निजीमा काम गर्ने डाक्टरको सुविधा बढ्यो
काठमाडौ७ फागुन ।
अस्पतालले आफूखुसी दिएको तलब बुझिरहेका निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब तोकेको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) को आज बसेको बैठकले मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार तोकेको हो ।
निजी अस्पतालमा काम गर्नेहरूले पनि सरकारी सरहको सुविधा पाउन सकून भनेर न्यूनतम तलब तोकिएको संघका अध्यक्ष डाक्टर लोचन कार्कीले जानकारी दिए । उनका अनुसार यसअघि निजी संस्थामा न्यूनतम तलबमा एकरूपता थिएन । धेरैले निकै कम तलब दिने गरेको संघमा उजुरी परेको थियो ।
त्यसकारण न्यूनतम शुल्क तोक्नु परेको हो । ‘अफिनले उक्त निर्णय कार्यान्वयनमा ल्याउन निजी अस्पतालहरूमा पत्राचार गर्ने तयारी गर्दैछौं’ कार्कीले भने । संघ र अफिनको आज बसेको बैठकले डाक्टर हरूको परामर्श शुल्क बढाउने निर्णय समेत गरेको छ । बैठकले आजैको मितिदेखि लागू हुने गरी ओपीडीमा काम गर्ने चिकित्सकको अनुभव र योग्यताका आधारमा ३७० देखि ८२५ सम्म शुल्क लिन पाउने गरी निर्णय गरेको छ ।
अफिन र चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माघ ४ गते भएको सहमतिका आधारमा शुल्क बढाएको जनाएको छ । ‘२०७१ सालदेखि चिकित्सकको शुल्क बढेको थिएन, सबैको शुल्क बढ्दा चिकित्सकको शुल्क नबढेर चिकित्सकहरू हैरान थिए’ डाक्टर कार्कीले भने, ‘नेपाल राष्ट्र बैङ्कको मुद्रास्फीति तथा शुल्क परामर्श समितिले गरेको सिफारिसको आधारमा चिकित्सकको परामर्श शुल्क निर्धारण गरेका हौं, यो वैज्ञानिक छ ।’