‘सरकारी कर्मचारीले जनतालाई दुख दिनु हुँदैन’

सार्वजनिक सेवाप्रति नागरिक पूर्णरुपमा सन्तुष्ट हुन सकिरहेका छैनन्। कर्मचारीले समयमै काम नगरेको, काम अल्झाउने गरेको र रुखो व्यवहार गर्ने गरेको जस्ता आरोप कर्मचारीमाथि लाग्छन्। तर सबै कर्मचारी उस्तै छैनन् ।
सेवाग्राहीका गुनासा सुन्ने, अप्ठेरा भए सुल्झाइ दिने र कानुनी प्रक्रियाको बाटो देखाइदिने कर्मचारी पनि धेरै छन्। जसमध्ये एक हुन् जमानसिंह परियार ।
१३ बर्षदेखि निजामति सेवामा सक्रिय उनी हाल कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास निर्देशनालय सुर्खेतमा कार्यरत छन् । प्रस्तुत छ, उनै परियारको जीवन भोगाइ र निजामति सेवाको अनुभवमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश :
बाल्यकालबाटै संघर्ष
जमानसिंहको जन्म २०४६ साल साउन ४ गते हुम्लाको अदानचुली गाउँपालिका वडा नं. १ कल्खेमा भयो । उनी स्व. बुवा जैवीर र आमा पद्मा परियारका कान्छा छोरा हुन् । मध्यम परिवारमा जन्मिएका उनले घरबाटै संघर्ष सुरु गरे । सानैछँदा बुवा गुमाए ।
आमा र दाईहरुको स्नेह पाएर हुर्किए। तर आर्थिक अभाव, भौगोलिक दुर्गमताका कारण बाल्यकालमै संघर्ष गर्नुपरयो । कहिले गाई गोठाले त कहिले मेलापात गर्दै हुर्किए । ‘स्कुल छट्टि हुँदा र शनिबारको दिन मेलापात गर्दैमा वित्थ्यो’ उनी भन्छन्, ‘घरायसी कामले फुर्सदै हुँन्थेन ।’
पढाइमा अब्बल
जमानसिंहले गाउँकै जनकल्याण प्राथमिक विद्यालयबाट कखरा सिके । त्यहाँ कक्षा ५ सम्म अध्ययन गरे । सूर्याेदय माध्यमिक विद्यालयबाट कक्षा ६ देखि १० सम्म पढे । २०६० सालमा एसएलसी पास गरे । उनी उच्च शिक्षा अध्ययनका लागि सदरमुकाम सिमकोट पुगे ।
उनले मानसरोवर उच्च माध्यमिक विद्यालयबाट प्लसटु, भक्तपुरबाट स्नातक र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट स्नातकोत्तर तह पास गरेका छन् । पढाइमा उनी अब्बल थिए । कक्षामा सधै प्रथम हुन्थे । आफ्नै साथीहरुलाई पढाउँथे ।
‘गणित पढाउने शिक्षक हुन्थेनन्, धेरै पाठ मैले नै साथीहरुलाई पढाउँथे’ उनी भन्छन्, ‘अभ्यास हेरेर सिक्थेँ, त्यही कुरा साथीहरुलाई सिकाउँथे ।’ ‘द्वन्दका कारण पढेर के हुन्छ भन्ने भइसकेको थियो’
उनी भन्छन्, ‘म त एसएलसी दिने सोचमा थिइँन, तर सरले विद्यालयको इज्जत जोगाउन भए पनि परीक्षा देऊ भनेपछि एसएलसी दिएँ ।’ एसएलसी दिएका चार विद्यार्थी मध्ये उनी मात्रै पास भए । त्यो क्षणले उनलाई जीवनमा सबैभन्दा धेरै खुशी मिलेको थियो ।
शिक्षक बन्ने इच्छा त्यागे
सानोमा जमानसिंहको इच्छा शिक्षक बन्ने थियो । प्लसटु पढ्दै शिक्षक बन्नका लागि १० महिने तालिम लिन नेपालगंज झरे । ऊबेला दश महिने तामिल लिएपछि शिक्षक बन्ने लाइसेन्स पाइन्थ्यो । एकदिन उनलाई घरबेटीले विद्युतको महशुल बुझाउन पठाए ।
