नेपाल भारत सीमा नाकामा राष्ट्रिय झण्डा

झापा नेपाल -भारत सीमा नाका भद्रपुरमा तीन मिटर लामो राष्ट्रिय झण्डा राखीएकाे छ।
भद्रपुर नगरपालिका९५ नम्बर वडा कार्यालयले राष्ट्रिय झण्डा उपलब्ध गराएपछि मेची पुल पारी फहराइएको हो।
५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले शुक्रबार वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक दलकुमार राईलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरेसँगै मेची पुल पारी प्रहरी बिटमाथि झण्डा राखीएकाे हो।
झण्डा फहराउने कार्यक्रममा वडाका जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीको पनि उपस्थिति रहेको थियो। यसअघि भद्रपुर नाकामा फहराइएको राष्ट्रिय झण्डा च्यातिएपछि त्यसलाई हटाइएको थियो।
लामो समयदेखि सीमा नाकामा राष्ट्रिय झण्डा नहुँदा देशको भूभाग छुट्टाउने पहिचान नै मेटिएको थियो। भद्रपुर नगरपालिकाको १० लाख आर्थिक सहयोग मेची पुल पारी प्रहरी बिटको निर्माण गरिएको छ।
सो प्रहरी बिटको उद्घाटन गरिए पनि बिटमाथि राष्ट्रिय झण्डा राखिएको थिएन। आफ्नै वडामा पर्ने जिल्लाकै दोस्रो ठूलो सीमा नाकामा राष्ट्रिय झण्डा नभएकाले वडा कार्यालयले सो झण्डा उपलब्ध गराएको वडा अध्यक्ष कार्कीले बताए।
यसले राष्ट्रको गौरवसँगै सीमा पहिचानको झल्को दिने उनको भनाई छ।





