चार वर्षमा कर्णाली प्रदेशमा सातसय ७३ ठाउँमा आगलागी

सुर्खेत ।
घटना १
यही चैत १३ गते सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. २ को प्रगतिशिल सामुदायिक वनमा आगलागी भयो । वनमा आगलागी भएपछि तिम्लसेनी गाउँका आमाहरुले आगो निभाउने प्रयास गरे ।

गाउँलेहरु नै आगो निभाउन कस्सीए । दुर्भाग्य, आगो निभाउन गएकी ४५ बर्षिया नैनसरा खत्रीको आगोमै परेर ज्यान गयो । आगो नियन्त्रणमा लिने तालिम र औजार नभएकै कारण नैनसराले अकालमा ज्यान गुमाउनु प¥यो ।

सोही घटनामा परी चन्द्रकला सिंह गम्भीर घाइते भइन् । उनलाई तत्काल उपचारका लागि नेपालगञ्ज पु¥याइयो । नेपालगञ्जमा उपचार सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको छ । हाल उनको कीर्तिपुर अस्पताल काठमाण्डौंमा उपचार भइरहेको छ ।

तर उपचारका लागि आर्थिक अभाव भएपछि स्थानीयले सहयोग संकलन थालेका छन् । आर्थिक अभावले उपचार रोकिने अवस्था आएको भन्दै स्थानीयले आर्थिक सहयोगका लागि सार्वजनिक अपिल गरेका छन् ।

घटना २
यही चैत १२ गते रुकुमपश्चिमको बुकीबारी सामुदायिक वनमा आगलागी भयो । बाँफिकोट गाउँपालिका–१० वडा र छिमेकी सानीभेरी गाउँपालिका–३ का आधा दर्जन वनमा निरन्तर हप्तादिनसम्म आगलागी भयो । पानीको अभावका कारण आगो नियन्त्रण बाहिर गयो ।

हप्तादिनमै आगलागीबाट खाली सामुदायिक वन, चमेरेपातल सामुदायिक वन, चक्कुलाउने कवुलियती वन, तेस्रापाखा सामुदायिक वन, देउरालीचुरा राष्ट्रिय वन र वयाल्ने राष्ट्रिय वन सखाप भयो ।
आगलागीमा परी एक जनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–१० की ४५ वर्षीया सर्केनी दमाईको प्रहरीले जनाएको छ ।

बुकीबारी सामुदायिक वनमा आगो नियन्त्रण गर्ने क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कपिल शाहीका अनुसार रुकुममा हिजोआज दैनिक आगलागीका घटना हुँदै आएका छन् । निभाउने प्रयास गरिपनि अघिकांश वनमा आगो नियन्त्रण बाहिर जाने गरेको छ । जिल्लामा आगो नियन्त्रणका लागि दक्ष जनशक्ति छैनन् ।

घटना  ३
गत फागुन १८ गते सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं.–४ रैजेखोला चौखेढुंगा वनमा आगलागी भयो । आगो क्षणभरमा झिम्पे दुदिल्यबस्तीमा बस्तीमा पुग्यो । आगलागीमा परीस्थानीय ददिराम खत्रीका दुई घर र मोहलाल शर्माका एउटा घर जलेर नस्ट भए । घरमा राखिएको अन्नपात, लत्ताकपडा पनि खरानी भए ।

दिउँसो ३ बजेबाट सुरु भएको आगो राती १० बजेमात्रै नियन्त्रणमा आयो । उल्लेखित घटना केही प्रतिनिधिमुलक मात्रै हुन् । पछिल्लो समय कर्णाली प्रदेशमा आगलागीका घटनाहरु बढ्दै गएका छन् । घेरैजसो घटनाहरु खडेरीको समयमा हुने गरेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार पछिल्लो चार वर्षको अवधिमा मात्रै प्रदेशमा सातसय ७३ वटा आगलागीका घटना भएका छन् । अधिकांश घटनाहरुले वनमा लाखौंको क्षति पुगेको छ । आगलागीबाट वनजंगल खरानी बनेका छन् ।

नागरिक सचेतनाको अभाव, नियन्त्रणमा दक्ष जनशक्ति र पानीको अभावले वन क्षेत्र सखाप हुने गरेका छन् । तथ्याङ्क अनुसार आर्थिक गर्ष २०७३÷०७४ मा दुईसय १४ वटा, ०७४÷०७५ मा एकसय ९१ वटा, ०७५÷०७६ मा दुईसय आठवटा र ०७६÷०७७ मा एकसय ६० वटा आगलागीका घटना भएका छन् । चार वर्षको अवधिमा सुर्खेतमा एकसय ९४ वटा, दैलेखमा ९६ वटा, कालिकोटमा ८० वटा घटना भएका छन् ।

त्यस्तै जुम्लामा २३ वटा, मुगुमा ३८ वटा, हुम्लामा ३२ वटा, डोल्पामा ३५ वटा, जाजरकोटमा एकसय १९ वटा, सल्यानमा ४३ वटा र रुकुमपश्चिममा ९४ वटा आगलागीका घटना भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवत्ता एसएसपी अर्जुन चन्द्रले जानकारी दिए । घटनामापरी १६ जनाको मृत्यु ३६ जना घाइते र ९८ वटा पशुचौपायाको मृत्यु भएको छ । चार वर्षको अवधिमा कुल एक अर्ब ६९ करोड ३७ लाख ६ सय ८० रुपैयाँ बराबरको धनसम्पति क्षति भएको छ ।

