सुर्खेतमै आँखाको उपचार : गुमेको ज्योति फिर्ता पाउँदा दंङ्ग

सुर्खेत, २६ पुस ।
कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाका राजेन्द्रबहादुर शाहीको दुई महिना अघि आँखाको ‘दृष्टि’ (देख्ने शक्ति) गुम्यो । उनलाई उपचारका लागि धनगढी लैजाने तयारी भयो । धनगढी पुग्ने योजना बनाएका उनीहरु सुर्खेतमै रोकिए ।

‘घरबाट त धनगढी जाने भनेर हिँडेको थियांैं, सुर्खेतमै आँखाको उपचार होला भन्ने लागेको थिएन’ राजेन्द्रका छोरा बिर्खले भने, ‘तर आफन्तको सल्लाहमा यतै उपचार भयो ।’

वीरेन्द्रनगरमा रेडक्रसले संचालन गरेको सुर्खेत आँखा अस्पतालमा शल्यक्रिया भएपछि आँखाको दृष्टि फर्कियो । बुवाले आँखा देख्न सक्ने भएपछि बिर्खले भने, ‘आफ्नै प्रदेशमा उपचार हुँदा समय र खर्च दुबै बच्यो ।’

घरबाट बसमा चढ्दा उनीहरुलाई धनगढी जान–आउन र बस्ने खर्च जुटाउन समस्या पर्छ कि भन्ने चिन्ता थियो । सुर्खेतमै उपचार भएपछि रकम र समय दुबै जोगियो ।

जाजरकोटको शिवालय गाउँपालिकाका कलिभान विसीको पनि गएको दशैंमा दाँया आँखा धमिलो भयो । पुसको मसान्तसम्म बाँया आँखामा पनि उस्तै समस्या देखियो । विस्तारै दुबै आँखाले देख्न छोडे ।

बुवाको दृष्टि गुमेपछि छोरा कृष्ण विसीले उपचारका लागि सुर्खेत ल्याए । ‘म त नेपालगञ्ज जाने सोचेको थिएँ’ कलिभानले भने, ‘नातिहरुले सुर्खेत ल्याउ भनेपछि यहाँ आयौं ।’ शल्यक्रियापछि कलिभानको एउटा आँखाको ज्योती फर्किएको छ ।

केही महिनापछि अर्काे आँखाको उपचार गर्न डाक्टरले सल्लाह दिएका कलिभानले सुनाए । आँखाको ज्योति फर्किएपछि कलिभान पनि खुशी भएका छन् ।

राजेन्द्र र कलिभानको मात्रै होइन, पछिल्लो समय कर्णाली र आसपासका नागरिकले सुर्खेतमै आँखाको सहज रुपमा उपचार सेवा पाउन थालेका छन् । सुर्खेतमै जलविन्दु र मोतीविन्दुको उपचार भएपछि कर्णालीका धेरै नागरिकलाई नेपालगञ्ज, धनगढी र काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ ।

पछिल्लो केही बर्षदेखि सुर्खेतमै आँखाको जलविन्दु र मोतिविन्दुको उपचार हुन थालेको छ । नेपाल रेडक्रस सोसाइटीले सुर्खेतमा सञ्चालन गरेको आँखा अस्पतालले बार्षिक आधा लाख नागरिकको आँखाको उपचार गर्दै आएको छ ।

२५ शैयाको यो अस्पतालले सामान्य परीक्षणदेखि जटिल रोगको निधान गर्न थालेपछि विरामीको चाप पनि बढ्दै गएको छ । पछिल्लो समय आँखामा हुने जलविन्दु र मोतीविन्दु लगायतका शल्यक्रिया सहितको उपचार सेवा दिँदै आएको अस्पताल व्यवस्थापक धनबहादुर थापाले जानकारी दिए । अस्पतालले बार्षिक आधालाख अर्थात ५० हजारभन्दा बढी विरामीलाई सेवा दिँदै आएको छ ।

दैनिक दुईसय विरामीलाई सेवा
अस्पतालले दैनिक दुई सय विरामीलाई सेवा दिने गरेको छ । विरामीमध्ये दैनिक १५ देखि २० जना सम्मको अप्रेसन (शल्यक्रिया) गरिदै आएको अस्पतालले जनाएको छ । केही बर्षअघि शिविर र हप्ता दिनमा मात्रै आँखाको अप्रेशन गर्नुपर्ने बाध्यता थियो ।

जनशक्ति र भौतिक पूर्वाधार व्यवस्थापनसँगै अस्पतालले सेवालाई चुस्त बनाएको हो । सेवा प्रवाहलाई छिटो बनाउन हाल अस्पतालमा कार्यरत जनशक्तिलाई निजी क्लिनिक र अन्य अस्पतालमा काम गर्न प्रतिबन्ध लगाइएको छ ।

जसले गर्दा दैनिक दुई सयसम्म विरामीको उपचार सम्भव भएको अस्पताल व्यवस्थापक थापाले बताए । पछिल्लो तीन वर्षको अवधिमा अस्पताल र शिविरबाट ६ हजार ६ सय ५० जनाको मोतीविन्दुको शल्यक्रिया भएको छ ।

८० प्रतिशतलाई मोतीविन्दुको समस्या
कर्णाली प्रदेशमा ८० प्रतिशत आँखाका विरामीहरुलाई मोतीविन्दुको समस्या हुने गरेको छ । ‘उपचार गर्न आउनेमध्ये ८० प्रतिशत विरामीमा मोतीविन्दुको समस्या देखिन्छ’ अस्पतालका डा. शक्तिप्रसाद सुवेदी भन्छन्, ‘मोतीविन्दुका विरामी बढ्न थालेपछि दैनिक शल्यक्रिया गर्दै आएका छौँ ।’

कर्णालीका अन्य जिल्लामा आँखा उपचारका लागि सुविधा सम्पन्न अस्पताल छैनन् । यहीकारण सिंगो कर्णालीवासीलाई अस्पतालले सेवा दिनुपर्ने बाध्यता छ । नेपाल रेडक्रस सोसाइटीले २०४६ सालमा सुरु गरेको आँखा उपचार केन्द्र स्तरोन्नति गरेर सुर्खेत अस्पतालका रुपमा रुपान्तरण गरिएको हो ।

आफ्नै स्रोतबाट सेवा दिँदै आएको अस्पताललाई केही समय अघि सीवीएम जर्मनी र अष्ट्रेलियाले एक करोड बराबरको उपकरण सहयोग गरेको थिए ।

यो उपकरणले जलविन्दु रोगको पहिचान गर्न सहयोग मिल्ने अस्पतालले जनाएको छ । पछिल्लो समय सुर्खेतकै प्रदेश अस्पताले पनि आँखाको उपचार सेवा सुरु गरेको छ ।

सुर्खेतमै आँखाको उपचार : गुमेको ज्योति फिर्ता पाउँदा दंङ्ग

मध्यपश्चिम विश्वविद्यालयमा अब विश्वका प्रमुख भाषाहरु पढाइ

सुर्खेतमै आँखाको उपचार : गुमेको ज्योति फिर्ता पाउँदा दंङ्ग

बारेकोटका एक सय बढीले एमाले रोजे

Leave a comment

Your email address will not be published. Required fields are marked *