झाडुपोछा गरेर हुर्काएकी छोरी क्रिकेटर बनिन्

काठमाडौं,२५ असार ।
सुदूरपश्चिम प्रदेश, बझाङको जयपृथ्वी नगरपालिकाकी बासिन्दा मनीषा उपाध्यायले २०७६ सालमा प्रधानमन्त्री कप क्रिकेट खेलिन् । दुई वर्षपछि, २०७८ सालमा यही खेलमा उनले गण्डकी प्रदेशबाट खेलिन् । सोही वर्ष भएको मुख्यमन्त्री कप यु–१९ महिला क्रिकेट प्रतियोगितामा मनीषाले गण्डकी प्रदेशको कप्तानी सम्हालिन् । उनको टिमले उपाधि जित्यो ।
मनीषा अहिले काठमाडौंको क्रिकेट एकेडेमीमा क्रिकेटको प्रशिक्षण लिँदैछिन् । उनकी आमा धनादेवी उपाध्याय आवश्यक खर्च पठाउँछिन् । धना भैंसी र बाख्रा पालेर घरमै सानोतिनो आम्दानी गर्छिन् ।

हालै यु–१९ महिला क्रिकेट विश्वकप छनोट खेल्न मलेसिया गएको नेपाली टोलीमा मनीषा पनि थिइन् । उनले यु–१९ विश्वकप क्वालिफायर– २०२२ खेलिन् । मनीषाले नेपाली राष्ट्रिय महिला टिमबाट मलेसियामा एसिसी महिला टी–२० च्याम्पियनसिपमा सहभागी हुने मौका पनि पाएकी थिइन् । त्यही समय एपेन्डिसाइटिसको शल्यक्रिया गर्नु परेकाले जान पाइनन् ।
मनीषाको राष्ट्रिय क्रिकेट टिमसम्मको यात्रामा उनकी आमा धनाको ठूलो हात छ । त्यो दुर्गम ठाउँमा धनाको बिहे भयो, चौध वर्षको उमेरमा । त्यसै बेलादेखि उनका श्रीमान कमाउन भारत जान्थे । धनाको ठूलो सपना भनेको ’गाडी धेकुला कि कहिल्यै भन्या’ मात्रै थियो । अर्थात उनी कहिले गाडी चढ्न पाउँलाँ भन्ने सोच्थिन् ।

उनीहरूका छ जना छोराछोरी जन्मे, तीन छोरी र तीन छोरा, खेती गरेर धान दुई बोरी, गहुँ एक बोरी फल्थ्यो । यसले खान केही मास मात्रै पुग्ने भयो । श्रीमानले कमाइ घरमा दिँदैनथे । उल्टै हैरानी दिन थाले । श्रीमानको सहयोग नभएपछि घर चलाउन सकस भयो ।
उनले छोराछोरी पाल्न सकेको र जानेको जति सबै काम गरिन् । भैंसीबाख्रा पालिन् ।
यार्सागुम्बा टिप्न गइन् । ’एक, पाखामा चढ्याकी नाइँ; अर्को, हलो जोत्याकी नाइँ , यही बाहेकका सबै काम मैले ग¥याँ,’ ती दिन सम्झिँदै बझाङी लवजमा धनाले भनिन्, ’दोकान हाल्या , भैंसी पाल्य, कुखुरा, बाख्रा पाल्या, यार्सागुम्बा टिप्न गया,भारी बोक्या र गाउल्या दाजुभाइका काम गरे ।
अन्तिम उपायका रूपमा उनले होटल थालिन् । तर श्रीमानले चलाउन दिएनन् । अनि धना भारततिर भागिन् , श्रीमान घरमै थिए । धनाले भनिन्, ’लास्टँमा होटल हालेको, श्रीमानले कुनै हालतमा नचलाउन दिन्या भयापछि इन्डिया भाग्याँ ।
धना २०६६ सालको एक दिन दुई छोरीका हातमा पाँच–पाँच रूपैयाँ राखिदिएर भारत हिँडेकी थिइन् । बाह्र वर्षअघिको त्यस दिन राति तीन बजे साथमा जेठो छोरो लिएर उनी भारतको बैंगलरू पुगिन् । त्यहाँ आफन्त पनि थिए । एउटा घरमा झाडुपोछाको काम पाइन् । आठ महिना काम गरिन् । भाषा नबुझेर समस्या भयो, दुःख भयो । यता घरमा छोराछोरीसँग रहेका श्रीमान केही दिनमै दिल्ली पुगेछन् ।
