मध्यपश्चिम विश्वविद्यालयमा अब विश्वका प्रमुख भाषाहरु पढाइ हुने

सुर्खेत, २६ फागनु ।
मध्यपश्चिम विश्वविद्यालय (एमयू) ले अब विश्वका प्रमुख भाषाहरुको पठनपाठन सुरु गर्ने भएको छ । भाषाको ज्ञान नहुँदा नेपालीहरु विदेशमा जाँदा समस्यामा पर्ने गरेका छन् ।
भाषाकै समस्याका कारण धेरैले दुख पनि भोगिरहेका छन् । यही समस्यालाई मध्यनजर गर्दै एमयूले अब विश्वका प्रशिद्ध भाषाहरु पढाउन लागेको हो ।
विश्वविद्यालयले पछिल्लो समय विभिन्न संकायहरु थप गरिरहेको छ । आफ्नो सेवा विस्तार गर्नेक्रममा विश्वविदालयले अबदेखि विश्वका भाषाहरु पनि पढाउने भएको हो ।
यसको मंगलबार वीरेन्द्रनगरमा विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले गरेका छन् । योसँगै अब विश्वविद्यालयमा विश्वका प्रमुख भाषाहरु सिक्न पाइने भएको हो । अबदेखि विश्वका भाषाहरु सिक्न दुःख भोग्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ ।
एमयूले अब सुर्खेतमै विश्वका भाषाको पठनपाठन सुरु गर्ने भएको छ । अंग्रेजी, चिनियाँ, अरबियन, फ्रेन्च, स्पेनिस र रसियन भाषाहरुको पठनपाठन गर्न लागिएको विश्वविद्यालयले जनाएको छ ।
बोलिचालीमा यि भाषाहरु नै विश्वका विकसित मुलुकमा बढी प्रयोगमा छन् । यस्तै कोरियन, जापानिज र जर्मन भाषा पनि पढाइ हुनेछ । पछिल्लो समय जापान, कोरिया र जर्मनलगायतका देश नेपाली युवाहरुको पहिलो रोजाइमा पर्दछन् ।
यि देशमा नेपालीहरु अध्ययन तथा रोजगारीका लागि जाने गरेका छन् । त्यस्तै ग्रिक, ल्याटिन, संस्कृत र नेपाली भाषाको पनि पढाइ हुने भएको हो । यि भाषाहरु सभ्यतासँग जोडिएका भाषाहरु हुन् ।
विश्वको संस्कृति र सभ्यतालाई विश्वभर चिनाउने उद्देश्ले यि भाषाको पढाइ सुरु गर्न लागिएको हो । नेपालीहरु अनेक अवसरका लागि युरोपका मुलुकमा जाने गरेका छन् । यही आवश्यकतालाई ध्यानमा राखी विश्वविद्यालयले विश्वका भाषाहरु पढाउन थालिएको जनाएको छ । जसमा प्राज्ञिक ज्ञान तथा सीप आर्जनका लागि छुट्टाछुट्टै हिसावमा पठनपाठन हुनेछ ।
शैक्षिक कार्यक्रम अन्तरगत सेमेष्टर प्रणालीमा पढाइ हुनेछ भने वैदेशिक रोजगारीमा जानका लागि विशेष प्याकेजमा पठनपाठन हुनेछ । सम्बन्धित भाषा सिकेपछि विश्वविद्यालयले प्रमाणपत्र उपलब्ध गराउने छ । न्यूनतम एसएलसी पास गरेका विद्यार्थीले भाषाहरु पढ्न पाउने छन् ।
पहिलो चरणमा कोरियन भाषा पढाइ हुने
विश्वविद्यालयले पहिलो चरणमा कोरियन भाषाबाट पठनपाठन सुरु गर्ने भएको छ । कोरियन भाषाको पठनपाठनका लागि आज (बुधबार) देखि नै भर्ना लिका लागि आवेदन माग गरिने विश्वविद्यालय अन्तर्गतको विश्वप्यापी भाषा तथा व्यवसायिक सीप विकास केन्द्रका निर्देशक चित्रबहादुर खत्रीले जानकारी दिए । कोरियाका दुई जना प्राध्यापकहरुले कोरियन भाषा पढाउने छन् ।
दुबैजना कोरियन प्राध्यापकहरु सुर्खेत आइपुगेका छन् । उनीहरुले भौतिक उपस्थितिमै पढाउने छन् । बर्ष दिनभित्र नै अन्य भाषाको पनि पठनपाठन थालिने छ ।
विश्वविद्यालयले अन्य भाषाका पाठ्यक्रमहरु तयारी गरिरहेको छ । राजदुतावासको सहयोगमा अन्य भाषाको पाठ्यक्रम तयारी भइरहेको निर्देशक खत्रीले जनाए ।
अंग्रेजी भाषाको अध्ययन/अध्यापनका लागि अमेरिकी राजदुताबाससँग सहकार्य गरिएको छ । कोरियन भाषालगत्तै अंग्रेजी भाषाको पठनपाठन पनि सुरु गर्ने विश्वविद्यालयले जनाएको छ ।
व्यवसायिक सीप पनि सिकाइने
विश्वविद्यालयले विभिन्न व्यवसायिक सीप पनि सिकाउने भएको छ । विश्व भाषा तथा व्यावसायिक सीप विकास केन्द्रबाट विश्वका भाषाहरुको पठनपाठन र व्यवसायिक सीप पनि सिकाइने विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहले जानकारी दिए ।
मंगलबार केन्द्रको उद्घाटन गर्दै सिंहले आधुनिक विश्वको मागलाई मध्यनजर गरेर विश्वका भाषासँगै व्यवसायिक सीप सिकाइने बताए । केन्द्रले पहिलो चरणमा लेखा, परराष्ट्र र कम्प्युटर सम्बन्धि सीपहरु सिकाउने छ ।
यसबाट सीप भएका तर प्रमाणपत्र नभएका व्यक्तिहरुले बढी लिनेछन् । यस्ता व्यक्तिको हकमा सीप परीक्षण गरेर मात्रै विश्वविद्यालयले भर्ना लिनेछ । निश्चित तह पास गरेपछि विश्वविद्यालयले प्रमाणपत्र उपलब्ध गराउने छ ।
सीप विकास कार्यक्रम अन्तरगत द्वन्द प्रभावित र मुक्तकमैया तथा कमलहरीले बढी प्राथमिकता पाउने विश्वविद्यालयले जनाएको छ । न्यूनतम शुल्कमा व्यवसायिक सीप र भाषाको पठनपाठन हुनेछ ।