जसमध्ये ०७३/०७४ मा चार करोड ५० लाख ४४ हजार एकसय ३० रुपैयाँ, ०७४÷०७५ मा आठ करोड ६६ लाख ६४ हजार सातसय, ०७५÷०७६ मा चार करोड ६३ लाख ४२ हजार नौसय ८० रुपैयाँ र ०७६÷०७७ मा एक अर्ब ५१ करोड ५६ लाख ४८ हजार आठसय ७० रुपैयाँ बराबरको धनसम्पतिमा क्षति भएको प्रहरीको तथ्याङ्क छ । वर्षेनी आगलागीका घटना बढिरहँदा डिभिजन वन कार्यालयलले भने प्रभावकारी कार्यक्रम ल्याउन सकेका छैनन् ।

वन कार्यालयहरुले प्रचार–प्रसार र सचेतनाका कार्यक्रमहरु पनि स्थानीय स्तरमा पुग्न सकेका छैनन् । वन डढेलो कसरी नियन्त्रण सम्बन्धी स्थानीयलाई तालिम, आगो नियन्त्रण गर्ने औजार वितरण जस्ता कार्यक्रहरु हुन सकेका छैनन् । वन कार्यालयहरुले आगलागीका घटना हुन नदिन सचेतना, प्रचार–प्रसार गरे पनि प्रभावकारी हुने कार्यक्रमहरु गर्न सकेका छैनन् । डिभिजन वन कार्यालय सुर्खेतले भने जिल्लामा हुने आगलागी नियन्त्रणका लागि उपभोक्ता समूह, स्थानीय तह, जनप्रतिनिध र सुरक्षा निकायको सक्रियतामा बढाएको दाबी गर्छ ।

यो वर्ष भने खडेरीका कारण बन डढेको बढेको कार्यालयले जनाएको छ । भने यो वर्ष पानी नपरेका कारण आगलागीका घटनाहरु बृद्धि भएको जनाएको छ । ‘हरेक बर्ष खडेरी मौसमा आगलागीका घटनाहरु हुन्छन्’ वन डिभिजन कार्यालय सुर्खेतका प्रमुख डीएफओ गोविन्द्रप्रसाद दाहाल भन्छन्, ‘तर यो वर्ष पानी नपरेका कारण देशैभर आगलागी बढेको छन् ।’

त्यस्तै डिभिजन वन कार्यालय सल्यानले भने सबै स्थानीय तहमा डढेलो नियन्त्रण अभिमूखिकरण दिने जनाएको छ । हालसम्म सल्यानको मार्के, खैराव र भोटेचौरमा स्थानीय उपभोक्तालाई बन डढेलो नियन्त्रणका लागि तालिम दिएको कार्यालय प्रमुख रमेशकुमार गिरीले जनाए ।

नौ महिनामा ७६ ठाउँमा आगलागी

चालु आर्थिक वर्षको नौं महिनामा कर्णालीका ७६ स्थानमा आगलागी भएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार सुर्खेतमा सबैभन्दा बढी अर्थात १४ वटा आगलागीका घटना भएका छन् ।
दैलेख र जाजरकोटका चार÷चार वटा, सल्यानमा १२ वटा, रुकुमपश्चिमका तीन ठाउँमा आगलागीका घटना भएका छन् ।

त्यस्तै कालिकोटमा १२ वटा, जुम्लामा दशवटा, मुगुमा पाँच वटा, डोल्पा र हुम्लामा ६÷६ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परी एकसय ४० वटा घरमा क्षति पुगेको छ । घटनामा परी तीन जना पुरुष र चार जना महिला गरी सात जनाको मृत्यु भएको छ । त्यस्तै ६ जना पुरुष र ४ जना महिला गरी १० जना घाइते भएका छनर । घटनामा एकसय ८४ वटा पशुचौपायाको मृत्यु भएको छ ।

त्यस्तै चालु आर्थिक वर्षको नौ महिनामा भएको आगलागीबाट दश अर्ब ८१ लाख ८३ हजार पाँचसय १४ रुपैयाँ बराबरको धनसम्पति क्षति भएको छ । प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार आगलागीबाट सुर्खेतमा दुई करोड ३९ लाख ७६ हजार, दैलेखमा एक करोड ११ लाख ८५ हजार र जाजरकोटमा ७७ हजार २५ हजार बराबरको क्षति भएको छ ।

त्यस्तै सल्यानमा ३२ लाख ५३ हजार, रुकुमपश्चिममा २० लाख १९ हजार एकसय २९ रुपैयाँ, कालिकोटमा ५४ लाख ३१ हजार, जुम्लामा पाँच करोड १४ लाख ८२ हजार चारसय, मुगुमा ३३ लाख ३५ हजार, डोल्पामा ११ लाख ७२ हजार र हुम्लामा ८७ लाख २१ हजार आठसय ७५ रुपैयाँ बराबरको धनजनको क्षति भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

चार वर्षमा कर्णाली प्रदेशमा सातसय ७३ ठाउँमा आगलागी

त्याे गाेल पाेष्ट् हैन संसद् हाे भन्नि

चार वर्षमा कर्णाली प्रदेशमा सातसय ७३ ठाउँमा आगलागी

YUGAAWHAN NATIONAL DAILY (2077-12-19)

Leave a comment

Your email address will not be published. Required fields are marked *