घर जेठी छोरीको भरमा रह्यो । धनालाई सासूससुराले र माइतीले ससाना छोराछोरी छाडेर हिँडेकी भनेर गाली गर्न थाले, उनी गाउँ फर्किन् । घरको परिस्थितिबारे उनले भनिन्, ’घर आएपछि श्रीमान थिएनन्, केटाकेटी तडाबितडा पड्याका थिए ।’ गाउँमा के उपाय हुनु र! इन्डियामै बरू केही हुन्छ कि! आखिर धना जेठी छोरीलाई घरमै छाडेर अरू चार छोराछोरी साथ लिएर दिल्ली गइन् दिल्लीमा रहेका श्रीमान पनि फेला परे । चार सन्तान र श्रीमानश्रीमती काममा लागे। कान्छी छोरी स्कुल भर्ना भइन् ।
छोराछोरी दोकानको रासन सामान घरघरमा पु¥याउने काम गर्थे । धना झाडुपोछा लगाउने र खाना बनाउने काम गर्थिन् । उनीहरूको तलब १२ सयदेखि ३ हजार रूपैयाँ थियो । बिस्तारै जेठा छोराले गाडी चलाउन सिके र महिनाको सात हजारको जागिर पाए ।
यता घरमा पढ्दै गरेकी जेठी छोरीले दस कक्षा पास गरिन् । उनी प्राविधिक विषय पढ्न चाहन्थिन् । कति खर्च लाग्ने हो भन्ने चिन्तामा परेकी धनालाई खुसीको खबर पाइन् । ’छोराले काम गर्ने साहुलाई भन्यो, साहुले तेरी बहिनीलाई पढा, म खर्च बेहोर्छु भनेछन् । पछि फिर्ता गर्ने गरी मागेजति पैसा साहुले सहयोग गरे,’ धनाले भनिन् । छोरी अनमी पढ्न थालिन् । अठार महिनाको पढाइ पूरा गरेपछि उनको बिहे हुने भयो ।
धनाले भनिन्, ’पच्चीस वर्ष नपुगी बिहे गर्दैन भनेकी थिई, उसले लगत्तै बिहे गर्ने भनेपछि फेरि चिन्ता लाग्यो । फेरि खर्च चाहियो । जेठा छोराका साहुले फेरि सहयोग गरे । छोरा काममा मेहनती र इमानदार थिए । त्यसैले खुसी भएका साहुले छिटोछिटो तलब पनि बढाइदिए । जेठी छोरीको बिहेपछि भने ज्वाइँले म्यानपावर कम्पनीमा कुरा गरे । जेठा छोरा साहुको काम छाडेर विदेश गए । कमाइ राम्रो भयो । एक वर्षपछि माइलो र अर्को वर्ष कान्छो छोरा पनि विदेशिए ।
जेठीको बिहे भइगयो । तीन छोरा काममा लागे । अब धनालाई दुई छोरी पढाउन पर्ने भयो । उनले माहिली छोरी मनीषालाई दिदीसँगै बसेर पढ्न धनगढी पठाइन् । धनाले भनिन्, ’मेरो काम भारतमा बसेर दुई छोरी पढाउन्या, घर खर्च चलाउन्या भयो । छोराहरूको कमाइले घरजग्गा किन्न सकियो ।
एक दिनको कुरा हो, जेठी दिदीसँग बसेर पढ्दै गरेकी मनीषाले राष्ट्रिय क्रिकेटर कविता कुँवरको खेल हेर्ने मौका पाइन् । यही दिन मनीषाको जीवनमा कोशे ढुंगा भइदियो । मनीषाले पाँच वर्षअघि, २०७४ सालमा, नियमित क्रिकेट अभ्यास गर्न थालिन् । बिहान–बेलुका क्रिकेट अभ्यास गर्ने र दिउँसो स्कुल जाने उनको दिनचर्या भयो । उता धनालाई चाहिँ ’मनीषा खेल्न मात्रै जान्छे, दिनभरि घुम्छे’ भन्ने खबर पुग्यो ।
यो सुनेपछि धनाले उसलाई खेल्न जान दिनू, उसको जिम्मा मेरो भयो भनेर रैबार (खबर) फिर्ता पठाइन् । उनले भनिन्, ’उसले जे गर्छु भन्छ गर्न देऊ भनेँ । मलाई ऊ गर्भमै हुँदा लाग्थ्यो कि यो या त मैजस्तो दुखारी हुन्छ, या त देशमा नाम कमाउँछे ।
एक दिन मनीषाले क्रिकेटको सामान किन्न भारू २० हजार चाहियो भनिन् । सुरूमा धना झस्किन् । खेल्न यति धेरै पैसाको के किन्ने होला !
