अफगानिस्तानमा तालिबान : पाकिस्तानदेखि अमेरिकासम्म शरणार्थीको ताँती

एजेन्सी । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि राजधानी काबुलस्थित विमानस्थलमा देश छोड्नेको ताँती देखिएको दृश्यले विश्वको ध्यान खिच्यो।
देश छोडेर भाग्नेमध्ये अफगानका राष्ट्रपति अशरफ गनी एक हुन्। उनले अहिले दुबईमा शरण लिइरहेका छन्।
तालिबानको पुन:उदय र ज्यादतीका कारण कति मानिसहरू प्रभावित छन् भन्ने एकीन तथ्यांक आइसकेको छैन।
२० वर्षसम्म चलेको युद्धमा हिंसाका कारण शरणार्थी हुनेको संख्या उल्लेख्य छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) का अनुसार अफगानिस्तानका २२ लाख नागरिकहरू यतिखेर विदेशमा शरणार्थी जीवन बिताइरहेका छन्।
२०२० सम्मको तथ्यांक हेर्ने हो भने अफगानिस्तान छाडेकामध्ये अधिकांश नागरिक पाकिस्तानमा छन्। जहाँ १४ लाख ३८ हजार अफगानी नागरिकले शरण लिएको तथ्यांकमा उल्लेख छ। पाकिस्तानपछि इरानमा ७ लाख ८ हजार अफगानीले शरण लिएका छन्।
जर्मनीमा १ लाख ८० हजार, अष्ट्रियामा ४० हजार, फ्रान्समा ३२ हजार, स्वीडेनमा ३० हजार, अष्ट्रेलियामा ११ हजार, बेलायतमा ९ हजार, भारतमा ८ हजार र अमेरिकामा २ हजार अफगानी नागरिक रहेका छन्।
यस्तै, टर्कीले आफूकहाँ कति अफगानी जनताले कति शरण लिएका छन् भन्ने तथ्यांक उपलब्ध गराएको छैन। तर, त्यहाँ करिब २ देखि ६ लाख अफगानी जनता शरणार्थी जीवन बिताइरहेको रिपोर्टहरूमा उल्लेख छ।





