पढाई छोडेको दश वर्षपछि डिष्टिङ्गसन

सिर्जना बुढाथोकी
सुर्खेत,१६ कात्तिक ।
वीरेन्द्रनगर–९ लाटिकोइलीमा वि.सं. २०४१ फागुन १९ गते जन्मिएकी प्रदिप्ता श्रेष्ठ अहिले स्वास्थ्य क्षेत्रमा रमाएकी छु। जीवनमा यसरी सफल हुन्छु भन्ने नसोचेकी मेरो खुशीको सीमा नै छैन् । १३ वर्षको उमेरमा बालविवाह गरेर घर धन्दा चुलोचौकोमै सीमित भएकी मैले यो दिन आउला कहिल्यै सोचेको थिइन् ।

कक्षा १० मा पढ्दै गर्दा पहिलो सन्तान गर्भिएको आठ महिनासम्म पनि विद्यालय गएँ । सानै उमेर भएरपनि होला ठूलो पेट लिएर विद्यालय जान कहिल्यै लाज लागेन । त्यसपछि मैले शारिरीक समस्याका कारण पढाईतिर खासै ध्यान दिन सकिन् र एस.एल.सीमा फेल भएँ । पहिलो सन्तान छोरीको जन्म भयो ।
आफ्नो सानो उमेर, श्रीमानको सामान्य पन्ध्र सय तलबको जागिरले मैले आफ्ना इच्छा, छोरीका लागि चाहिने सामान र घर व्यवहार चलाउन निकै सकस भयो । छोरी एक वर्ष पुगेपछि अब आफुले पनि केहि गर्नुपर्छ भन्ने सोचेर मैले सिलाई कटाई सिक्ने सोच बनाए। बिहान बेलुका घरधन्दा, बालबच्चालाई ख्याल गरेर दिउँसो खाली समय सदुपयोग र आफु आत्मनिर्भर हुने सोचले मैले नवज्योीत संस्थामा सिलाई कटाई गएँ ।

