्षामा पर्ने निश्चित छ ।






