मालपोतका कर्मचारीसहित १३ जना सुर्खेत जिल्ला अदालतले कसुर ठहर

सुर्खेत,२३ असार ।
जग्गाधनीलाई थाहा नदिई अरूलाई जग्गा बेचिदिने मालपोतका कर्मचारीसहित १३ जनालाई सुर्खेत जिल्ला अदालतले कसुर ठहर गरेको छ । न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले मालपोत कार्यालयका चार जना कर्मचारीसहित १३ जनालाई दोषी ठहर गरेको हो ।
वीरेन्द्रनगर–२ का सहवीर कार्की, वीरेन्द्रनगर–६ गणेशचोकका अमरसिंह कटुवाल, वीरेन्द्रनगर–६ कै सन्तोष ठाकुर, वीरेन्द्रनगर–२ का गोरख भनिने गणेश बुढा, वीरेन्द्रनगर–४ का निर्मल पुरीलाई ठगी गरेको कसूरमा दोषी ठहर गरिएको छ ।
यो घटनामा मुछिएकी सुनित राना, मालपोत कार्यालय सुर्खेतका नायव सुब्बा विश्वरुप साउद, कम्प्युटर अपरेटर गणेश विक, कृष्ण बहादुर थापा, दीपेन्द्र श्रेष्ठ र तिर्थराज महतारालाई किर्ते गरेकोमा दोषी ठहर गरिएको छ । वीरेन्द्रनगर–१२ रामकुमार दर्लामी र उत्तम अधिकारीलाई पनि किर्ते गरेकोमा दोषी ठहर गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१२ साविक जर्बुटा वडा नम्बर–३ (क) मा रहेको कित्ता नम्बर ३१११ को जग्गा २०७७ असार ८ गते जग्गाधनीलाई थाहै नदिई कित्ताकाट गरिएको थियो। उक्त जग्गा वीरेन्द्रनगर–६ का सौगात रावतको नाममा थियो ।
२०७७ पुस २९ गते रावतले जग्गाको नक्सापास निकाल्दा जग्गा अर्कैको नाममा नामसारी भएको थाहा पाएका थिए । त्यति बेलासम्म उनको जग्गा ६ कित्तामा बाँडिएको थियो । दैलेखको महाबु गाउँपालिका–३ बाँसी स्थायी घर भई हाल वीरेन्द्रनगर–१ बस्ने सहवीर कार्कीको नाममा उक्त जग्गा नामसारी भएको पाइएको जग्गाधनी रावतले बताए ।
रावतका अनुसार ६ कट्ठा क्षेत्रफल भएको उक्त जग्गाको पछाडिको भाग छोडेर मूल बाटोको ५० मिटर मोहडामा पर्ने जग्गा कार्कीको नाममा गएको थियो । उक्त घटनापछि जग्गाधनी रावतले जाहेरी दिएका थिए । सौगात रावतको जाहेरीमा नेपाल सरकारले १९ जनालाई अभियुक्त बनाई अभियोग पत्र दायर गरेको थियो ।
अभियुक्तका रूपमा तत्कालीन समयमा नापी कार्यालय सुर्खेतमा कार्यरत प्रमुख राजेन्द्र थापा, भिमलाल आचार्य, दिपेन्द्र पुलामी र मालपोत कार्यालय सुर्खेतका तत्कालीन कार्यालय प्रमुख लक्ष्मी खत्री पनि थिए । अब अर्को हप्ता तोकिएको पेसीबाट कसुर ठहरिएकाहरूलाई सजायको फैसला हुनेछ ।
स्रोत ः सेतोपाटी






