रुकुमपश्चिममा स्यालको टोकाइबाट नौ जना घाइते

रुकुमपश्चिम,१६ कात्तिक ।
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा स्यालको टोकाइबाट नौ जना घाइते भएका छन् । मुसिकोट नगरपालिकाको ४, ६, ७ र १० नम्बर वडाका गरी नौ जनालाई स्यालले टोकेको हो ।
स्यालको टोकाइबाट घाइते हुनेमा वडा नम्बर ४ का ओमप्रकाश पाण्डे र एक्कीकुमार बुढाथोकी, वडा नम्बर ६ का गेदलाल गिरी, रामबहादुर बोहरा, दीपा बोहरा, उर्मिला बोहरा र पत्रबहादुर महतारा र सविता गौतम तथा मुसिकोट १० का भुपेन्द्र बुढा रहेका छन् ।

घाइतेमध्ये एक्कीकुमारीलाई स्यालले सोमबार साँझ टोकेको हो भने अन्यलाई मङ्गलबार साँझ टोकेको मुसिकोट–६ का हिमबहादुर महताराले बताए । स्यालले भेटिएका जति मान्छेलाई टोक्दै हिडेको उनको भनाइ छ । ट्याखोला, माथिल्लो घाइडाँडा, झिँजा लगायतका ठाउँमा स्यालको बिगबिगी बढेको छ ।
स्यालले घरमै तथा बाटोमा हिंड्ने मान्छेलाई टोकिरहेको छ । घाइतेमध्ये एक्कीकुमारीलाई उपचारका लागि सुर्खेत लगिएको छ भने अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनिहरूलाई रेबिजविरुद्धको खोप दिइएको छ । स्याललाई नियन्त्रणमा लिन सकिएको छैन ।
गोरखापत्र






