न्यालु लेकमा जमेको हिउँ पन्छाएर यातायात सुचारु गर्ने कार्य सुरु

हुम्ला,१६ कात्तिक ।

पाँच हजार मिटर अग्लो स्थानको न्यालु लेकमा जमेको हिउँ पन्छाएर यातायात सुचारु गर्ने कार्य सुरु भएको छ । नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमी आउजाउका लागि मेसिन र यात्रुहरू मिलेर सो हिउँ फाल्ने कार्य गरिएको हो ।

गाडी चालक सिंगम भण्डारीले करिब एक महिना अवरुद्ध भएको लिमीको यातायात सुचारु गर्न न्यालु लेकको कच्ची सडकमा जमेको हिउँ पन्छाउने कार्य सुरु भएको बताए । उनले सडकको हिउँ फाल्ने कार्य सुरु भएको भए पनि हिउँ बाक्लो जमेको कारण पन्छाउन कठिन भइरहेको बताए ।

उनले केही हिउँ फाल्ने कार्य भएको र यो क्रम जारी रहेको बताउँदै कति दिनमा हिउँ फाल्न सकिन्छ भन्ने कुरा भने यसै भन्न नसकिने बताए । न्यालु लेकमा चारदेखि पाँच फिट हिउँ जमेको छ । यसका लागि मेसिन र मानिस मिलेर हिउँ फाल्ने कार्य गरिँदै आएको छ ।

दश दिन अघि पनि सो हिउँ मेसिनबाट पन्छाउने कार्य गर्न खोजिएको भए पनि त्यो सफल हुन सकेको थिएन । अहिले पुनः हिउँ फाल्ने कार्य सुरु गरिएको हो । हिउँ बाक्लो जमेको कारण लिमीका स्थानीय बाहेक अन्य कोही पनि लिमी जान सकेका छैनन् ।

एक हप्ता अघि लिमीका वडा अध्यक्ष पाल्जोर तामाङसहित चार जनाको टोली पैदलै हिउँ छिचोल्दै लिमी पुगेका थिए । त्यसयता भने अन्य कोही पनि लिमी जान सकेको छैन । न्यालु र नारा लेकमा हिउँ जमेकै कारण मङ्सिर ४ गतेको निर्वाचनका लागि राजनीतिक दलहरू र पार्टीका नेताहरु समेत लिमी पुग्न सकेका छैनन् ।

गोरखापत्र

न्यालु लेकमा जमेको हिउँ पन्छाएर यातायात सुचारु गर्ने कार्य सुरु

रुकुमपश्चिममा स्यालको टोकाइबाट नौ जना घाइते

न्यालु लेकमा जमेको हिउँ पन्छाएर यातायात सुचारु गर्ने कार्य सुरु

पढाई छोडेको दश वर्षपछि डिष्टिङ्गसन

Leave a comment

Your email address will not be published. Required fields are marked *