महिलालाई आदर देऊ

डा. नम्रता पाण्ड
अरुलाई दुःख या कष्ट पु¥याएर मात्र आफूलाई सुख या सन्तुष्टि मिल्छ भन्ने भ्रामक धारणा हिंसाको स्वरूप हो । महिला हिंसाविरुद्धको १६ दिने अभियान २५ नोभेम्बरबाट शुरु भएको छ ।

यो अभियानलाई पर्वको रूपमा मात्रै लिएर महिला हिंसाको अन्त्य हुने होइन । महिला भएकै कारण हिंसा भोग्न बाध्य महिला तथा बालिकाको संवेदनालाई ख्याल गर्दै अभियानबाट होइन मानसिक रुपमा हिंसाजन्य क्रियाकलापको अन्त्य होस् भनेर स्मरण गराउनु र चेतना जागृत गर्न झक्झक्याउनु यसको मर्म हो ।

पिछडिएका समाजमा मात्र होइन सम्पन्न परिवारमासमेत परम्परागत मूल्य मान्यतालाई त्याग्न नसकेर नजानिँदो तरिकाले महिलामाथि मनोवैज्ञानिक असर पु¥याउने काम हुन्छन्, त्यो पनि हिंसाको, टर्चरको एउटा स्वरूप हो । त्यसैले हिंसा गरिबीको कारणबाट मात्र नभएर मानसिकताबाट रूपान्तरण हुनु पर्दछ ।

मानसिक सोचको परिवर्तन आदरभावले मात्र परिवर्तन हुन्छ, जुन सहज र मानवीय स्वभाव हो । घरको व्यवहारमै महिला भनेको कमजोर प्राणी होइन, उनको स्वभाव दयालु र सरल हुन्छ । उनको स्वभावलाई आदर गर्ने संस्कारको विकास जरुरी हुन्छ । महिलाले तर्क गर्न छोडेर मौन र शान्त बस्नु अनि आँशु बगाउनु कमजोरी होइन । त्यो त आत्मिक निर्भयता हो । बाहिरका परिस्थितिसँग तर्क गर्ने र जवाफ दिएर जित्ने स्वभाव नहुनु, भित्रैदेखि अरुबाट प्रकट हुने कमजोरीलाई पचाइदिनु हो ।

आत्मिक शक्तिलाई कुनै शारीरिक शक्ति र तर्कको शक्तिले पराजय गर्न सक्दैन । जीवनको एक तिहाइ समय बाआमाको काखमा बिताएर आएकी श्रीमतीले नयाँ घर परिवार र परिवेशमा सहनशील भएर बस्न र जीवन गुजार्न सक्छिन् । श्रीमान चार दिन ससुराल गएर बस्नुप¥यो भने उनलाई व्यवस्था मिल्दैन, सहज लाग्दैन ।

मतलब पुरूषमा सहनशीलता र स्वीकार्य सहजरूपमा आउँदैन । के महिला कमजोर भएको कारण विवाह गरेर गएको घरमा बस्न सकेकी हुन् र ? महिलाको निम्ति प्रयोग हुने शब्दहरू जसलाई सुन्न सकिन्न, पीडा भएर आउँछ । बोक्सीको आरोप, दाइजोको नाममा मानसिक एवं शारीरिक पीडा र सामाजिक भेदभाव सबै महिलालाई सृष्टिको, मातृत्वको आदर दिन नसकेर वस्तुसँग विनिमय जस्तो व्यवहार र घृणित व्यवहार हुन पुग्ने हो । घरका बाआमालाई आफ्नी छोरीप्रति स्नेह र भरोसा सँगसँगै भयो भने महिलालाई समाजले कमजोर तुल्याउन सक्दैन ।

बुहारी बिहे गरेर दाइजो भित्र्याउने लोभलालचको मानसिक सोच त्यागेर छोरीलाई शिक्षित र आत्मनिर्भर बनाएर आफ्नो घर परिवार आफैं सम्हाल्न सक्ने बनाउने ठूलो सोचको विकास हुनु जरूरी छ । छोरीलाई कसैंसँग परनिर्भर बनाउने सोचबाट माथि उठेर छोरीले परस्पर निर्भरतालाई साथ दिन सक्ने कसरी बन्छिन् ।

त्यसमा ध्यान दिनुपर्ने हुन्छ । छोरीलाई सम्पत्ति दिएर पठाउने होइन छोरी नै सम्पत्ति हुन् भन्ने अभिभावकले गर्व गर्न सकून् भन्ने चेतना घरघरमा विकास गर्नु जरुरी छ । महिलाहरू आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा सांस्कृतिकलगायत मानव अधिकारका आधारभूत अधिकारहरूबाट बञ्चित छन् भन्ने भाषण धेरै सुनिन्छ, आलेखहरु प्रशस्त आउँछन्। तर रूपान्तरण सोचे जति र जसका लागि आउनुपर्थ्यो आएको छैन ।

महिला भएर सृष्टिमा आउनु र आफैं सृष्टिको हिस्सा भएकी महिलालाई कसले अधिकार दिनुपर्छ ? महिलाले अस्तित्त्वबाट पाएको सर्वोपरी गुण, मातृत्वको गुणलाई नजरअन्दाज गरेर बाहिरबाट देखिने र दिन सकिने सम्पत्ति, शिक्षा, स्वास्थ्य र राजनीतिक सहभागितालाई अधिकारको रूपमा माग्नुपर्ने यो विडम्बना हो । महिलालाई मात्र चाहिने होइनन् ती कुरा ती क्षेत्रमा महिलाको सहभागिता रह्यो भने सुनमा सुगन्ध हुने हो । त्यसैले महिलालाई पुरूषले दिए मात्र पाउँछन् भन्ने सोचमा नै परिवर्तन आउनु जरुरी छ ।