शिक्षकबाहेक अन्य क्षेत्रमा जागिर पाइन्छ भन्ने थाहा नपाएका उनले विद्युतले अस्थायी कर्मचारी माग गरेको सूचना देखे । फर्किदा पुस्तक पसलमा पुगे । माग गरिएको दरबन्दीका पुस्तक हेरे ।
‘पुस्तक हेरेको त सबै कुरा जानेकै रैछन्’ उनी भन्छन्, ‘पास गर्छु जस्तो लागेपछि आवेदन दिएँ । तर परीक्षा भने दिन पाइनँ ।’ अन्य क्षेत्रमा पनि जागिर पाइन्छ भन्ने थाहा पाएपछि उनले त्यसपछि शिक्षक बन्ने सपना त्यागिदिए ।
अनि लोकसेवा पास भए
साथीभाइको संगतपछि लोकसेवा पास गरेको जागिर सबैभन्दा राम्रो हुन्छ भन्ने थाहा पाए। लामो समयपछि २०६४ सालमा लोकसेवा आयोगले कर्मचारी माग ग¥यो । जुम्लाबाट सहलेखापाल र खरिदारमा आवेदन दिए ।
पहिलो प्रयासमै दुबै पदमा नाम निकालेका उनले सहलेखापाल रोजे । २०६६ जेठ २ गतेदेखि जिल्ला शिक्षा कार्यालय हुम्लामा पोष्टिङ भए । करिव साढे दुई बर्षपछि त्यहाँबाट सरुवा भए ।
२०६८ मंसिरमा खुल्ला प्रतिस्पर्धाबाट लेखापाल भएपछि दार्चुला जिल्ला प्रशासन कार्यालयमा पुगे । त्यहाँ पनि दुई बर्षपछि कैलाली झरे । जिल्ला जनस्वास्थ्य सेवा कार्यालय कैलालीमा सेवा गरे । २०७३ असोजमा कोष तथा लेखा नियन्त्रण कार्यालय सुर्खेतमा सरुवा भएका उनी त्यसयता सुर्खेतमै छन् ।
आफ्नै प्रदेश रोजे
कर्मचारी समायोजनामा उनले जमानसिंह परियार लेखा अधिकृत, भौतिक पूर्वाधार विकास निर्देशनालय, सुर्खेत आफ्नै प्रदेश रोजे । २०७५ फागुन १३ गते यता प्रदेश मातहतका विभिन्न कार्यालयमा पुगेर सेवा गरिसकेका छन् ।
मुख्यमन्त्री कार्यालय, प्रदेश योजना आयोग लगायत कार्यालयमा रहेर सेवा गरेका उनी हाल पूर्वाधार विकास निर्देशनालयमा लेखा अधिकृतको रुपमा कार्यरत छन् ।
सेवाग्राहीको मन दुखाएका छैनन्
जमानसिंह निजामति सेवामा प्रवेश गरेको १३ बर्ष भयो । हुम्ला, दार्चुला, कैलाली लगायतका जिल्लामा पुगेर सेवा गरे । जहाँ पुगे, त्यहाँ सबैको प्रिय बने ।
‘हामी नागरिककै सेवा गर्न यो क्षेत्रमा आएका हौँ, सेवाग्राहीलाई सधै सम्मान गर्नुपर्छ’ उनी भन्छन्, ‘म त सेवाग्राहीलाई भगवान जस्तै मान्छु, कसैको मन दुखाएको छैन ।’ सेवाग्राहीलाई सम्मान गरेकै कारण उनले कसैबाट नराम्रो सुन्नु परेको छैन ।
‘नागरिकले तिरको करबाट नै हामीले सेवासुविधा पाउने हो’ उनी भन्छन्, ‘नागरिकलाई निःस्वार्थ रुपले सेवा गर्नु कर्मचारीको धर्म र कर्तव्य हो ।’
सेवाग्राहीलाई खुशी बनाएर सेवा दिनु कर्मचारीको कतव्र्य भएको उनी बताउँछन् । ‘हरेक सेवाग्राहीलाई खुशी बनाएर सेवा दिनुपर्छ भन्ने लाग्छ’ उनी भन्छन्, ‘अल्छी गर्ने, सेवाग्राहीलाई दुःख दिने काम कहिल्यै गरिनँ ।’