’सुरूमा त ओहो के गर्ने भन्ने भयो, यति धेरै पैसा छैन । कोइ बात नहीँ, तेरो जिन्दगी बना भनेर मैले साहुसँग पैसा मागेँ । सामान किन्न गयौं, एकै सामानको मूल्य सुनेर म डराएँ ।
मनीषाले किन्नै पर्छ भनेपछि त्यस दिन आधा सामान किनेर उनीहरू फर्के । अर्को दिन मनीषा एक्लै गएर बाँकी सामान किनिन् । धना भन्छिन्, ’मालिक पनि मेरो भाग्यले हो कि क्या हो, सहयोगी भेटिए । पैसा चाहिए माग्न मिल्थ्यो ।
धनाले भारतमा बाह्र वर्ष बिताइन् । स्वदेश फर्केको डेढ वर्ष भयो । उनीहरूले अहिले धनगढीमा घरजग्गा जोडेका छन्, यतै बस्छन् । एक छिन घर बस्दिन, खेल्न मात्रै हिँड्छे’ भनिएकी मनीषा अहिले राष्ट्रिय महिला क्रिकेट टोलीमा छिन् ।
हालै यु–१९ महिला क्रिकेट विश्वकप छनोट खेल्न मलेसिया जान पासपोर्ट बनाउनु पर्ने भयो । सिफारिस लिन बझाङ जानु प¥यो । पासपोर्ट निकाल्ने खर्च चाहियो । यो सबै धनाले गरिन । छोरीले क्रिकेट खेलमा गरेको प्रगतिले धना उत्साहित छिन् ।
’आजभोलि त यस (मनीषा) को धेरै तारिफ छ । अस्ति सिनियर टोलीमा परेपछि बिरामी भई, खेल्न जान पाइन । दिदीभिनाजु पनि रोए ।’
अर्काको घरमा झाडुपोछा गरेर हुर्काए–पढाएकी छोरीको प्रगतिले धना खुसी छिन् । बिरामी परेर खेल्न नपाए पनि अर्कोपल्ट खेल्न पाउँछे भन्नेमा ढुक्क छिन् । यस पल्ट खेल्न नपाए अर्को पल्ट खेल्छ, कोइ बात नहीँ,’ प्रशन्न मुद्रामा धनाले भनिन्, ’हिजो म गाडी धेकुला कि सोच्न्या मान्छे अहिले मेरी छोरी प्लेन चढेर हिँड्छ । यो मेरा लागि गर्वको बात हो ।’
हिजो आफूले गरेको लगानीले छोरी खेल क्षेत्रमा अगाडि बढोस् भन्ने धनालाई लागेको छ । भन्छिन्, ’मलाई देऊ, नदेऊ, उस (मनीषा) को मनमा चाहेको पूरा होस् भन्न चाहन्छु ।
देश र आमाका लागि सकेसम्म राम्रो खेलाडी बनूँ भन्ने चाहना मनीषाको पनि छ । उनले भनिन्, ’आमालाई नाम र खुसी दिन्छु । लगानी आमाले लगाए पनि बाबाको नाम पनि आउँछ । मनीषाले क्रिकेट नै आफ्नो जीवन हो, भविष्य हो भन्ने अठोट गरेकी छन् ।
स्रोत : सेतोपाटी