पुरूष महिलाले दिएको सृष्टि हो । सृष्टिकर्तालाई के दिन सकिन्छ ? कल्पना पनि गर्न नसकिने घरेलु हिंसा, आरोप, गालीगलोज र हत्यासम्म गर्न पुग्ने प्रवृति र घटना किन हुन्छन् ? किन न्यूनीकरण हुन सकेका छैनन् ? पितृसतात्मक सोच, अभ्यास, परम्परा भन्ने अभ्यासलाई न्यूनीकरण गर्दै जानुपर्छ । महिला पुरूष सृष्टिका आधार हुन्, एक अर्काका परिपूरक हुन् भन्ने कुरालाई आफ्नै घरबाट सिकाउनु जरूरी छ । सबै महिलालाई आदरको भावले हेर्न सिकाउनु छ । आफ्ना परिवार र सन्तानलाई। विद्यालयमा केटा र केटीलाई मित्रवत सहकार्य र सहयोग गर्न सिकाउनु छ । शैक्षिक सामग्री त्यस्तै विकास गरिनु जरुरी छ ।

अन्यथा पुस्तान्तरण र आधुनिक देखासिकीमा हाम्रा सन्तानले पाउने संस्कार र शिक्षा नकारात्मकतातिर भड्किने नहोलान् भन्न सकिन्न । समानता कागज, संविधान र नीति निर्देशनमा होइन हृदयमा विकास गर्नुछ। महिलालाई अधिकार दिने होइन मातृत्वको, सृष्टिको, प्रेमको आधार बन्ने कोशिस गरेर सुन्दर समाजको निर्माण हुन्छ । आजकल धेरै महिलाले महिनावारीमा पकाउने खुवाउने गर्छन् । तर खुलेर भन्दैनन् । खुलेर भन्न सक्ने हुन अझै केही वर्ष पर्खिनुपर्ला । त्यति मात्र कहाँ हो र ! भान्छामा गएर पकाउन गाह्रो मान्ने र ढंग नहुने पुरूषले समेत चारदिन आफ्नी श्रीमतीलाई अछुतो नै देख्छन् ।

महिनावारीमा अपनाउनुपर्ने सरसफाई, आराम, पोषणको आवश्यकता फरक कुरा हुन् र छोइछिटो फरक कुरा हुन् भनेर नबुझेको कि बुझाउन नसकिएको ? धेरै अनुसन्धान र तथ्यांकले महिला हिंसाका घटना गरिब परिवारबाट गरिब परिवारमाथि नै भएकाले घटनाको कारण गरिबी हो भनिन्छ । आर्थिक सम्पन्नता एउटा पाटो हो सहज जीवन र प्रज्ञा जागरण एवं शैक्षिक विकासको लागि। यसमा राज्यको महत्त्वपूर्ण दायित्त्व रहन्छ । मानसिक गरिबी अर्को ठूलो रोग हो ।

सृजनशीलता र मानव संशाधनलाई राज्यले उत्पादकत्वमा परिणत गर्न नसक्नु अनि सम्पन्न परिवार र व्यक्तिले विपन्नलाई आफ्नो कब्जामा राख्ने प्रयास जारी राखिरहनु । गरिबीमा रहेका महिला तथा बालबालिकालाई सम्पत्तिको लोभ देखाएर यौनजन्य अपराधिक क्रियाकलाप गरी बलात्कार र हत्या समेत गर्ने काममा धनाढ्यकै सहभागिता रहने गरेको पाइन्छ । गरिबीकै कारण हिंसामा परेकी छोरी, श्रीमती भन्दा समाजको लागि आफ्नो इज्जत बचाउने नाममा अपराधिक घटनालाई लुकाएर न्यायिक सहायता लिन पछि पर्नेहरु धेरै छन् । धनाढ्यसँग धन हुन्छ, करूणा हुँदैन । करुणाको अभाव नै हिंसात्मक गतिविधिलाई साथ दिने माध्यम हो । गरिबीकै कारण शिक्षा, स्वास्थ्यको पहुँच नपाउने महिला तथा बालबालिकाले आफूमा पनि अदम्य साहस र सिर्जना छ भन्ने बोध गर्न पाएका छैनन् ।

उनीहरुकै लागि बनेको संविधान र नीति नियम कहिले पढ्ने उनीहरुले ? धेरै छन् यस्ता समुदाय र पीडित छोरीहरू जसमा सम्बन्धित सरोकारवालाको ध्यान जानुपर्ने र रुपान्तरण आउनुपर्ने पक्ष । महिलाप्रतिको आदरभाव पहिलो कसी हो हिंसात्मक गतिविधिलाई रोक्ने। त्यसैले समृद्ध समाजका लागि आदर गरौं महिलालाई ।

काममा, घरमा, विद्यालयमा, राजनीतिमा, धर्ममा, अध्यात्ममा, सडकमा, सवारी साधनमा, अस्पतालमा अनि जहाँ महिला देख्छौं त्यहाँ । किनकी महिला हामी सबैकी सृष्टि हुन् ।

महिलालाई आदर देऊ

स्वास्थ्यकर्मी व्यवस्थापन

महिलालाई आदर देऊ

कांग्रेसको दैलेख सभापतिमा रेग्मी विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *