इतिहासमा आज : १८ वर्ष अघि भएको थियो अनौठो विवाह, अन्तरिक्षमा दुलहा, पृथ्वीमा दुलही
एजेन्सी । तपाईंले डेस्टिनेसन वेडिङ, क्रुज वेडिङलगायत विभिन्न तरिकाले गरिने विवाहको बारेमा पक्कै सुन्नु भएको होला । तर, आजको दिन एक अनौठो विवाहको लागि सम्झिने गरिन्छ ।
सन् २००३ को अगस्त १० का दिन रुसका अन्तरिक्ष यात्री यूरी मालेन्चेङ्कोले इन्टरनेशनल स्पेस स्टेसनमा विवाह गरेका थिए । यस्तो गर्ने उनी विश्वकै पहिलो व्यक्ति हुन् ।
सन् १९६२ अप्रिल १२ का दिन रुसका यूरी गागरिन अन्तरिक्षमा कदम राख्ने विश्वको पहिलो व्यक्ति बनेका थिए । गागरिनको यस उपलब्धिको वर्षगाँठमा सन् २००३ मा एक पार्टी राखिएको थियो ।
त्यहीँ नै अन्तरिक्ष यात्री यूरी मालेन्चेङ्कोले अन्तिम पटक आफ्नी प्रेमिका कटरिना दमित्रिएवलाई भटेका थिए । अप्रिल २००३ मा रुसको एक्सपीडिसन–७ मिसन लञ्च गरिएको थियो । यस मिसनमा एडवर्ड लूका साथ मालेन्चेङ्को अन्तरिक्षमा गए । यस पूरा मिसनको कमान्ड उनकै हातमा थियो ।
यो मिसन अगस्तको पहिलो हप्ता पुरा हुनुपर्ने थियो । मिसनबाट फर्कने बित्तिकै उनले विवाह गर्ने योजना बनाएका थिए । मिसनमा जान अघि विवाहको मिति १० अगस्तमा तय गरिएको थियो । तर, पछि उनको मिसनको समय अक्टुबरसम्म थप गरियो । विवाहको तयारी पहिले नै गरिसकिएको थियो । त्यसैले यूरी मालेन्चेङ्कोले अन्तरिक्षबाट नै आफ्नो प्रेमिकासँग विवाह गर्ने फैसला गरे ।





