नेदरल्याण्ड्समा आजदेखि लकडाउन‚ लण्डनमा तयारी


कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएसँगै विभिन्न देशले लकडाउन गर्न सुरु गरेका छन् । कोरोनाविरुद्धको खोप लगाएपछि लकडाउन अन्त्य गरेका विभिन्न देश पुनः लकडाउनमा फर्किन लागेका हुन् ।
नेदरल्याण्ड्सले आजदेखि लागू हुने गरी कडा लकडाउनको घोषणा गरेको छ। नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटले कोरोना संक्रमण बढ्दै गएको भन्दै लकडाउनको घोषणा गरेका हुन् । लकडाउनसँगै अब त्यहाँ जनवरी १४ सम्म सामाजिक दूरीका नियमलाई कडा पारिने छ ।
त्यस्तै‚ त्यहाँ अब भिडभाड गरेर न्यूएयर तथा न्यूएयर इभका कार्यक्रमहरु गर्न पाइने छैन। सबै विद्यालयहरु जनवरी ९ सम्मका लागि बन्द हुनेछन् । खेलकुद कार्यक्रमहरु पनि अर्को सूचना नभएसम्मका लागि बन्द गरिएका छन् ।
बेलायतको लण्डनमा पनि लकडाउन गर्ने तयारी थालिएको छ । पछिल्ला २ दिनमा लगातार रेकर्ड संख्यामा संक्रमितहरु भेटिएपछि लण्डनका मेयर सादिक खानले लकडाउन गर्न छलफल अघि बढाएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा विश्वभर ५लाख ३८ हजार कोरोना संक्रमित थपिएका छन् ।