सिलाई कटाई सिकेबापत मासिक रुपमा तिर्नुपर्ने एक सय रुपैयाँ जुटाउन पनि मलाई सकस हुन्थ्यो । जसो तसो मिलाएर एक महिनासम्म त पत्रिका, कागज काटेर सिके तर दोस्रो महिनाबाट कपडा काट्नुपर्ने अवस्था आयो । सिक्नेबेला काट्ने कपडा किन्नका लागि मसंग पैसा भएन र मैले सिलाई कटाई सिक्न छोडे । त्यसपछि घरमै दिन बिताउन थाले जुन मेरा लागि सकसपूर्ण थिए । त्यसपछि दोस्रो सन्तान छोरा जन्मियो ।
छोरा जन्मिएपछि झन् दुईवटा बच्चा र आपूmलाई आवश्यक वस्तुका लागि मलाई समस्या भएपछि वीरेन्द्रनगरमा रहेको पाइनियर बहुउद्देश्यीय सहकारी संस्थामा बजार व्यवस्थापकका रुपमा काम गर्ने अवसर पाएँ । पैसा उठाउन दिनभरी पैदल हिडेर बजारभरी घुम्दा राती यति मीठो निन्द्रा लाग्थ्यो कि म त्यो शब्दमा व्यक्त गर्न सक्दिन् ।
ग्राहक बनाएर प्रतिशतका आधारमा तलब दिने कुरा भएको थियो, मैले पहिलो तलब ३ सय ५० रुपैयाँ पाएकी थिएँ । पहिलो तलबले मैले आपूmले लगाउनका लागि दुई दर्जन चुरा, हजुराआमाको लागि औषधी र दश रुपैयाको जेरी किनेर खाएको थिएँ । पाँच वर्ष मैले यसरीनै काम गरे ।
त्यसपछि मेरो कामप्रतिको लगनशिलता देखेर ऋणको पाटो हेर्ने गरी अफिसमै बसेर काम गर्ने कुरा आएपछि मैले पास गर्न नसकेको एस.एल.सीको सर्टिफिकेटका कारण त्यो अवसर गुमाए । मलाई त्यतिबेला महशुस भयो कि पढाईको महत्व कति रहेछ भन्ने । अनि मैले फेरि पढ्ने योजना बनाएँ ।
करिव दश वर्षपछि २०५८ सालमा फेल भएको एस.एल.सी मैले २०६८ सालमा दोस्रो श्रेणीमा पास गरे । एस.एल.सी पास गरेर के गर्ने त भन्ने योजना बनाउँदै जाँदा मेरो घर नजिकै रहेको राष्ट्रिय प्राविधिकमा पढाई हुने विषयमध्ये ल्याबको लागि एक जनाको कोटा खाली छ भन्ने सुनेपछि मैले ल्याब पढ्ने तयारी गरे ।
मैले पढाई शुरु गर्दा दुई महिना कक्षा अगाडि गइसकेको थियो । कक्षा कोठामा जाँदा सबै जना रेगुलर पढेर आएका विद्यनर्र्थि भाईबहिनी उमेरका थिए अनि म एक्लै थिएँ छोराछोरीकी आमा । तर पनि मैले कहिल्यै मतलब नगरी मेहेनतका साथ पढाईमा ध्यान दिएँ ।
मलाई मेरो पढाई अनि हिजोका दिनको दुःखले पाठ सिकाईसकेको थियो कि मेहेनतबिना केहि पनि सफल छैन् । १८ महिने ल्याबको पढाई सकियो अनि जब परीक्षा आयो मैले यति मेहेनतले रातदिन पढे, जसको नतिजा त रिजल्टले बतायो । मैले कक्षामा भएका ३९ जनामध्ये पास भएका १८ जनालाई पनि जितेर ८३ प्रतिशत अंकसहित डिष्टिङ्गसन ल्याएँ । यो मेरो अनि परिवारको कल्पनाभन्दा बाहिरको कुरा थियो ।
त्यसपछि मैले ओजेटीका लागि वीरेन्द्रनगरको देउती नर्सिङ्ग होममा काम गरे । ओजेटी सकेर मैले भोलेन्टियरका रुपमा देउती नर्सिङ्ग होममै ६ महिना काम गरेर त्यहि जागीर गर्ने अवसर प्राप्त गरे । काम गर्दै जाँदा केहि वर्ष बित्यो अनि यससंगै मैले आफ्नै घर नजिकको लाटिकोइली स्वास्थ्य चौकीको ल्याबमा पनि काम गर्ने अवसर पाए । १० देखि ४ सम्म स्वास्थ्य चौकी र बिहान बेलुका देउती नर्सिङ्ग होममा काम गर्न थाले ।
यसैबीचमा कोरोना महामारी आयो, जुन समय मेरा परिवारले मलाई जागिर छोड्न धेरै दवाब दिए । किनकी यो उहाँहरुले मप्रति दर्शाएको माया थियो र मेरो परिवारलाई म भन्दा ठूलो जागिर थिएन । तर पनि मैले ज्यानको माया मारेर वीरेन्द्रनगर नगरपालिकाले दिएको निर्देशन अनुसार काम गरे । सुब्वाकुना चेक पोइन्टमा बसेर बाहिरी जिल्लाबाट आएका नागरिकको स्याम्पल कलेक्शन गरे ।
दिनमा तीन चार सय जनाको स्याम्पल कलेक्शन गरेर पहिलो पटक आएको कोरोना महामारीमा घर नै नगएर आइसोलेशनमा बसेर काम गरे । हामीले गरेको कामको मूल्याकंन गर्दै नगरपालिकाले सम्मान पनि ग¥यो । अहिले लाग्छ म ज ु न अवस्थामा पनि अब बाँच्न सक्छु किनकी म आत्मनिर्भर छु।
मलाई लाग्छ जुन समय म खाली थिएँ मेरो काम केहि थिएन त्यो समयमा खाली भएको दिमागमा कति नराम्रा कुरा खेल्ने, समय बिताउन गाह्रो हुने हुन्थ्यो तर अहिले मलाई राम्रो संग खाने पनि फुर्सद छैन् यो मैले नै आफु लाई बनाएको व्यस्त हो । म यसमा निकै खुशी छु ।
थोरै भएपनि आपूmले कमाएको भनेको फरक हुँदोरहेछ । हामीले लागेको बाटोले सन्तानको भविष्य कोर्दो रहेछ । हाम्रो व्यस्तताले छोराछोरीलाई पनि सहिबाटोमा हिड्ने मार्ग देखाउदो रहेछ । मानिसको एकअर्का संग चिनजान बढ्दो रैछ अनि ज्ञान पनि बढ्दै जादो रहेछ ।
अहिले छोराछोरी पनि ठुला भैसके, श्रीमान बैदेशिक रोजगारीका लागि युरोप जानु भएको छ तर म यहि काम गरिरहेकी छु अनि घरपरिवार सम्हाली रहेकी छु । मेरो दृढ इच्छा र लगनशिलताले मलाई सफल बनाएको छ । जहाँ इच्छा त्यहाँ उपाए भन्ने भनाई मेरो जीवनमा सही सावित भएको छ ।






