सुर्खेत, १९ माघ ।
सडकभरी गिट्टी र बालुवाको थुप्रो । मजदुरहरु कोही नाला खन्ने काममा व्यस्त त कोही सडक छेउमा रहेका घर भत्काउन । अनि कोही विद्युतका पोलहरु सार्न व्यस्त थिए । स्थानीय बासिन्दा भने भत्काइएका तिनै घरबाट सामग्रीहरु अन्यत्र ओसार्दै थिए । बर्षाैंदेखि बस्दै आएको वासस्थान भत्काउँदा पनि स्थानीयमा निराशा थिएन । न स्थानीयको विरोध न कसैको आक्रोश र्न ।
सबै आआफ्नो काममा व्यस्थ देखिन्थे । वीरेन्द्रनगर–९ मा पर्ने मंगलगढीदेखि काँक्रेविहारसम्म जोड्ने सडक अन्तर्गत लाटीकोइली खण्डमा पर्ने घरहरु हिजोआज धमाधम भत्काउन थालिएको छ । बौद्धगुम्बादेखि लाटीकोइली स्कुलसम्मका ३६ वटा मध्ये अधिकाशं घरहरु भत्काइएका छन् । केही आधा त केही घरहरु पुरै भत्काइएका हुन् । पूर्णरुपमा भत्काइएका घरबाट मानिसहरु अन्यत्र बसाइ सरेका छन् भने आधा भत्काइएका घरमा स्थानीयहरुले टालटुल गरेर बसेका छन् ।
सडक विस्तार र स्तरोन्नतिका लागि त्यहाँका घर भत्काइएका हुन् । यो सडक मुख्य पर्यटकीयस्थल काँक्रेविहार जाने मार्ग हो । यसकारण यो सडकलार्य विस्तार गरेर स्तरोन्नति गर्न थालिएको छ । यहीक्रममा सडकमा पर्ने घर भत्काउन थालिएको छ । घर भत्काइए पनि स्थानयिले पनि कुनै गुनासो गरेका छैनन् । बरु उनीहरुले गाउँमा हुन लागेको सडकको विकासमा सहयोग र समर्थन गरेका छन् । बस्दै आएको घर भत्काइए पनि स्थानीयले पीडा मनमै लुकाएर विकास निर्माणमा सघाएका छन् ।
‘बासस्थान नै भत्काएर जनताले विकास निर्माणमा सहयोग गर्नु भएको छ’ वीरेन्द्रनगर वडा नं. ९ का वडाध्यक्ष सुरेश मानन्धर भन्छन्, ‘सडक विस्तार गर्न ३६ वटा घर भत्काउनु परेको छ ।’ विकास निर्माणमा स्थानीयको साथ पाएकै कारण सडक विस्तारले गति लिएको छ । बौद्धगुम्वादेखि शिव माविसम्का अधिकांश घरहरु भत्काइ सकिएका छन् । ठूलो संख्यामा घर भत्किने भएपछि सुरुमा स्थानीयले अवरोध गरेका थिए । स्थानीयको अवरोधकै कारण गत आर्थिक बर्षमा नाला बनाउन अवरोध भएको थियो । तर वडा कार्यालयको समन्वयपछि स्थानीयले सडक विस्तारका लागि घर भत्काउन सहमति दिएका हुन् । स्थानीयकै सहमतिमा आयोजनाले हिजोआज सडकमा पर्ने घरहरु भत्काउन थालेको हो ।
अर्काे बर्षदेखि कालोपत्रे
स्तरोन्नति थालिएको मंगलगढी– काँक्रेविहार सडक अर्काे बर्षपछि मात्रै कालोपत्रे हुने भएको छ । ‘असारसम्म कालोपत्रे गर्नका लागि तयारी हुन्छ’ वीरेन्द्रनगर–९ का वडाध्यक्ष मानन्धरले भने, ‘अर्काे बर्षमात्रै सडक कालोपत्रे हुन्छ ।’ कालोपत्रे गर्नुअघि सडक चौडा बनाउने, नालाहरु बनाउने र ग्राभेल लगायतका अन्य कामहरु गरिने छ ।
हाल साँघुरो यो सडक खण्ड विस्तार गरेर २५ मिटरसम्म चौडा बनाइने छ । जसमा दुई मिटर फुटपाथ क्षेत्र, २० मिटरभित्र नाला र १५ मिटरभित्र सवारी साधान गुड्नेगरी सडकको स्तरोन्नति गरिने कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार निर्देशनालयले जनाएको छ । १८ महिनाभित्र सक्नेगरी १२ करोड ७६ लाख १५ हजारमा अमर सिस्ने नेपाल मेघा जेभीले स्तरोन्नतिको ठेक्का लिएको छ । निर्देशनालयले गएको मंसिर १४ गते निर्माण कम्पनीसँग सम्झौता गरेको हो । सम्झौतासँगै कम्पनीले २०८० असार १५ गतेभित्र सडक स्तरोन्नति गरिसक्ने भौतिक पूर्वाधार विकास निर्देशनालयका सवइन्जिनियर प्रेमचन्द्र पाण्डेले जानकारी दिए ।
सारिदै विद्युतका पोल
सडक विस्तार हुने भएपछि विद्युतका पोलहरु पनि सार्न थालिएको छ । पहिले पोल भएका स्थानसम्म सडक बन्ने भएपछि विद्युतका पोलहरु सार्न थालिएको हो । सडक विस्तारका लागि स्थानीयहरु घर भत्काउने सहमत भएसँगै निर्माण कम्पनीले विद्युतका पोलहरु पनि सार्न थालेको हो ।
तिमध्ये बौद्धगुम्बासम्म पोलहरु सारी सकिएको छ । हाल बौद्ध गुम्बादेखि लाटीकोइली क्षेत्रसम्मका पोलहरु सार्न थालिएको हो । आयोजनाले लाइन अवरुद्ध नहुने गरी विस्तार थालेको हो । सुर्खेतको प्रमुख पर्यटकीयस्थल काँक्रेविहार जोड्ने यो सडक दुई बर्षदेखि स्तरोन्नति थालिएको छ ।
युग संवाददाता । । १९ माघ २०७८, बुधबार ०६:३६