कर्णालीमा कति दल लड्दैछन् चुनाव ?

सुर्खेत, २५ चैत ।
आगामी बैशाख ३० गते हुने निर्वाचनमा देशभर ४६ दलले भाग लिने निश्चित भएको छ । काठमाडौँ, ललितपुर, सुनसरी, रौतहट, मोरंग, सुनसरी लगायतका जिल्लामा ३६ भन्दाबढी दलहरु निर्वाचन लड्दै छन् । तर अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशबाट निर्वाचनमा भाग लिने दलहरुको संख्या निकै न्यून देखिएको छ ।
जसमध्ये सुर्खेतमा सबैभन्दा बढी र डोल्पामा सबैभन्दा कम दलले निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् । सुर्खेतमा विभिन्न २५ दल र डोल्पामा पाँच दलले प्रतिस्पर्धा गर्ने भएका हुन् ।
राष्ट्रिय मान्यता प्राप्त नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालसहित दलले निर्वाचनमा भाग लिने भएका हुन् ।
अघिल्लो निर्वाचनमा स्वतन्त्रबाट पाँच जनासहित नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले मात्र चुनाव जितेको थिए ।
डोल्पामा राष्ट्रिय मान्यता प्राप्तसहित अन्य ६ दल गरेर ११ दलले निर्वाचनमा भाग लिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । कर्णालीका अन्य जिल्लाहरुमा रुकुमपश्चिम र सल्यानमा १२–१२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालीकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गा चालिसेले जानकारी दिए । उल्लेखित दलहरुले मात्रै निर्वाचनमा चुनाव चिन्ह पाउने छन् । बाँकीले भने अन्य दलको चुनाव चिन्हमा निर्वाचन लड्नुपर्ने छ ।
कर्णालीका १० जना निर्वाचन अधिकृत फेरिए
कर्णाली प्रदेशमा दश जना निर्वाचन अघिकृतहरु फेरिएका छन् । यसअघिका निर्वाचन अधिकृतरुलाई हटाउँदै सरकारले नयाँ निर्वाचन अधिकृत खटाएको हो ।
जसअनुसार सल्यानको कुमाख र त्रिवेणी गाउँपालिका, कालीकोटको नरहरिनाथ, पलाता र सान्नीत्रिवेणी गाउँपालिका, हुम्लाको ताँजाकोट र सर्केगाड गाउँपालिका, जाजरकोटको कुसे र जुनीचाँदे गाउँपालिका र दैलेखको ठाटीकाँध गाउँपालिकामा नयाँ निर्वाचन अधिकृत खटाएको हो ।
कुमाखमा रामहरी रिजाल, त्रिवेणीमा बाबुराम नेपाली, नरहरिनाथमा कर्णबहादुर कवर मगर, पलातामा धिरेन्द्रप्रसाद शर्मा, सान्नी त्रिवेणीमा महेन्द्र्रकुमार बोहोरा, ताँजाकोटमा अर्जुनबहादुर श्रेष्ठ, सर्केगाडमा ज्ञानमणि नेपाल, कुसेमा चित्रबहादुर रोकाया, जुनीचाँदेमा लोकराज पन्थी र ठाँटीकाँधमा लेखनाथ कँडेललाई निर्वाचन अधिकृतमा खटाएको हो ।






