मन्त्रीको चर्चामै विवादित बनेका को हुन कार्चेन लामा ?

सुर्खेत, २२ माघ ।
माओवादी केन्द्रले मन्त्री बनाउन लागेको छिरिङ दमदोल लामा ‘कार्चेन लामा’ विवादमा तानिएका छन् । मूर्ति चोरेको अभियोगमा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गरिसकेको खुलासा भएपछि उनी विवादमा तानिएका हुन् । २०४९ सालमा तिब्बतको खोचेरनाथ गुम्बाबाट मूर्ति चोरेर ल्याएको अभियोगमा यिनै लामासहित छिरिङ पाल्देन लामासमेतलाई जिल्ला अदालतले दुई÷दुई वर्ष कैद र ५/५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
तत्कालीन जिल्ला न्यायाधीश निलकण्ठ उपाध्यायले २०५१ मंसिर २५ गते मुद्धाको फैसला गरेका थिए । उनले २०४९ कार्तिक २८ देखि २०५१ कार्तिक २७ गतेसम्म कैद सजाय भुक्त्तान गरिसकेका छन् । लामाले फौजदारी अभियोग भोगको घटना छताछुल्ल भएपछि उनलाई मन्त्री नबनाउन माओवादी भित्र दवाव बढेको छ ।
माओवादीबाट सांसद नभए पनि मन्त्रीका लागि सिफारिस गरिएका कार्चेन लामा हुम्लामा भूमिगत हुने पहिलो माओवादी नेता हुन् । २०५४ सालदेखि माओवादीमा भूमिगत भएर काम गरेका लामा हिमाली जनसांस्कृतिक परिवार अध्यक्ष हुँदै माओवादीको सैन्य कमाण्डर भएका थिए । २०५९–०६० तिर हुम्ला जिल्लाका जनसरकार प्रमुख भएका लामा हिमाली भोटे राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष र माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य समेत हुन् ।
२०४६ सालमा मोटो मशालबाट राजनीतिकमा होमिएका उनी लामो समय संयुक्त जनमोर्चामा सक्रिय भए । २०५४ साल साविक बरगाउँ गाउँ विकास समितिमा संयुक्त जनमोर्चाबाट अध्यक्ष उम्मेदवार बने । तर पदमबहादुर लामालाई अध्यक्ष बनाए । २०७४ सालको निर्वाचनमा उनी प्रतिनिधिसभाका स्वतन्त्र उम्मेद्वार बनेका छक्कबहादुर लामाको पक्षमा उभिए । उनी हुम्लामा पदको लोभ नगर्ने त्यागी नेताका रुपमा चिनिन्छन्
‘हुम्लामा माओवादी जोगाउन गैरसांसदलाई मन्त्री’
हुम्लामा मुख्य दल (नेपाली काँग्रेस, एमाले र माओवादी) को समान हैसियत छ । २०७४ सालको निर्वाचमा तीन वटै दलका उम्मेद्वारहरु विजय भए । दुई वटा प्रदेशसभाका सिटमध्ये काँग्रेसबाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही, एमालेबाट दल रावल र प्रतिनिधिसभामा माओवादी केन्द्रबाट छक्कबहादुर लामा विजयी भए । तर पछिल्लो समय हुम्लामा राजनीतिक उथलपुथल भएको छ ।
एमाले विभाजन हुँदा केही नेताहरु नेकपा समाजवादीमा लागेका छन् भने माओवादीभित्रै विद्रोह भएको छ । माओवादीबाट २०६४ सालको संविधानसभा सदस्य बनेका छिमी लामाले पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् । त्यसयता हुम्लामा माओवादीले आफूलाई कमजोर महसुस गरेको छ ।
यहीकारण भोटे समुदायको मतलाई बाहिर जान नदिन माओवादीले कर्णाली प्रदेश सरकारमा छिरिङ दमदोल लामा ‘कार्चेन लामा’ लाई प्रदेश सरकारको मन्त्री बनाउने तयारी गरेको हो । ‘उहाँ मन्त्री हुनुभयो भने पार्टी जोगिन्छ, नत्र जिल्लामा हामी कमजोर हुन्छौँ’ माओवादी केन्द्र हुम्लाका एक नेताले भने, ‘अहिले उहाँ मन्त्री हुनु भनेको पार्टी जोगिनु हो ।’ हुम्लामा पार्टीलाई कमजोर हुन नदिनकै लागि माओवादीले कार्चेनलाई मन्त्री बनाउन प्रचण्डलाई समेत मनाएको छ ।






